म्याग्दी- जलजला गाउँपालिका-७ धाइरिङको मिलनचोक-सल्यान-घाहाखेत-धारापानी-ठोट्नेरी सडक अलपत्र बनेको छ।
मिलनचोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर दुरीको सडक स्तरोन्नति र कालोपत्र गर्न विसं २०७६ मंसिर ६ गते २८ करोड १३ लाख रूपैयाँमा हिमदुङ एण्ड थोकर प्रालीले ठेक्का सम्झौता गरेको थियो।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक विसं २०७८ मंसिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। दोस्रो पटक २०८० मंसिर महिनासम्मका लागि म्याद थपिए पनि १८ महिनादेखि काम नहुँदा अलपत्र परेको धाइरिङका मनोहर आचार्यले बताए।
धाइरिङका बासिन्दाले बेनी-मालढुंगा सडकको छेउमा सञ्चालक र सडक समयमै सम्पन्न नहुँदाको अवस्था झल्काउने तस्बिरसहित ‘ठेकेदार हराएको सूचना’ लेखेको ब्यानर झुण्ड्याएका छन्। सडक अधुरो हुँदा आवतजावतमा सास्ती, दुर्घटनाको जोखिम, पहिरो र भूक्षयको समस्या बढेको स्थानीय दुर्गाबहादुर दर्जीले बताए। सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिरोको जोखिम भएको छ।
पाँच मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्र हुने सडक सात मिटर र एक मिटर नाली बनाउन धेरै ठाउँमा डोजरले भत्काइएको छ। अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको सडकको मिलनचोकदेखि सल्यान खण्डमा ग्राभेलसमेत गरेर कालोपत्रको तयारी गरिएको थियो।
निर्माणको कामले निरन्तरता नपाउँदा बनाइएका संरचना भत्किएर सडक जीर्ण बनेको स्थानीय बेदनाथ आचार्यले बताए। ‘यो सडक धाइरिङका एक हजारभन्दा बढी घरधुरीले प्रयोग गर्छन्’, उनले भने, ‘धाइरिङमा उत्पादित तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज हुने थियो।’
पूर्वाधार विकास कार्यालयका प्रमुख ई कृष्ण आचार्यले हालसम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको बताए। ‘पछिल्लो एक/डेढ वर्षयता यो सडक निर्माणको काम नहुँदा हामी पनि सशंकित भएर पत्रमार्फत निरन्तर ताकेता गरेका छौँ’, उनले भने, ‘निर्माण व्यवसायीले यही फागुन अन्तिम सातादेखि काम थाल्ले लिखित सम्झौता गरेका छन्। काम अघि नबढे जमानत जफत र ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी दिएका छौँ।’
निर्माण कम्पनीका प्रतिनिधि शिवहरि घिमिरेले वैशाख महिनाभित्र चार किलोमिटर सडक कालोपत्र गर्ने तयारीसहित बिटुमिनलगायतका निर्माण सामग्री र उपकरण जुटाउने काम भइरहेको बताए।
‘कार्यालयले डेढ करोड बढी बिलको भुक्तानी रोकेको छ’, निर्माण कम्पनीका स्थानीय प्रतिनिधि लालबहादुर मल्लले भने, ‘त्यहाँको प्रतिकूल भूगोलले पनि काम गर्न अप्ठ्यारो भयो। निर्माण सामग्री चोरी भयो। गाडी घोडा लैजान दिएनन्। वातावरण नै नभएपछि काम गर्न सकिएन।’ रासस