बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

गुल्मीको धुर्कोटमा फेला पर्‍यो नयाँ गुफा, अवलोकनमा जानेको भिड

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २५ २०७९
गुल्मीको धुर्कोटमा फेला पर्‍यो नयाँ गुफा, अवलोकनमा जानेको भिड

नयाँ गुफा फेला परेको जानकारी पाएपछि दैनिक सयौँ मानिस अवलोकनका लागि गुफा पुग्ने गरेका छन्। पाँच दिनको अवधिमा छ सयभन्दा बढी व्यक्तिले अवलोकन गरिसकेका छन्।

गुल्मी- गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ। गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए।

दुम्सीको दुलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्नसक्ने प्वाल थियो। गुफाभित्र शिवलिङ्ग, गाईको थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग, खेतबारी जस्ता देखिने विभिन्न आकर्षक आकृति रहेको उनले बताए। 

नयाँ गुफा फेला परेको जानकारी पाएपछि दैनिक सयौँ मानिस अवलोकनका लागि गुफा पुग्ने गरेका छन्। पाँच दिनको अवधिमा छ सयभन्दा बढी व्यक्तिले अवलोकन गरिसकेको वडाध्यक्ष विष्टले बताए।

विसं २०२८ मा बहुदलीय र निर्दलीयबीचको लडाईं हुँदा सोही ठाउँमा गई लुकेको स्थानीयवासीले बताए। विसं २०६२ मा तुलाराम पाण्डेलगायत स्थानीयवासी सो ठाउँमा ढुङ्गा झिकेर भित्र पस्ने प्रयास गर्दा प्वालभित्र रहने जङ्गली जनावरको आक्रमणको भयले भित्र जान सकेका थिएनन्।

मान्छे लुक्न मिल्ने प्वाल भेटिए पनि उक्त स्थानलाई साराको दुलोको नामले चिन्दै आइएको थियो। छलफलकै क्रममा उक्त ठाउँमा प्वाल भएको जानकारीपछि वडाध्यक्ष विष्टकै पहलमा स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा प्वाल भित्र जाँदा गुफा रहेको पत्ता लागेको हो। उक्त गुफाको चौडाइ र उचाइ पाँचदेखि आठ फुटसम्म रहेको बताइएको छ।

नयाँ फेला परेको गुफालाई  ‘धनिश्वर मनोरम नागेश्वर गुफा’ नामकरण गरिएको छ। गुफा संरक्षणका लागि रामप्रसाद कुँवरको अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति, प्रेम नेपालीको संयोजकत्वमा प्रचारप्रसार समिति र जुद्धबहादुर खत्रीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ। हाडहाडेमा भेटिएको नयाँ गुफासँगै धुर्कोट गाउँपालिकामा विचित्र गुफासहित गुफाको सङ्ख्या दुई पुगेको छ। रासस


प्रकाशित : बिहीबार , फागुन २५ २०७९०७:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend