बुधबार, कात्तिक ७ गते २०८१    
images
images

तनहुँ जलविद्युत् आयोजना : ३४ प्रतिशत भाैतिक प्रगति, १३ अर्ब ७५ करोड बढी खर्च

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २१ २०७९
images
images
तनहुँ जलविद्युत् आयोजना : ३४ प्रतिशत भाैतिक प्रगति, १३ अर्ब ७५ करोड बढी खर्च

केही दिन अगाडि मात्रै आयोजनाको प्रवेश सुरूङको ‘ब्रेक थ्रु’ भएको थियो। सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चारसय ३६ मिटर लम्बाइ र सात मिटर चौडाइको प्रवेश सुरूङमा ‘ब्रेक थ्रु’ भएको हो। 

images
images

दमौली- तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एकसय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ। 

images
images
images

तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए।  

श्रेष्ठका अनुसार यस अवधिमा १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार रूपैयाँ खर्च भएको छ। केही दिन अगाडि मात्रै आयोजनाको प्रवेश सुरूङको ‘ब्रेक थ्रु’ भएको थियो। सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चारसय ३६ मिटर लम्बाइ र सात मिटर चौडाइको प्रवेश सुरूङमा ‘ब्रेक थ्रु’ भएको हो। 

images

आयोजना निर्माण सम्पन्न भएपछि व्यास नगरपालिका-५ बेतेनी हुँदै बाँधतर्फ जान यही सुरूङ प्रयोग गर्न सकिनेछ। प्रवेश सुरूङ ‘ब्रेक थ्रु’ भएपछि सेती नदीको बायाँतर्फबाट हुने निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण लैजान र आवतजावत गर्न सहज भएको बताइएको छ। 

images

आयोजनाको पहिलो चरणअन्तर्गत प्रवेश सुरूङ निर्माण गर्न विसं २०७८ फागुन २८ मा पहिलो विस्फोट गराइएको थियो । सुरूङ निर्माणका लागि आवश्यक विस्फोटक पदार्थको अभावका कारण करिब ४८ दिन काम रोकिएको थियो। सुरूङ निर्माणका लागि अन्तिम विस्फोट मंगलबार गरिएको हो।

आयोजनाको चरण-१ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठसय ७८ रूपैयाँमा खरिद सम्झौता भएको थियो। 

यो चरणअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरूङ १ र २ को निर्माण जारी रहेको आयोजनाले जनाएको छ। दुवै डाइभर्सन सुरूङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको प्रबन्ध सञ्चालक श्रेष्ठले जानकारी दिए। उनले भने, ‘डाइभर्सन सुरूङ-१ अन्तर्गत हाल इनलेट र आउलेट दुवैतर्फबाट सुरूङ खन्ने कार्य भइरहेको छ भने मंसिर मसान्तसम्म ३४१ मिटर खन्ने काम सकिएको थियो।’ 

डाइभर्सन सुरूङ-२ को इनलेट र आउटलेटको निर्माण भइरहेको र यस सुरूङको लम्बाइ ६२९ मिटर रहेकामा मंसिर मसान्तसम्म ३६० मिटर खन्ने काम सकिएको छ। बाँधको माथिल्लो भागको स्लोपअन्तर्गत हालसम्म इलिभेसन तह पाँच सय ४४ मिटरबाट चार सय ८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ। 

यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण सुरू गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो। हालसम्म इलिभेसन तह चारसय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ।

चरण-१ अन्तर्गतको काम विसं २०८३ जेठ १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार रूपैयाँ खर्च भई समग्र भौतिक र वित्तीय प्रगति क्रमशः १२ दशमलव ६८ र ११ दशमलव ६७ प्रतिशत रहेको आयोजनाले जनाएको छ। आयोजनाको चरण-२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग विसं २०७५ असोज १५ गते युएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ अर्थात् तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीनसय ६१ रूपैयाँमा खरिद सम्झौता भएको थियो। 

खरिद सम्झौता बमोजिम निर्माण सुरू गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ। यो चरणअन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युतगृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ। यसका अतिरिक्त मुख्य पहुँच सुरूङ, केबल सुरूङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्यांकतर्फको पहुँच सुरूङ निर्माण सम्पन्न भएको प्रबन्ध सञ्चालक श्रेष्ठले बताए। 

आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरूङ विसं २०७८ कात्तिकदेखि खन्न सुरू गरिएकामा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर काम सकिएको छ। ‘कमजोर भौगर्भिक अवस्थाका कारण मुख्य सुरूङ खन्ने काम प्रभावित भएको छ, यसका अतिरिक्त कमजोर भौगर्भिक अवस्थाका कारण सर्जट्यांकको निर्माण रोकिएको छ,’ श्रेष्ठले भने। आयोजनाको दुईसय १० दशमलव नौ मिटर टेलरेस सुरूङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरू गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ। 

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्य अन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकोमा सम्पूर्ण पेनस्टक खन्ने काम सकिएको छ। श्रेष्ठका अनुसार पेनस्टक आयात भई वर्कसपमा फ्रेविकेसनको कार्य भइरहेको छ। चरण तीनअन्तर्गत प्रशारण लाइन निर्माणका लागि ४८ टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ। २६ टावर जडान कार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ। 

३४ दशमलव सात किलोटिरम प्रशारण लाइनमा ९४ टावर राखिनेछ। प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड-१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ। रासस  


प्रकाशित : आइतबार, फागुन २१ २०७९०६:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend