बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

धनगढीको डुबान क्षेत्रका अतिक्रमित संरचनामा उपमहानगरको डोजर

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २३ २०७९
images
images
धनगढीको डुबान क्षेत्रका अतिक्रमित संरचनामा उपमहानगरको डोजर

धनगढी बजार क्षेत्रमा सबैजसो खोलानाला अतिक्रमणको चपेटामा छन्। अतिक्रमणले पानीको बहाव थुनिने भएकाले क्षणभरको वर्षामै धनगढी डुबानमा पर्ने गरेको छ। बर्खायाममा धनगढीका दर्जनौँ बस्ती डुबानमा पर्छन्।

images
images

अत्तरिया- कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउने अभियान तीव्र पारेको छ। विसं २०२१ को नापीलाई आधार मानेर उपमहानगरपालिकाले अतिक्रमण क्षेत्र खाली गराइरहेको हो। 

images
images
images

पहिलो चरणमा धनगढीको डुबान क्षेत्रलाई प्राथमिकतामा राखेर अतिक्रमण क्षेत्रमा डोजर लगाइरहेको उपमहानगरपालिकाले जनाएको छ। धनगढीको बढी डुबान हुने क्षेत्र वडा नं १ २, ३, ५, ७ का बजार क्षेत्रमा अभियानका रुपमा खाली गराइरहेको उपमहानगरपालिका प्रमुख गोपाल हमालले बताए। 

‘पहिलो चरणमा धनगढीको मुख्य बजार क्षेत्रमा पानीको बहाव नै रोकिने गरी भएको सार्वजनिक क्षेत्रमा डोजरले खाली गराउने काम भइरहेको छ’, प्रमुख हमालले भने, ‘यो अभियान १९ वडामा पाँचै वर्ष सञ्चालन हुनेछ।’

images

उनले उपमहानगरभित्र रहेका नाला, खोला, ताल, नदी क्षेत्र जोसुकैले अतिक्रमण गरेको भए पनि हटाउने बताए। ‘धनगढीको सबैभन्दा ठूलो समस्या डुबान हो। यसको समाधान गर्ने हो भने खोलानालालाई प्राकृतिक बहावमा फर्काउनुपर्छ,’ उनले भने, ‘अतिक्रमण नहटाएसम्म डुबानको समस्या समाधान हुन सक्दैन।’

images

उपमहानगरले पूर्वसूचना दिएरै अतिक्रमण हटाउन सुरू गरेको हो। प्रमुख हमालले अतिक्रमण हटाउन सहयोग गर्न नगरवासीलाई आग्रह गरेका हुन्। उनले २०२१ सालको नापी नक्साअनुसार खोलानालाको बहाव फर्काइने बताए। ‘सार्वजनिक ताल, खोलानाला, कुलो मिचेर व्यक्तिगत संरचना बनाएका केही सीमित व्यक्तिका कारण सम्पूर्ण नगरवासीले हरेक वर्ष डुबानको सास्ती व्यहोर्नु कुनै पनि हालतमा सामाजिक न्याय हुन सक्दैन’, मेयर हमालले भने। 
 
धनगढी बजार क्षेत्रमा सबैजसो खोलानाला अतिक्रमणको चपेटामा छन्। अतिक्रमणले पानीको बहाव थुनिने भएकाले क्षणभरको वर्षामै धनगढी डुबानमा पर्ने गरेको छ। बर्खायाममा धनगढीका दर्जनौँ बस्ती डुबानमा पर्छन्। धनगढी मुख्य बजार क्षेत्र भएर बग्ने सुकुटी नाला, कैलाली नाला, सेतोपुल खोलालगायत सबैजसो खोलानाला अतिक्रमण गरेर घरलगायतका संरचना निर्माण गरिएका छन्।

उपमहानगरले  वडा नं ७ मा रहेको कित्ता नम्बर ४ को सड्वा बाबा तालको अतिक्रमण हटाएको छ। साढे नौ कट्ठा क्षेत्रफलमा फैलिएको सडुवा बाबा तालमा घर बनाउन हालिएका ५६ पिलर उपमहानगरले डोजर लगाएर भत्काएको जनाएको छ। सार्वजनिक ताल खाली गर्नु राम्रो भए पनि धनगढीका सबै अतिक्रमण गरिएका ताल खाली गर्नुपर्ने तालमा पिलर खडा गरेका रामसेवक रानाले बताए। 

‘तालको अतिक्रमण हटाउनु राम्रो हो तर, सबै तालको हट्नुपर्‍यो’, उनले भने, ‘मैले मात्रै हालेको पिलर हटाएर अरूको नहटाए त राम्रो भएन, सबै तालमा भएको अतिक्रमण हटाए मेयरसाबलाई माला लगाइदिन्छु।’ 

सड्वा बाबा तालमा २०७७ को फागुनमा रामसेवक रानाले पिलर हालेर घर बनाउने प्रयास गरेका थिए। यो तालमा अन्य व्यक्तिले पनि पक्की तथा कच्ची घर बनाएका छन्। घर बनाएर बसेकालाई उपमहानगरले ताल खाली गर्न केही समय दिने जनाएको छ। 

वडा नं ७ मा रहेका मनिया ताल, आटा गडैया ताल, सकेला ताल, भानुचोकमा रहेको लम्बा ताल पनि अतिक्रमण गरिएको स्थानीयले बताएका छन्। उपमहानगरको वडा नं ३ केदारटोलमा अतिक्रमित भएको खल्ला क्षेत्र खाली गराएको छ। सार्वजनिक क्षेत्र अतिक्रमण हुँदा बर्खायाममा एक घण्टा पानी पर्दा जलमग्ने हुने समस्या छ। डुबान समस्या न्यूनीकरणका लागि अतिक्रमण क्षेत्र खाली गराउनुपर्ने स्थानीयको माग छ।

साविकका खोलानाला अतिक्रमणको चपेटामा पर्दा नक्सा पनि बाँकी नरहेको स्थानीय शिवदत्त भट्टले बताए। ‘उपमहानगरपालिकाले खोला-नाला अतिक्रमण क्षेत्र खाली गराउने अभियान सुरू गरेको छ’, उनले भने, ‘तर, सुरू गरेर मात्र भएन। यसलाई व्यवस्थित बनाउन पनि आवश्यक छ।’ रासस


प्रकाशित : मंगलबार, फागुन २३ २०७९०९:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend