बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नागरिक अस्पतालको ४३ प्रतिशत सेयर ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले किने

ह्याम्सकै नाममा सञ्चालन हुने अस्पतालमा दुई अर्ब रुपैयाँ थप लगानी हुने

बुधबार, असोज २३ २०८१
नागरिक अस्पतालको ४३ प्रतिशत सेयर ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले किने

अहिले भाडामा भवन राखेर सञ्चालनमा रहेको अस्पतालमा अब आफ्नै जग्गामा एक सय सैय्याको अत्याधुनिक अस्पताल तयार गर्नेगरी प्रक्रिया अगाडि बढेको छ।

काठमाडौं- भक्तपुरको गठ्ठाघरमा सञ्चालित नागरिक अस्पतालको ४३ प्रतिशत सेयर हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालका अध्यक्ष आरएस भण्डारीले खरिद गरेका छन्। 

नागरिक अस्पतालका सेयर सदस्य मोहन झाको स्वामित्वमा रहेको ४३ प्रतिशत सेयर ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले खरिद गरेका हुन्।

१० करोड रुपैयाँ हाराहारीमा उक्त सेयर किनेका भण्डारीले अब दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर नयाँ संरचनमा अस्पतालन बनाउने छन्। जुन अस्पताल ह्याम्सकै नामबाट चलाउने तयारी गरिएको छ। 

‘सबै व्यवस्थापन अब भण्डारीकै नेतृत्वमा हुने छ,’ नागरिक अस्पतालका सेयर होल्डर गोपी न्यौपानले भने। अस्पतालमा कुन नाम राख्ने भन्ने विषय छलफलमै रहेको र अन्य सदस्यहरूले ह्याम्स वा अन्य जे नाम राख्न पनि खुला गरिदिएको न्यौपानले जानकारी दिए।

अहिले भाडामा भवन राखेर सञ्चालनमा रहेको अस्पतालमा अब आफ्नै जग्गामा १ सय सैय्याको अत्याधुनिक अस्पताल तयार गर्नेगरी प्रक्रिया अगाडि बढेकाे न्याैपानले जानकारी दिए।

अहिले नागरिक अस्पतालन भने १५ सैयाको मात्रै रहेको छ। अस्पतालको १२ रोपनी जग्गा रहेको छ। जसमध्ये ७ रोपनी जग्गामा १ लाख ५० हजार स्क्वायर फिटमा भवन संरचना तयार पारिने छ। आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ। अब ७० प्रतिशत बैंकबाट ऋण लिएर ३० प्रतिशत सेयर होल्डरको रकमगरी २ अर्ब रुपैयाँ थप लगानी हुनेछ। 

काठमाडौं बुद्धनगरबाट सुरु भएको ह्याम्स अस्पताल विगत केही वर्षयता भने  धुम्बाराहीमा अत्याधुनिक अस्पताल भवन बनाएर सारिएको थियो।  भक्तपुरमा बन्ने नयाँ ह्याम्स अस्पतालमा अध्यक्ष भण्डारीले राजमार्गनजिक अस्पताल भएकोले हार्डजोर्नी र दुर्घटनाको उपचारलाई प्राभमिकता दिने तयारी गरेका छन्।

बीपी राजमार्ग र अरनिको राजमार्गमा पर्ने उक्त अस्पतालमा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापका स्थानीयले समेत सेवा लिने अनुमान गरिएको छ। 

भक्तपुर क्षेत्रका लागि पनि नयाँ अस्पताल महत्वपूर्ण हुने विश्वास लिइएको छ। काभ्रे र भक्तपुरमा सडक दुर्घटना हुँदा घाइतेहरूलाई काठमाडौंको ट्रमा सेन्टर वा ललितपुरको बिएण्डसी पुर्‍याउनुपर्ने बाध्यता छ। सोही कारण पनि ट्रमाको सेवा दिने उद्देश्य व्यवस्थापनको रहेको छ। 

आईपीओ निष्कासनको तयारीमा ह्याम्स अस्पताल 

ह्याम्स अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। अस्पतालले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर निष्कासनको तयारी गरेको छ। 

अस्पतालले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा निवेदन दिएको हो। 

ह्याम्स अस्पताललाई गत आर्थिक वर्षको असारमा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड बनेको अस्पतालले जारी पुँजीको १५ प्रतिशत आईपीओ जारी गरेको हो। अस्पतालले सेयर निष्कासनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ। यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारणसभाले गर्नेछ। बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहकै लगानी हुनेछ। 

२०५४ मंसिर २ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालित अस्पतालले बागमती प्रदेश स्वास्थ मन्त्रालय हेटौँडाबाट इजाजतपत्र लिइ एक सय शैय्याको जनरल स्वास्थ्य संस्था अस्पताल सञ्चालन गर्दै आइरहेको छ। 

ह्याम्स नर्सिङ कलेजले २०६५ पुस ९ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‍बाट स्वीकृतिपत्र प्राप्त गरी तीनवर्षे प्रविणता प्रमाणपत्र नर्सिङ कार्यक्रम सञ्चालान गर्दै आइरहेको छ। 


प्रकाशित : बुधबार, असोज २३ २०८११२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend