बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

भक्तपुर-नगरकोट सडक निर्माण एक महिनाभित्र सम्पन्न नगरे ठेक्का सम्झौता खारेज गर्ने उपप्रधानमन्त्री श्रेष्ठको चेतावनी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १८ २०७९
images
images
भक्तपुर-नगरकोट सडक निर्माण एक महिनाभित्र सम्पन्न नगरे ठेक्का सम्झौता खारेज गर्ने उपप्रधानमन्त्री श्रेष्ठको चेतावनी

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अनुगमनपछि भक्तपुर-नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै यस्तै अवस्था रहे सरकार सहेर नबस्ने बताए। 

images
images

भक्तपुर- उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गरेका छन्। 

images
images
images

उपप्रधानमन्त्री श्रेष्ठसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, भक्तपुर नगरकोट सडक विस्तार आयोजनाका प्रमुख, शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिलगायत सरोकारवाला निकायसहितको टोलीले सडकको अनुगमन गरेको हो। 

अनुगमनपछि नगरकोट बसपार्कमा पुगेर उपपधानमन्त्री श्रेष्ठले भक्तपुर-नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै यस्तै अवस्था रहे सरकार सहेर नबस्ने बताए। 

images

उनले अबको एक महिनाभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे ठेक्का सम्झौता खारेज गर्ने बताए। ‘यो सडकको सम्झौता सन् २०१४ मा भएको हो। यो सन् २०१६ भित्रमा सम्पन्न गरिसक्नुपर्ने थियो, तर सात पटक म्याद थप गरिसकेको छ, तर पनि अहिलेको अवस्थालाई हेर्दा सन्तोष गर्ने ठाउँ छैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तपाईंहरुले पनि आज सडकको हालत देखिहाल्नुभयो, जनताको असन्तुष्टि र आक्रोश पनि देख्नुभयो, यसमा हामी गम्भीर छौँ।’

images

निर्माण कम्पनीले भक्तपुर-नगरकोट सडकको निर्माणमा उपेक्षा गरेको बताउँदै यसै गरी अल्झाउने, काम सम्पन्न नगर्ने र समयमै गुणस्तरीय काम गरेर हस्तान्तरण नगरे अब थप समय नदिने उनले बताए। 

‘यो सडक निर्माण सात पटक म्याद थप भइसकेको छ, बीचमा क्रसर उद्योगको समस्या आएकाले गत जनवरीमा एक महिना थप समय दिएका हौँ, तर पनि सन्तोषजनक रुपमा काम भएको छैन,' उनले भने, 'अब कुनै पनि बाहनामा समय थप हुदैन, यहीँ गतिले काम भएमा समयमा गुणस्तरीय ढंगले हस्तान्तरण होला त भन्नेमा हामी चिन्तित छौँ।’ उनले तत्कालै निर्माण कम्पनीसँग छलफल गरी समीक्षा गर्ने र थप निर्णय लिने बताए। 

मन्त्री श्रेष्ठले यसअघि नै काठमाडौंका रुग्ण आयोजनाबारेमा निर्माण व्यवसायीसँग छलफल गरेको स्मरण गर्दै त्यतिबेला पनि समयमा काम नसक्ने निर्माण व्यवसायीलाई चेतावनीसमेत दिएको बताए। निर्माण व्यवसायीले नयाँ सडक थप्दै जाने र पुराना सम्झौता भएका सडक अलपत्र पार्दै जाने कार्य अब दोहरिन नहुने बताए। 
 
भक्तपुर नगरकोट सडकको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालमाथिनै अन्याय भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘ठेकेदारसँग नाम जोडिदा प्रधानमन्त्रीमाथि पनि अन्याय भएको छ, हामी काम सम्झौता हेर्ने हो, ठेकेदार को के नाम हो भन्नेमा हामी चिन्दैनौँ।’ उनले सडकको अवस्थाकोबारेमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवलाई पनि जानकारी गराएका थिए। 

अनुगमनमा चाँगुनारायण नगरपालिका-६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले शैलुङ कन्स्ट्रक्सनले गुणस्तरहीन काम गरेको दाबी गरे। शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले बीचमा रुख कटान, विद्युत्को पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाइ भए पनि अबको एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गरिने बताए। 

‘अब फेरि पनि म्याद थपिदिनुस् भन्ने ठाउँ छैन, कमीकमजोरी हामीबाट पनि भएकै हो, अबको एक महिना रातदिन नभनी काम गरेर सम्पन्न गरेर हस्तान्तरण गर्छौ, नसके छाड्छौँ’, उनले भने। रासस  


प्रकाशित : बिहीबार , फागुन १८ २०७९०९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend