बुधबार, कात्तिक ७ गते २०८१    
images
images

इलेक्ट्रिसियन अभावको अमेरिकी चिन्ता

images
शनिबार, फागुन २० २०७९
images
images
इलेक्ट्रिसियन अभावको अमेरिकी चिन्ता

स्वच्छ नवीकरणीय ऊर्जातर्फ बढ्नका लागि अझै पनि धेरै काम बाँकी रहँदा सामान्य कामकै लागि कामदार अभाव भोग्ने अवस्था आउनु दु:खद रहेको छ।

images
images

काठमाडौं- आवश्यक इलेक्ट्रिसियनको अभावले नवीकरणीय ऊर्जामा अघि बढ्न कठीन भइरहेको भन्दै यतिबेला अमेरिकीहरू चिन्तामा छन्। विद्युतीय कार चार्जर, हिट पम्पजस्ता उपकरणहरू जोड्नकै लागि पनि लामो समय इलेक्ट्रिसियनको समय पर्खनु परिरहेको हो। 

images
images
images

मागअनुसारको काम गर्न समय अभाव रहेको र कामदारहरू कम रहेको इलेक्ट्रिसियनहरूले बताउँदै आइरहेका छन्। धेरै कामदारले त तलब र ज्यालामा वृद्धि गरिरहँदा त्यसको असर अमेरिकी सरकारको 'क्लाइमेट इनिसियटिभ'मा पर्ने देखिएको बताइन्छ। 

उदाहरणका लागि ब्रेन लामोर्ते नामका एक इलेक्ट्रिसियनले छजना कामदारसहित इलेक्ट्रिक हिटिङ एण्ड कुलिङ कम्पनी चलाइरहेका छन्। उनको कम्पनीका लागि आउँदो छ महिनासम्मको समय कामका लागि बुक भइसकेको छ। यसैले कामका लागि बोलाएका ग्राहकहरूलाई उनले अन्य कोही खोज्न आग्रह गर्ने गरेका छन्। 

images

कामका लागि आवश्यक सामानको कमी र कामदारको समेत रकम बढिरहँदा काममा समस्या भइरहेको वाल स्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ। सोलार हिलरजस्ता इनर्जी कम्पनी चलाइरहेकाहरूले समेत कामदार अभाव भोगिरहेका छन्। त्यसैले कतिपय कम्पनीहरूले त उच्च शिक्षा अध्ययन गराइरहेका विद्यालयसँग इन्टर्नसिप कार्यक्रम गरी आवश्यक कर्मचारी पूर्ती गरिरहेका छन्। 

images

अमेरिकाभर देखिएको कामदार अभावकै असर इलेक्ट्रिसियनमा परिरहेको बताइन्छ। ग्रिन इनर्जी प्रोडक्टमा अगाडि रहेको नर्थइस्ट र क्यालिफोर्नियाजस्ता ठाउँमा त इलेक्ट्रिसियन अभावको असर तीब्र छ। 

अहिले अमेरिकामा रहेका सात लाख इलेक्ट्रिसियनको संख्या आउने दशकसम्म सात प्रतिशतले वृद्धि हुने आशलाग्दा तथ्यांकहरू पनि अमेरिकीहरूले निकालिरहेका छन्। अमेरिकामा श्रमिकहरूको तथ्यांक राख्ने एक ब्युरोका अनुसार अहिलेको वर्षहरूमा औषतमा पाँच प्रतिशतले कामदारको संख्या बढिरहेको छ। 

नवीकरणीय ऊर्जातर्फ बढिरहेको अहिलेको समयमा विद्युतीय प्रणालीहरूमा गर्नुपर्ने परिवर्तनको काम बढिरहेको छ। अमेरिकाले तय गरेको जलवायु अनुकुल विद्युतीकरणको लक्ष्य 'क्लाइमेट एण्ड इलेक्ट्रिफिकेसन गोल' पूरा गर्नका लागि पनि कामदारको संख्या बढाउनुको विकल्प देखिँदैन। उद्योगहरूको अवस्थाबारे विश्लेषण गरिरहेकाहरू पनि माग पूरा गर्न समस्या परिरहेको नै बताउँछन्।

नयाँ इलेक्ट्रिसियनको संख्या थप्नुपर्ने कुरा चलिरहँदा अवकास हुनेहरूको संख्या पनि बढिरहेको उनीहरूको भनाइ छ। धेरैले त कोरोना संक्रमणको समयमा पनि काम छाडेको उनीहरूको भनाइ छ।

इलेक्ट्रिसियन काम गरिरहेकाहरूको औषत आयु ४० वर्ष हाराहारी रहे पनि झण्डै ३० प्रतिशत कामदारको उमेर ५० देखि ७० को बीचमा रहेको नेशनल इलेक्ट्रिकल कन्ट्याक्टर्स एशोसिएसनलाई उद्धृत गर्दै वाल स्ट्रिटले उल्लेख गरेको छ। अहिले अमेरिकामा इलेक्ट्रिसियनहरूको तलब वार्षिक सरदर १० हजार डलरले बढेको देखिएको छ। 

स्वच्छ नवीकरणीय ऊर्जातर्फ बढ्नका लागि अझै पनि धेरै काम बाँकी रहँदा सामान्य कामकै लागि कामदार अभाव भोग्ने अवस्था आउनु सुखद नरहेको बताइन्छ। अब औद्योगिक नीतिमा गर्नुपर्ने परिवर्तनले यसतर्फ पनि सम्बोधन गर्नुपर्ने अमेरिकीहरू बताउँछन्। नयाँ नीतिहरूको प्रभावकारिता कामको कार्यान्वयनसँग जोडेर हेरिनुपर्ने बताइन्छ। नयाँ नीतिहरूले निश्चित क्षेत्रमा निश्चित प्रकारका कामहरू कठीन भइरहँदा त्यसलाई सहज बनाउने प्रयास हुनुपर्ने देखिन्छ। 

कामदार र समयको अभाव भइरहँदा केही कम्पनीहरूले समय बचत गर्ने नयाँ उपकरणहरूको विकासमा ध्यान दिन भने थालेका छन्। नयाँ उपकरण बनाउने र नयाँ कामदारलाई त्यसबारे तालिम दिने कामहरू पनि सुरु भएका छन्। 'फोसिल फ्युल'बाट अन्यत्र जान प्रोत्साहन बढिरहेको इथाका जस्ता स्थानहरूमा 'इलेक्ट्रिकल अपग्रेड्स डिमान्ड' बढिरहेको छ। इन्डक्सन स्टोभ्स र कार चार्जर जस्ता डिभाइसको काम बढिरहँदा इलेक्ट्रिसियनको काम सोचेभन्दा व्यापक भइरहेको छ। 

'सबै विद्युतीकरण'को नाराले गति लिइरहँदा अमेरिकी सरकारले अर्बौं डलर खर्च गरिरहेको छ। यस्तोमा सबै घरमा इलेक्ट्रिक हिटिङ, कुकिङ र लुगा सुकाउने मेसिनसँगै सवारी चार्जिङ उपकरणहरूले गर्दा लोड धान्ने सिस्टम विकास गर्न भने चुनौती भइरहेको छ। घरलाई आवश्यक उपकरणहरुका लागि पूर्ण रुपमा विद्युतमा निर्भर हुन इलेक्ट्रिकल प्यानलदेखि नै सुधार गर्नुपर्ने देखिन्छ। 

हुन त २० वर्षअघि नै अमेरिकीहरूले विभिन्न अध्ययनमार्फत निकटसमयमै इलेक्ट्रिसियनको अभाव हुनसक्नेतर्फ संकेत गरेको 'इलेक्ट्रिकल कन्ट्याक्टर' म्यागेजिनले उल्लेख गरेको छ। कोभिडको समयपछि त इलेक्ट्रिसियनमा आउने नयाँ कामदारको अभावसँगै पुराना कामदारहरू बाहिरिँदा पनि समस्या बढेको हो। एशोसिएट जनरल कन्ट्याक्टर्स अफ अमेरिकाले इलेक्ट्रिसियन अलि कठीन काम नै भएकाले पनि संख्या घटिरहेको उल्लेख गरेको छ। 

सन् २०१९ को 'प्यान्डेमिक जब प्रोटेक्सन डाटा'अनुसार २०३० सम्ममा अमेरिकामा आठ लाख आठ हजार जना इलेक्ट्रिसियन आवश्यक हुने जनाइएको छ। तर नयाँ उपकरण जडानजस्ता विषयमा माग बढिरहँदा कामदार पूरा हुनेतर्फ आधारहरू देखिँदैनन्। यसैले पनि अमेरिकीहरूको विद्युतीकरणतर्फको सहज 'उज्यालो समय' विस्तारै कठीन बन्दै गइरहेको छ। 


प्रकाशित : शनिबार, फागुन २० २०७९०९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend