बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

व्यवस्थापनको लफडाले शिवम् सिमेन्टका लगानीकर्तालाई लगातार धक्का, अधिकांश वित्तीय सूचक नकारात्मक

बिहीबार , फागुन १८ २०७९
व्यवस्थापनको लफडाले शिवम् सिमेन्टका लगानीकर्तालाई लगातार धक्का, अधिकांश वित्तीय सूचक नकारात्मक

काठमाडौं- शिवम् सिमेन्ट्स लिमिटेडको नाफामा भारी गिरावट आएसँगै एकवर्षमा लगानीकर्ताले प्रतिकित्ता ८०२ रुपैयाँ गुमाएका छन्।

कम्पनीको सेयर मूल्य लगातार घटिरहेको छ। बुधबार कारोबार भएको सेयर मूल्य पछिल्लो तीन वर्षयताकै सस्तो हो। कम्पनीको सेयर बुधबार ४७४ रुपैयाँमा कारोबार भएको थियो। जब कि कम्पनीले जनतालाई प्रतिकित्ता ३ सय रुपैयाँमा साधारण सेयर बिक्री गरेको थियो। यो घट्दो ट्रेण्डले पुरानै मूल्यमा पुग्ने देखिएको छ। 

पछिल्लो विवरणअनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको थियो। नयाँ सूचकसँगै दोस्रो बजारका लगानीकर्ताहरु त्रासमा देखिएका छन्। जसका कारण सेयर मूल्य घटिरहेको छ। 

व्यवस्थापनमा समस्या आएपछि उत्पादन र बिक्री वितरणमा समेत असर देखिएको छ। केही समय अगाडि प्रमोटर सेयर बिक्री गरेरसमेत केही बाहिरिएका छन्। 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले बिक्रीमार्फत ३ अर्ब ३४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३७ प्रतिशत कमी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब ६० करोड ३१ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०.५८ प्रतिशत घटेको छ भने कुल खर्च १८.८२ प्रतिशत घटेको छ।

बिक्री आम्दानी घटेको कारण समीक्षा अवधिमा कम्पनीको खुद नाफा पनि घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९९ प्रतिशत कम हो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ४७ पैसा घटेर १४ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ८५ पैसा रहेको छ। भने मूल्य आम्दानी अनुपात ३७.८३ गुणा रहेको छ। ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ७० करोड १२ लाख रुपैयाँ सञ्चित छ।

shivam.JPG

जनतालाई फसाएर प्रमोटर बाहिरिदा दोस्रो बजारमा धक्का

कम्पनीको सेयर उच्च मूल्य १९१० रुपैयाँसम्म पुगेको थियो। घट्दो ट्रेण्डमा भए पनि शिवमको सेयर कारोबार भने उच्च छ। सेयर लगानीकर्ताहरू धमाधम सेयर बिक्री गरेर बाहिरिरहेका छन्। बुधबार पनि २२ करोड २० लाख रुपैयाँको कारोबार हुँदा १ लाख ७४ हजार कित्ता किनबेच भएको छ। 

४ अर्ब ४४ करोड चुक्ता पुँजी भएको कम्पनीको बजार पुँजीकरण २० अर्ब रुपैयाँ रहेको छ।

कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। शिवमका प्रमोटर सेयर होल्डरहरूले २० लाख कित्ताभन्दा बढी सेयर बिक्री गरेको भन्ने चर्चा चलेपछि सर्वसाधारण लगानीकर्ता बाहिरिएको अनुमान गरिएको छ। 

प्रमोटर सेयरधनी बाहिरिएको चर्चासँगै सर्वसाधारण लगानीकर्ताले धमाधम सेयर बिक्री गरिरहेका छन्। जसका कारण उच्च कारोबारसँगै सेयर मूल्य भने न्यून बिन्दुमा आइपुगेको छ। 

निजी लगानीमा सञ्चालित शिवम् सिमेन्ट लिमिटेडले चार वर्षअगाडि प्राथमिक सेयर निष्कासन गर्दा त्यसपछिका २ वर्षमा नाफा २९.४४ प्रतिशत बढ्ने प्रक्षेपण गरेको थियो। आर्थिक वर्ष ०७५/०७६ मा २५.२८ प्रतिशत नाफा बढाएर खुद नाफा १ अर्ब ४३ करोड ३० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको थियो। त्यस्तै आर्थिक वर्ष ०७६/०७७ मा नाफा बढाएर १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरेको थियो।

उद्योगले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागी सार्वजनिक गरेको वित्तीय विवरणमा आम्दानी तथा नाफा बढाउने योजना सार्वजनिक गरेको थियो। २ वर्षमा उद्योगको सिमेन्ट बिक्रीबाट हुने आम्दानी १५.२५ प्रतिशत बढेर १२ अर्ब ६० करोड ८६ लाख रुपैयाँ पूग्ने आब्हानपत्रमा उल्लेख गरिएको थियो। 

प्रक्षेपणभन्दा उल्टो 

आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४१ करोडभन्दा बढी खुद नाफा कमाएको कम्पनीको नाफा घटेर ६८ करोड रुपैयाँमा सीमित भएको थियो। गत वर्षको तुलनामा खुद नाफा ५१ प्रतिशतभन्दा धेरैले घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि ३१ रुपैयाँ ६८ पैसाबाट घटेर १५ रुपैयाँ ६७ पैसामा झरेको छ। 

गत वर्षको फागुनबाट शिवम सिमेन्टको ३ करोड ८५ लाख कित्ता प्रमोटर सेयरको लक इन पिरियड खुलेको थियो। लक इन पिरियड खुलेर सेयर बिक्रियोग्य भएसँगै शिवममा सेलिङ प्रेसर देखिएको थियो। लक इन खुल्दाको समय ११०० को आसपासमा रहेको थियो। 

कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर ३०० रुपैयाँको दरले कुल ४१ लाख २० हजार कित्ता र आयोजना प्रभावितका लागि प्रतिसेयर २०० रुपैयाँको दरले ५ लाख ७९ हजार ६८० कित्ता आइपीओ निश्कासन गरेको थियो। 


प्रकाशित : बिहीबार , फागुन १८ २०७९०१:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend