बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

अस्थिर राजनीतिले विश्वस्त छैनन् लगानीकर्ता, सेयर बजार उही बिन्दु वरपर

मंगलबार, फागुन १६ २०७९
अस्थिर राजनीतिले विश्वस्त छैनन् लगानीकर्ता, सेयर बजार उही बिन्दु वरपर

काठमाडौं- सेयर बजार निरन्तर उही बिन्दु वरपर देखिएको छ। साताको दोस्रो कारोबारमा ३.६५ अंकले घटेको सेयर बजार मंगलबार पनि माथि उक्लन सकेन। 

साताको पहिलो कारोबार दिन आइतबार ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा पुगेको सेयर बजारमा सोमबार सामान्य गिरावट देखिएको थियो। सोमबार ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा झरेको बजारमा मंगलबार पनि सुधार नआएको हाे। 

मंगलबार ३.८१ अंकले घटेर बजार २०१९‍.७३ बिन्दुमा पुगेको छ। ‍‍‍८८ कम्पनीको सेयर मूल्य बढ्दा एक अर्ब ३८ करोड ७८ लाख रूपैयाँको कारोबार भएको छ। बजारमा आज ११८ कम्पनीको सेयर मूल्य घटेको छ। 

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको बजारमा केही समय लगातार वृद्धि देखिएको थियो। तर वृद्धिपछि ठूला लगानीकर्ताको चलखेल हुँदा बजार पुनः उतारचढावमा पुग्यो। अर्थमन्त्री विष्णु पौडेल आउने निश्चित भएको गएको पुस ११ गते १९२४.०९ मा रहेको बजार उनी अर्थमन्त्री नहरने निश्चित भएको दिन सोमबार २०२३.५४ बिन्दुमा पुग्यो। समग्रमा उनको समयमा बजारमा ९९.४५ अंकको सुधार देखियो। 

पौडेल अर्थमन्त्री हुँदा पुँजी बजारलाई ध्यान दिने र नियमित छलफलमा रहँदै समस्या समाधानमा ध्यान दिने आश्वस्तताले सेयर बजार सकारात्मक हुँदै आएको पाइन्छ। नेकपा एमाले सरकारबाट हटेसँगै अर्थमन्त्री पौडेलले हिजाे राजीनामा बुझाइसकेका छन्।

एमाले सरकारबाट बाहिरिने संकेत देखिएसँगै निरन्तर ओरालो लागेको सेयर बजारमा अर्थमन्त्रीबाट पौडेलको बर्हिगमनसँगै पुनः निराशा छाएको छ। राजनीति स्थिरता नहुँदा पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend