बुधबार, कात्तिक ७ गते २०८१    
images
images

बेसीँसहर-चामे सडक निर्माण सुस्त

images
शनिबार, फागुन २० २०७९
images
images
बेसीँसहर-चामे सडक निर्माण सुस्त

सोही बोलपत्रअनुरूप आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ असार ३० गते ठेक्का सम्झौता गरेको थियो।

images
images

मनाङ- हिमाली जिल्ला मनाङ जोड्ने सडकमार्ग निर्माण सुस्त भएको छ। बेंसीसहर-चामे सडकका निम्ति बजेट विनियोजन भएको लामो समय हुँदासम्म स्तरोन्नति र कालोपत्र कार्य अघि बढ्न सकेको छैन। 

images
images
images

सडकको दुई वर्षमा करिब ४० प्रतिशत मात्र काम भएको छ। डुम्रे-बेँसीसहर-चामे सडक योजनाले बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ किलोमिटर सडक कालोपत्रका लागि बोलपत्र आह्वान गरेको थियो। 

सोही बोलपत्रअनुरूप आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ असार ३० गते ठेक्का सम्झौता गरेको थियो। कुल ५२ करोड ९६ लाख १६ हजार रुपैयाँ अनुमानित लागत रहेकामा २५ करोड ३२ लाख १३ हजार रुपैयाँ लागतमा कालोपत्र गर्ने सम्झौता गरिएको थियो।

images

ठेक्का सम्झौताको मिति सकिन चार महिना बाँकी छँदा हालसम्म ४० प्रतिशत मात्रै काम सकेको सडक कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए। 'पटक-पटकको बैठकमा निर्माण कम्पनीका मुख्य व्यक्ति उपस्थिति भएनन्', उनले भने, 'हामीले यही फागुन २७ गते बैठक राखेर त्यो बैठकमा आउन भनेका छौँ, त्यही दिन विस्तृत छलफल हुन्छ।' 

images

सडकमा ग्राभेल गरिएका छैन। नाली निर्माण कार्य ५० प्रतिशत सकिएको उनले बताए। उनका अनुसार कटिङको काम ७० प्रतिशत सकिएको छ। वाल उठाउने कार्य ६० प्रतिशत सकिएको उनले बताए। 'मुख्य काम भनेको कालोपत्र हो, जुन अहिलेसम्म ग्राभेल नै भएको छैन, कालोपत्र हुन्छ भन्ने निश्चित नै छैन', उनले भने। 

यो सडक मनाङको मेरुदण्ड र उत्तरी लमजुङवासीका लागि प्रमुख मार्गका रुपमा रहेको छ। विसं २०६९ मा नेपाली सेनाले मनाङको सदरमुकाम चामेसम्म सडक निर्माण गरेको थियो। अहिले सडक माथिल्लो मनाङको खाङसारसम्म पुगेको छ। निर्माण व्यवसायीले काम सुस्त गतिमा गरेको स्थानीयवासीको गुनासो छ। सुस्त गतिमा निर्माण कार्य हुँदा निर्माणको समय लम्बिने स्थानीयवासीको भनाइ छ। 

डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार यस सडकको ‘क्यारिज वे’ (भार बोक्ने सडक) पाँच दशमलव पाँच मिटरको हुनेछ। यो मध्यम लेनको सडक मानिन्छ। उनले अहिले पहिलो चरणको काम भइरहेको बताए।  सडकको अहिले वाल कटिङ गर्ने, चौडाइ बढाउने, टेवा (पर्खाल) उठाउने, कल्भर्ट बनाउने, नाली बनाउने काम भइरहेको उनले जानकारी दिए। 

उनका अनुसार पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा कालोपत्रको काम हुनेछ। धिमा गतिमा सडक निर्माणको काम भएपछि तोकिएको समयमा काम नसकिने उनको भनाइ छ। 'यस सडकको मात्रै नभएर देशभरका सडकको निर्माणमा ढिलाइ भएको छ, अझ कति त निर्माणको म्याद सकिएको १० वर्षसम्म पनि काम भएको पाइएको छैन', उनले भने, 'सक्दो प्रयासमा जुटिरहेका छौँ।'

उनले आगामी असोजसम्ममा कालोपत्र सक्ने गरी काम अघि बढेको बताए। प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयवासीको गुनासो आइरहेकाले सम्बन्धित पक्षसँग छलफल गर्ने प्रयासमा रहेको बताए। रासस


प्रकाशित : शनिबार, फागुन २० २०७९१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend