बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

जनशक्ति अभावले पर्यटन कार्यालयका कामकाज प्रभावित

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १८ २०७९
images
images
जनशक्ति अभावले पर्यटन कार्यालयका कामकाज प्रभावित

प्रशासन, लेखा र प्राविधिक फाँटमा कर्मचारी छैनन्। जिल्ला तहबाटै पर्यटन हेर्ने गरी प्रदेश सरकारले संरचना स्थापित गरे पनि स्रोतसाधनको उचित प्रबन्ध हुन सकेको छैन। जनशक्ति अभावले कार्यालयको कामकाज नै प्रभावित भइरहेको छ। 

images
images

गण्डकी- दश जनाको दरबन्दी रहेको तनहुँको पर्यटन तथा उद्योग कार्यालयमा चार कर्मचारी कार्यरत छन्। अधिकृत अविनाश कुँवर कार्यालय प्रमुखको जिम्मेवारीमा छन्। एकजना सहायक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगी करारका छन्।

images
images
images

प्रशासन, लेखा र प्राविधिक फाँटमा कर्मचारी छैनन्। जिल्ला तहबाटै पर्यटन हेर्ने गरी प्रदेश सरकारले संरचना स्थापित गरे पनि स्रोतसाधनको उचित प्रबन्ध हुन सकेको छैन। जनशक्ति अभावले कार्यालयको कामकाज नै प्रभावित भइरहेको छ। 

‘योजनाको अनुगमनमासमेत हिँड्न पाइएको छैन, बाहिरी काममा जाँदा कार्यालयको जिम्मा कसलाई छोड्ने भन्ने चिन्ता हुन्छ’, प्रमुख कुँवरले भने, ‘न्यून कर्मचारी हुँदा कार्यबोझ बढेको छ, सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन।’ 

images

पहिलेका घरेलु तथा साना उद्योग कार्यालयलाई पर्यटन तथा उद्योग कार्यालय बनाउँदा दरबन्दी थप गरिए पनि कर्मचारीको खटनपटन भने अझै हुन सकेको छैन। यसअघि पर्यटन पूर्वाधार निर्माणका काम पर्यटन कार्यालय, पोखराले गर्दै आएका थियो। 

images

प्रदेश सरकारले उक्त कार्यालय हटाएर गत मङ्सिर १ गतेदेखि जिल्ला तहबाटै पर्यटन सम्बन्धी काम र सेवा दिने व्यवस्था गरेको थियो। पर्यटनको दायित्व थपिएसँगै पुरानै संरचना र जनशक्तिबाट पूर्वाधारतर्फका काम गर्न कार्यालयलाई धौधौ परेको छ।

पर्यटन तथा उद्योग कार्यालय गोरखाको स्थिति पनि उस्तै छ। प्रमुख, दुई सहायक कम्प्युटर र एक सहयोगीका भरमा कार्यालय चलेको छ। जरुरी पर्दा निमित्त भएर जिम्मेवारी सम्हाल्नेसमेत कोही नभएको कार्यालय प्रमुख सूर्य भुसालले बताए। 

पूर्वाधार निर्माणका काममा प्राविधिक जनशक्ति नहुँदा सास्ती खेप्नुपरेको उनको भनाइ छ। कर्मचारी अभावमा बेलैमा काम नहुँदा पर्यटन कार्यालयको पुँजीगत खर्च पनि न्यून भएको पाइएको छ। 

चालु आवको माघ मसान्तसम्ममा स्याङ्जामा दुई दशमलव ८६, नवलपुरमा तीन र मनाङमा पाँच दशमलव आठ प्रतिशत मात्र पुँजीगत खर्च भएको देखिन्छ। अरु जिल्लाका कार्यालयको पुँजीगत खर्चको स्थिति पनि कमजोर छ।

पर्यटन उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख प्रवीण ढकालले पर्यटन तथा उद्योग कार्यालयमा सहयोगीदेखि दशौँ तहका कर्मचारीसम्मको दरबन्दी रहेको बताए। उनका अनुसार कास्कीमा १७, नवलपुरमा १३, मनाङ, मुस्ताङमा नौ/नौ र अन्य जिल्लाका कार्यालयमा १० जनाको दरबन्दी छ। कर्मचारीको पदपूर्ति नहुँदा प्रदेश मातहतका कार्यालयमा जनशक्तिको अभाव खड्किएको निर्देशनालयका प्रमुख ढकालले बताए।  

सुगम र घर पायक ठाउँ रोज्ने प्रवृत्तिले पनि कर्मचारीको खटनपटनमा समस्या आउने गरेको उनको भनाइ छ। ‘प्रदेश निजामती सेवा ऐन कार्यान्वयनमा आएर प्रदेश लोकसेवा आयोगले कर्मचारीको पदपूर्ति गर्न थालेपछि जनशक्ति व्यवस्थापन सहज होला’, उनले भने। 

समायोजन भएर आएका कतिपय कर्मचारी संघमै फर्केका कारण पनि प्रदेशले कर्मचारी अभाव झेलिरहेको छ। निर्देशनालयका प्रमुख ढकालले ११ वटै जिल्लाका पर्यटन तथा उद्योग कार्यालयमा कर्मचारी अभाव रहेको बताए। प्राविधिक जनशक्ति व्यवस्थापनका लागि प्रकृया अगाडि बढेको उनको भनाइ छ। 

कतिपय कार्यालयमा संघका कर्मचारी काजमा खटिएका छन्। स्थायी कम्प्युटर अपरेटर कुनै पनि जिल्लामा छैनन्। प्राविधिक जनशक्ति नहुँदा स्थानीय तहसँग सहयोग लिएर काम चलाउनुपर्ने स्थिति छ। अधिकांश कार्यालयमा लेखापाल नै छैनन्।

प्रशासनिक कामको सबै बोझ कार्यालय प्रमुखमाथि छ। कार्यालयको सेवा र जिम्मेवारी बढ्दो छ, स्रोतसाधनको कमी छ। पहिले व्यवसाय÷उद्योग दर्ता, नवीकरण, ठाउँसारी जस्ता सेवा दिँदै आएका कार्यालयलाई अहिले पर्यटन प्रवर्द्धन र पूर्वाधार निर्माणको समेत काम गर्नुपर्ने दायित्व छ।

जनशक्ति मात्र नभएर कतिपय कार्यालयका आफ्नै भवनसमेत छैनन्। मनाङ, स्याङ्जा, म्याग्दी र नवलपुरको पर्यटन तथा उद्योग कार्यालय भाडामा सञ्चालित छ। अर्कै प्रयोजनका लागि बनेका साँघुरा भवन र कोठाबाट कार्यालय चलाउनुपर्ने बाध्यता छ। आफ्नै प्रशासनिक भवन नहुँदा बर्सेनि ठूलो रकम भाडामा खर्च भइरहेको छ।

मनाङ कार्यालयका प्रमुख ऋषिराम पौडेलले जग्गा व्यवस्थापन नहुँदा भवन बन्न नसेकेको बताए। ‘न आफ्नै भवन छ, न दरबन्दीअनुसार कर्मचारी छन्’, उनले भने, ‘जसोतसो कार्यालयको सेवा दिइरहेका छौँ, अरु जिल्लाको तुलनामा मनाङमा सेवाग्राहीको चाप पनि केही कम छ।’

मनाङमा पनि दुई कार्यालय सहयोगी र एकजना कम्प्युटर अपरेटर करारमा राखिएको छ। स्थायी कर्मचारीका रुपमा कार्यालय प्रमुख पौडेल मात्र छन्।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले समृद्ध गण्डकीको पहिलो आधारका रुपमा लिइएको पर्यटन क्षेत्रमै बजेट, पूर्वाधार र जनशक्तिको अभाव हुनु बिडम्वना भएको बताए। न्यून जनशक्तिबाट पनि सन्तोषजनक काम भएको भन्दै उनले कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाउन आफूले पहल लिने बताए। 

उनले प्रदेश सरकारको वार्षिक बजेटमासमेत पर्यटन क्षेत्र प्राथमिकतामा नपरेको उल्लेख गरे। ‘कुल बजेटको एक दशमलव ६८ प्रतिशत मात्र पर्यटनमा छ, यो क्षेत्र हेलामा परेको छ’, मन्त्री जुग्जालीले भने, 'समृद्धिको आधार पनि भन्ने अनि यति थोरै बजेटले पर्यटन कसरी उकासिन्छ।’ रासस 


प्रकाशित : बिहीबार , फागुन १८ २०७९०६:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend