आइतबार, वैशाख ३० गते २०८१    
images
images

किन सुस्तायो भाइरल तनहुँसुर? 

images
बिजनेस न्युज
images
images
किन सुस्तायो भाइरल तनहुँसुर? 

एक्कासी चर्चामा आएको तनहुँसुर यतिबेला भने सुनसान छ। तनहुँसुर मात्र नभई चर्चामा आउने पर्यटकीयस्थल मौसमी जस्तै भएको छ। सुरूमा ह्वात्तै चर्चा कमाउने र पछि सेलाउने गर्दा पर्यटकीयस्थलको प्रवर्द्धनमा टेवा पुग्न सकिरहेको छैन।

images
images

प्लेनबाट देखाइदेऊ तनहुँसुर 
मोटरैमा घुमाइदेऊ बन्दीपुर
ए कसम लाम माया छपक्कै

images
images
images

तनहुँका वरिष्ठ गायक प्रेमराजा महत र अञ्जु पन्तले गाएको यो गीतको टुक्का राखेर तनहुँसुरको भिडियो बनाउने युवायुवतीको सङ्ख्या ह्वात्तै बढ्यो। बीचमा चौतारा राखेर सडक कालोपत्र गरिएको दृश्यसँगै यो गीतको टुक्काले तनहुँसुर पुग्ने युवायुवतीको भीड बढ्यो। दैनिक सयौँको सङ्ख्यामा युवायुवती व्यास नगरपालिका-११ तनहुँसुर पुग्न थालेपछि तनहुँसुरको चर्चा शिखरमा पुगेको थियो। शनिबारको दिनमा त तनहुँसुरमा यति धेरै भीड हुन थाल्यो कि उक्त भाइरल चौताराको फोटो खिच्न पालो पर्खिनुपर्ने अवस्थासमेत आयो।

images

कालोपत्र सडकको बीचमा रहेको चौतारालाई स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण गरिएको छ। चौतारा संरक्षणका लागि व्यास नगरपालिका र स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण गरी व्यवस्थित बनाइएको छ।

images

एक्कासी चर्चामा आएको तनहुँसुर यतिबेला भने सुनसान छ। तनहुँसुर मात्र नभई चर्चामा आउने पर्यटकीयस्थल मौसमी जस्तै भएको छ। सुरूमा ह्वात्तै चर्चा कमाउने र पछि सेलाउने गर्दा पर्यटकीयस्थलको प्रवर्द्धनमा टेवा पुग्न सकिरहेको छैन।

images
images

व्यास नगरपालिका-११ स्थित नवआदर्श टोल विकास संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठ भन्छन्, ‘तनहुँसुरको चर्चा मौसमी जस्तो भयो, सुरुमा चर्चामा आयो। अहिले ह्वात्तै घट्यो। दीर्घकालसम्म तनहुँसुरको चर्चा कायमै राख्न सकेनौँ।’ सामाजिक सञ्जाल र सञ्चारमाध्यमको प्रभावका कारण चर्चित बन्दा तनहुँसुरमा एकोहोरो पर्यटकको ओइरो लागे पनि आजभोलि न्यून सङ्ख्यामा मात्रै सर्वसाधारण आउने गरेको उनले बताए। ‘पहिला दैनिकजसो मान्छेहरु हुन्थे, अहिले शनिबार र बिदाका दिनमा मात्रै फ्याट्टफुट्ट मान्छे हुन्छन्’, श्रेष्ठले भने, ‘तनहुँसुर मात्र नभई चर्चामा आएका पर्यटकीय गन्तव्यहरुको हालत पनि उस्तै छ।’

कालोपत्र सडक र चौताराका कारण तनहुँसुर चर्चित बनेपछि टोल विकास संस्थाकै सक्रियतामा दुईवटा चौतारा पुनःनिर्माण गरिएको छ। व्यास नगरपालिकाको चार लाख, चन्दा संकलनबाट चार लाख २० हजार गरी आठ लाख २० हजारको लागतमा चौतारा पुनः निर्माण गरिएको श्रेष्ठले बताए। ‘यहाँ थप पूर्वाधार बनाउन सकिएको भए एकपटक आएका मान्छे पुनः फर्किएर आउँथे होलान्, पूर्वाधार बनाउन सकिएन’, श्रेष्ठ भन्छन्, ‘तनहुँसुरको पर्यटनलाई सदैव चलायमान राख्नका लागि स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक छौँ।’

भाइरल चौतारा नजिक रहेको डाँडामा पार्क बनाउने लक्ष्य राखिएको छ। भाइरल चौतारा नजिकको डाँडामा थामे अधिकारीहरूको कूल पूजा गर्ने ठाउँ भएकाले जग्गा विवादमा काम हुन सकेन। अहिले उक्त जग्गाको विवाद समाधान भएको छ। ‘यस ठाउँमा दृश्यावलोकन केन्द्र बनाउने लक्ष्य राखेका छौँ, करोडौँको योजना भएकाले स्थानीय सरकारले स्वामित्व नलिएसम्म काम हुन सक्दैन’, श्रेष्ठले भने। पूर्वाधार अभावकै कारण तनहुँसुरको पर्यटन सुस्ताएको उनको भनाइ छ।

तनहुँसुर पुग्नका लागि व्यास नगरपालिका–११ रातमाटादेखि ढाँडखोलासम्म कालोपत्र भइसकेको छ। ढाँडखोलादेखि वडाको सीमाना सिम्पानीसम्म सडक कालोपत्रका लागि ‘टेन्डर’को तयारी भइरहेको छ।

तनहुँसुरको पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको वडाध्यक्ष दलबहादुर दुरा बताउँछन्। ‘संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ र बाँकी रहेको खण्डमा पनि कालोपत्रका लागि टेन्डर प्रक्रिया अगाडि बढेको छ’, दुराले भने।

भाइरल चौताराको डाँडामा पार्क निर्माणका लागि ‘लागत अनुमान’ तयार गरिएको र आगामी वर्षको बजेटमार्फत त्यसलाई सम्बोधन गरिने दुराले बताए। उनका अनुसार पुरानो धरमपानीमा रहेको ऐतिहासिक मन्दिरलाई जीर्णोद्धार गर्ने तयारी गरिएको छ। ‘तनहुँसुरको विकासका लागि स्थानीय सरकार लागि परेको छ, पर्यटकलाई यहाँसम्म आउने वातावरण निर्माण गरेर तनहुँसुरको पर्यटन प्रवर्द्धन गर्छौँ’, उनले भने। 

ऐतिहासिक ठाउँ तनहुँसुर

तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो। तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ। पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुईसय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुंगेसाँगु, फूलपाती ढुंगा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन्।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए। तनहुँसुरका बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भएबमोजिम राजा मुकुन्दसेनको मृत्युपछि तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए। भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ।

उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए। राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले ‘तनहुँ’ र भाइ धर्माङ्गद सेनले ल म जुङ्ग भनेकाले ‘लमजुङ’ नाम बन्न गएको किंवदन्ती रहेको छ। तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ।

तनहुँसुरसम्म पुग्नका लागि मोटरमार्गको अलवा पदमार्ग पनि छ। वडा कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पैदलमार्ग निर्माण गरेको छ। पदयात्रा गरेर पुग्नेहरूलाई तनहुँसुरमा दुईवटा घरबासको सुविधा छ।

तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई खाना तथा आवासको सहज व्यवस्थापन गर्ने उद्देश्यले भोरथोक र चण्दनीथोकका बासिन्दा मिलेर तनहुँसुर सामुदायिक घरबास सञ्चालित छ। कूल ४४ घरधुरीमध्ये आठ घरधुरीमा घरबास सञ्चालन गरिएको अध्यक्ष केवी थापाले जानकारी दिए। यहाँ ३० जनासम्मलाई बासको व्यवस्था मिलाउन सकिनेछ। मगर, नेवार दलितको बसोबास रहेको यहाँ मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका कृषि उपज उत्पादन हुने गर्दछ।

यस्तै पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका बासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरिएको छ। कुलल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरबास सञ्चालन गरिएको छ। उक्त घरबासमा ४० जना बास बस्न सक्ने अध्यक्ष पदमबहादुर थापाले जानकारी दिए। मगर, नेवार र दलितको बसोबास रहेको यहाँका घरबासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायतका परिकार खुवाइने घरबास सञ्चालक बताउँछन्। रासस 

images

प्रकाशित : मंगलबार, फागुन १६ २०७९१०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend