बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

खुला व्यापार र दिगो अर्थतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरू 

भारतका पूर्ववाणिज्य सचिव भन्छन् : अहिलेको विश्वमा आत्मनिर्भर अर्थतन्त्र सम्भव छैन 

images
मंगलबार, फागुन २३ २०७९
images
images
खुला व्यापार र दिगो अर्थतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरू 
images
images

काठमाडौंं- खुला व्यापार, आर्थिक विकास र दिगो अर्थतन्त्रसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंंमा सुरू भएको छ। काठमाडौंं विश्वविद्यालय, विश्व व्यापार संगठनको चेयर कार्यक्रमको संयुक्त साझेदारीमा सम्मेलन सुरू भएको हो। 

images
images
images

अन्तर्राष्ट्रिय व्यापारका बारेको खुलापन, व्यापार रणनीतिको निर्माण तथा प्रतिस्पर्धी क्षमता विकासका बारेमा स्वदेशी तथा विदेशी विज्ञहरू, नीति निर्माताले छलफल गर्ने उक्त सम्मेलन आजदेखि काठमाडौंंमा सुरु भएको हो। 

सम्मेलनको उद्घाटन सत्रमा बोल्ने अधिकांश विज्ञहरूले खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने आर्थिक क्षेत्रका बताएका छन्।

images

काठमाडौंं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले मंगलबारबाट सुरु गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञहरूले अहिलेको विश्वमा शतप्रतिशत आत्मनिर्भरता असम्भव रहेको र यही कारणले गर्दा खुला व्यापारको विकल्प नरहेको उनीहरूको धारणा थियो।

images

तर, नेपालले विश्व व्यापार सगठनमा प्रवेश गरेको दुई दशक बित्दा पनि देश थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित नीति लिनुपर्ने पनि औंल्याए।

इन्डियन इन्सिच्युट अफ म्यानेजमेन्ट एकेडेमी, बैंगलोरअन्तर्गत साउथ एसिया बोर्ड एकेडेमी अफ इन्टरनेशनल बिजनेसका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमन्यमले व्यापारमा खुलापनले आफैँमा अवसर ल्याउने बताए। ‘यसले प्रतिस्पर्धी क्षमताको विकास, प्रविधिले प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिन्छ,’ उनले भने।

तर, उनले नेपालले आफ्नै स्थायीय स्रोतमा आधारित उत्पादन बढाउनुपर्नेमा जोड दिए। ‘कुनै पनि देशको एउटा निश्चित ब्रान्ड हुन्छ। स्थानीय स्रोतमा आधारित र विश्वबजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको पहिचान नेपालले गर्नसक्छ। व्यापार प्रणालीका सुधारसँगै सूचना प्रविधिको प्रयोगले समग्र यी उपलब्धी हासिल हुनसक्छन्,’ उनले भने।

उनका अनुसार व्यापार विविधीकरण तथा निर्यात बढाउने नेपालको लक्ष्य पूरा गर्न नेपालले डिजिटल सेवा, पर्यटन लगायतका क्षेत्रमा काम गर्नसक्छ।

भारत सरकारका पूर्ववाणिज्य सचिव डा. अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ त्यति धेरै अर्थतन्त्रले लाभ पाउने बताए। ‘कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित  र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो,’ उनले भने।

उनका अनुसार अहिलेको समयमा सतप्रतिशत आत्मनिर्भर असम्भव छ। ‘यही कारणले गर्दा खुला व्यापारको विकल्प कम्तीमा व्यापारमा सिर्जनशीलता चाहनेका लागि छैन,’ उनले भने।

अहिले विश्वमा बहुआयामिक आर्थिक संकटहरू देखिएको तर यो संकट र असरका बाबजुद खुला अर्थतन्त्रमा मात्र सही र सहज समाधान निस्किने उनको दाबी छ।

कारोना महामारी, रुस युक्रेन युद्ध, अमेरिका चीनको व्यापारिक द्वन्द्वका कारण अन्तर्राष्ट्रिय व्यापारमा नयाँ आयामहरू देखिएको र त्यसको प्रभाव समय क्रममा देखिँदै जाने बताए।

इन्डियन इन्सिच्युट अफ म्यानेजमेन्ट उदैपुरका बिजनेश पोलिसी एण्ड स्ट्रेटेजीका अनुसन्धान अध्यक्ष एलिजाबेथ लुइज रोजले कुनै पनि अर्थतन्त्रको मुख्य आधार भनेकै साना तथा मझौला उद्योग हुने बताइन्। अन्तर्राष्ट्रिय व्यापारमा बहुराष्ट्रिय ठूला कम्पनीहरू दृश्यमा बढी आए पनि पनि साना तथा मझौला उद्योग निकै महत्वपूर्ण हुने उनको धारणा थियो।

‘आफ्नै र सिर्जनशील किसिमको उत्पादन हुने यस्ता उद्योगका विकास निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन्। ‘साना तथा मझौला उद्यमीका लागि इकोसिस्टम बनाउनुपर्छ र यस्ता उद्यमीलाई दिने सहायताको किफायती बाटो लिनपर्छ।’

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको व्यापार उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको बताए।

नेपालले अपनाएको अहिलेसम्मका व्यापार नीतिवाट उत्पादन र बजारको खोजीमा असफलता नै धेरै हात लागेको बताए। यस्ता असफलताको समीक्षा गरी उपयुक्त नीतिगत पहिचानका लागि यो सम्मेलन सफल हुने उनले विश्वास व्यक्त गरे। ‘विश्वविद्यालयका रुपमा हामीले दक्ष जनशक्ति विकासमा काम गरिरहेका छौँ। अझै नयाँ युगको आवश्यकता अनुसारको जनशक्ति विकासमा हामीले ध्यान दिइरहेका छौँ,’ उनले भने।

डब्लुटीओ चेयरस प्रोगामका नलेज म्यानेजमेन्ट डिभिजनका निर्देशक डा. वेर्नर जेडडौकले सदस्य राष्ट्रहरूको व्यापारिक क्षमता विकासका लागि विश्व व्यापार संगठनले नीति निर्माणमा आवश्यक तथ्यगत अनुसन्धान, नीतिगत समीक्षा, मानव संसाधन विकासमा सहयोग गर्ने बताए।

सोही मुताविक नेपालमा पनि डब्लुटीओ चेयर्स प्रोगाम कार्यान्वयन भइरहेको उनले बताए। काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन तथा डब्लुटीओ चेयर्स प्रोगाम-नेपालका अध्यक्ष प्रोफेसर डा. देवीप्रसाद बिडारीले विश्वव्यापीकरण कुनै पनि अर्थतन्त्रका लागि आफैँमा राम्रो भए पनि नेपालजस्तो मुलुकका लागि केही चुनौती पनि रहेको बताए।

‘हामी अझै सिर्जनसील हुन आवश्यक छ किनभने नेपाल पहिले नै औद्योगीकरण कमजोर छ अनि उपयुक्त  शिक्षा तथा तालिम, बजार अनुसारको सीप विकास गर्नुपर्ने जस्ता थुप्रै चुनौती छन्,’ उनले भने। ‘डब्लुटीओ चेयर्स प्रोगामअन्तर्गत यस्तै विषयमा प्राज्ञिक तथा व्यावहारिक कामहरू हुनेछन्।’

काठमाडैो विश्वविद्यालयका रजिष्ट्रार तथा डब्लुटीओ चेयर्स प्रोगामका सहअध्यक्ष प्रोफेसर अच्युत वाग्लेले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भईरहेकोले व्यापार विविधीकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने बताए।

ठूला छिमेकीले इतिहासमा आफ्नो भू-राजनीतिक स्वार्थ पूरा गर्न व्यापारलाई रणनीतिक वस्तुको रुपमा उपयोग गरेकाले व्यापार विविधीकरण महत्वपूर्ण रहेको उनको भनाई थियो। वस्तु निर्यातमा कमजोर रहँदारहदै सेवा व्यापारमा पनि नेपाल कमजोर रहेको उनको भनाइ थियो। ‘उच्च शिक्षा, उच्च स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय हवाइ सेवामा नेपाल खुद आयातकर्ता हो।’

उनले सन् २००४ मा नेपाल विश्व व्यापर संगठनमा आवद्ध भएपछि निर्यात बढाउन अपनाईएका धेरै नीतिहरू असफल रहेको बताए। यी नीतिहरू उत्पादकत्व बढाउन र व्यापार घटाउन असफल रहेको र यसको लागि प्राज्ञिक र व्यावहारिक अनुसन्धान आवश्यक हुने बताए। व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित यो अन्तराष्ट्रिय सम्मेलन बुधबारसम्म चल्नेछ। 


प्रकाशित : मंगलबार, फागुन २३ २०७९१५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend