काठमाडौं- शनिबारबाहेक सार्वजनिक बिदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्ने तयारी गर्दै मन्त्रिपरिषदको बैठकमा छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा धेरै भएको भन्ने विषयमा गुनासोहरू आइरहेकाले शनिबारबाहेक सार्वजनिक बिदाको दिन महत्वपूर्ण काम नरोक्नेबारे छलफल गरेको हो।
मन्त्रिपरिषद् बैठकले शनिबारबाहेक बिदाका दिनमा जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला राख्ने विषयमा छलफल गरेको हो।
सार्वजनिक रुपमा बिदा धेरै भएको आलोचनालाई कम गर्नका लागि बिदाका दिनमा पनि कार्यालय खुला राख्नेबारे छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।