बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजारमा पुन: देखियो हरियाली, अब सुधारतर्फ बढ्ला?

२१३ कम्पनीको सेयर मूल्य बढ्दा तीन लघुवित्तको मूल्यमा मात्र गिरावट

बिहीबार , फागुन २५ २०७९
सेयर बजारमा पुन: देखियो हरियाली, अब सुधारतर्फ बढ्ला?

काठमाडौं- गएको कारोबारमा दोहोरो अंकको सुधारले सुखद संकेत गरेको सेयर बजारमा साताको अन्तिम कारोबारमा व्यापक हरियाली छाएको छ। लगातार घटिरहेको सेयर बजारमा यो साता अन्तिम दुई कारोबारले उच्च अंकतर्फको आश जगाएको छ। 

साताको पहिलो कारोबारमा आइतबार ३०.७७ अंकले घटेको बजारमा मंगलबारको दोस्रो कारोबारमा सुधार देखिएको थियो। मंगलबार १४.४१ अंकले बढेको बजारमा बिहीबार थप सुधार देखिएको हो।

बिहीबार ५०.०४ अंकले बढेर बजार २००२.७० बिन्दुमा पुगेको छ। १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँको कारोबार भएको बजारमा २ सय  १३ कम्पनीको सेयर मूल्य बढेको छ। बिहीबार गुँरास लघुवित्त, सबैको लघुवित्त, स्वाभिमान लघुवित्त गरी तीन कम्पनीको सेयर मूल्य मात्र घटेको छ। विशाल बजार कम्पनी र युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्यमा परिवर्तन भएन। 

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। कम्पनीको ७ करोड ८५ लाख ८८ हजार ३ सय १७ बराबरको कारोबार भयो। हिमालयन डिस्टिलरी ५ करोड ७३ लाख १७ हजार २ सय ७१, अरुण काबेली पावर ४ करोड ७६ लाख ४६ हजार ६ सय ८८,नबिल बैंक ३ करोड ५७ लाख ८५ हजार २ सय ७ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ३ करोड ४० लाख ६६ हजार ४ सय ९९ बराबरको कारोबार भइ शीर्ष पाँचभित्र परेका छन्। 

नेप्सेका अनुसार शुभम पावर ९ दशमलव ९८, नेपाल इन्स्योरेन्स कम्पनी ९ दशमलव ४४, शिव श्री हाइड्रोपावर ८ दशमलव ५२, अभियान लघुवित्त ७ दशमलव ५९ र जोशी हाइड्रोपावरको सेयर मूल्य ७ दशमलव ४३ प्रतिशतले बढेको छ। 

केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा पुन: उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहँदा पछिल्ला दुई कारोबार सुखद देखिएको छ। 

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। उच्च बिन्दुको यात्रादेखि यता लगातार उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा नै देखिन्छ। 

लगानीकर्ताले विश्वासिलो आधार नभेट्दा बजारको स्थायी सुधार हुन सकेको थिएन। लगानीकर्ताको मनोविज्ञान स्पष्ट नहुँदा बजारको यात्रा यकिन गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। सरकारमा नयाँ अर्थमन्त्री बन्ने अन्योलले पनि बजारको मनोविज्ञानमा असर गरिरहेको विश्लेषकहरू भनाइ छ। अब नयाँ अर्थमन्त्री आएर बजारलाई नीतिगत साथ दिनेगरी काम गरे पुन: उच्च बिन्दुतर्फ बढ्ने उनीहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , फागुन २५ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend