बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

महिला पाइलटलाई स्वागत गर्दै पर्यटनमन्त्रीले भने - उडानमार्फत पनि महिलाले देशका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भयो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २४ २०७९
images
images
महिला पाइलटलाई स्वागत गर्दै पर्यटनमन्त्रीले भने - उडानमार्फत पनि महिलाले देशका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भयो

महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि पर्यटनमन्त्री सुदन किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए। 

images
images

काठमाडौं- सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट) लाई स्वागत गरेको छ।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरेका हुन्। काठमाडौं-दुबई-काठमाडौं उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गरेका हुन्। 

महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए। 

images

महिलाहरुको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे। ‘पर्यटनमा मात्रै होइन, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोपटक महिलाहरुले उडाएको जहाज ऐतिहासिक छ र आज एकसय १३औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरु (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरुको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ’, पर्यटनमन्त्री किरातीले भने। 

images

यो उडानमार्फत पनि महिलाहरुले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले उल्लेख गरे। 

निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौंदेखि दुबई भएर पुनः काठमाडौं) भरेका हुन्। पाइलटद्वय भावना पन्त र को-पाइलट सृजना राउतको टोलीले काठमाडौं-दुबई-काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए। उनका अनुसार महिला चालक दलले आज निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौंको उडान भरेका हुन्। दुई महिला पाइलटले निगमको एयरबस ‘ए’-३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौंबाट दुबईका लागि उडान भरेका थिए।

निगमको आजको दुबई-काठमाडौं उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को-पाइलट सृजना रावतले उडाएका थिए। यो उडानका सबै क्रू मेम्बर महिला थिए। विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ।

निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ। आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो। निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी छ जना महिला पाइलट छन्। रासस  


प्रकाशित : बुधबार, फागुन २४ २०७९०७:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend