बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

पीपलाडीका ६० प्रतिशत घरमा गोबर ग्यास प्लान्ट, दाउराको झन्झट हट्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ११ २०७९
images
images
पीपलाडीका ६० प्रतिशत घरमा गोबर ग्यास प्लान्ट, दाउराको झन्झट हट्दै

शुक्लाफाँटा नगरपालिकाका कुल १० हजार चार सय ५८ घरधुरीमध्ये दुई हजार ९१ घरमा गोबर ग्यास प्लान्ट जडान गरिएको छ।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका रेश्मी चौधरीलाई विगतको जस्तो दाउरा खोज्न बिहानीको झिसमिसेमै वन क्षेत्रमा जानुपर्ने झन्झट छैन। घरमा गोबर ग्यास प्लान्ट जडान भएपछि चौधरीले दाउराको झन्झटबाट मुक्ति पाएकी छन्।

images
images
images

पहिला जस्तो उनमा श्वासप्रश्वासको समस्या छैन। ‘दाउरा चुलोमा बाल्दा आउने धुवाँका कारण खोकी लाग्ने समस्या थियो’, उनले भनिन्, ‘हाल गोबर ग्यास प्लान्ट जडानसँगै खोकीको समस्याबाट छुटकारा पाइएको छ।’

गोबर ग्यास जडान भएपछि दाउरा ल्याउने समय उनले तरकारी खेतीका लागि छुट्याएकी छन्। उनले खेतमै लगाइएको तरकारी खेतीको गोडमेल गर्ने, बेर्ना रोप्ने, तरकारी बजारमा पुर्‍याएर बेच्ने कार्य गर्दै आएकी छन्।

images

‘गोबर ग्यासले जडानसँगै समयको बचत भयो, गोबर ग्यासबाट निस्कने ग्यासले खाना बनाउँछौँ, ट्यांकीबाट निस्कने गोबरको लेदोलाई खेतबारीमा हाल्ने गरेका छौँ’, उनले भनिन्, ‘यसले खेतबारीमा लगाएको तरकारी सप्रिएको छ, उत्पादन बढ्दो छ, तरकारी बिक्री गरेर घर खर्च सहजरुपमा चल्न थालेको छ।’

images

गोबर ग्यास प्लान्ट घरमा जडान भएसँगै उनीजस्तै सावित्री चौधरीको आम्दानी बढेको छ। ‘दाउराकै लागि वन क्षेत्रमा जानुपर्ने बाध्यता  थियो’, उनले भनिन्, ‘वन क्षेत्रमा वन रक्षाको आँखा छिचोल्दै दाउरा ल्याउनु पर्दथ्यो, घरमै गुइँठा तयार गर्नुपर्थ्यो, समय निकै लाग्दथ्यो, घरका महिलाले ती कार्य गर्न पुरै दिन खर्चिनुपर्थ्यो, अब त्यो विगत भइसक्यो, गोबर ग्यास जडानसँगै दाउरा र गुइँठाको समस्या हल भएको छ।’

घरमा पालिएका बस्तुभाउको गोबर गोबर ग्यास प्लान्टमा राखेपछि आउने ग्यास बालेर बिहानको नास्तादेखि दिउँसो र साँझको खाना पाक्ने गरेको उनले बताइन्। दाउरा ल्याउने समय हाल खेतबारीमा बिताउने गरेको उनको भनाइ छ। खेतबारीमा तरकारी उत्पादन गरी वर्षमा रु तीन लाखदेखि रु पाँच लाखसम्म उनले आम्दानी गर्दै आएकी छन्।

पीपलाडी गाउँका ६० प्रतिशत घरमा गोबर ग्यास प्लान्ट जडान गरिएको छ। गोबर ग्यास प्लान्ट निर्माणका लागि नगरपालिकाको ऊर्जा शाखाले विगत चार वर्षदेखि अनुदान उपलब्ध गराउँदै आएको छ। नगरपालिकको ऊर्जा शाखाका स्रोत व्यक्ति सुरेन्द्रदेव भट्टका अनुसार आव २०७५/७६ मा ३२, आव २०७६/७७ मा १६, आव २०७७/७८ मा १८ र आव २०७८/७९ मा १४ गरी ८० गोबर ग्यास प्लान्ट जडान गरिएका छन्।

आव २०७५/७६ मा गोबर ग्यास प्लान्ट जडानका लागि प्रतिप्लान्ट १४ हजार चार सयका दरले आव २०७६/७७ मा २८ हजारका दरले, आव २०७७/७८ मा रु ३० हजार रूपैयाँका दरले र आव २०७८/७९ मा २६ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ।

‘गोबर ग्यास प्लान्ट जडानसँगै शौचालय निर्माणका लागि अनुदान रकम उपलब्ध गराएका छौँ’, उनले भने, ‘नगरपालिकाले उपलब्ध गराएको रकमले पूरै प्लान्ट जडान गर्नका लागि नपुग्ने भएकाले केही रकम अनुदान प्राप्त गर्ने लाभग्राही र केही रकम निर्माण गर्ने कम्पनीले व्यहोर्ने गरी सम्झौता गरी गोबर ग्यास प्लान्ट निर्माणको काम भइरहेको छ।’

चालु आवका लागि गोबर ग्यास प्लान्ट जडानका लागि लाभग्राही छनोटको काम भइरहेको उनले जानकारी दिए। नगरपालिकाका कुल १० हजार चार सय ५८ घरधुरीमध्ये दुई हजार ९१ घरमा गोबर ग्यास प्लान्ट जडान गरिएको छ। कुल २० प्रतिशत घरघुरीले गोरग्यास प्लान्ट जडान गरेका छन्। अझै पनि ५० प्रतिशत घरमा परम्परागत ऊर्जामा आधारित चुलोको प्रयोग भइरहेको छ।

परम्परागत चुलो प्रयोग गर्नेले इन्धनका रुपमा दाउराका प्रयोग गर्दै आएका छन्। तीस प्रतिशत परिवारले एलपी ग्यास सिलिन्डरलाई खाना बनाउनका लागि प्रयोगमा ल्याएका छन्। नगर क्षेत्रमा बसोबास गर्ने केही परिवारलाई गोबर ग्यास प्लान्ट जडानकै लागि सामुदायिक वनले पनि अनुदान रकम उपलब्ध गराउँदै आएका छन्।

नगर उपप्रमुख कल्पना जोशी पन्तले नगरपालिकालाई आगामी पाँच वर्षभित्र घरघरमा धुवाँरहित चुल्हो र बायोग्यास प्लान्ट जडान गरी वातावरणमैत्री नगरपालिकाका रुपमा चिनाउन कार्यक्रम सञ्चालन गरिने बताइन्। ‘बायोग्यास तथा सौर्य बत्ती जडान गर्दा अतिविपन्न, एकल महिलासँगै सिमान्तकृत वर्गका लागि शतप्रतिशत अनुदानको व्यवस्था गर्छौं’, उनले भनिन्, ‘आवश्यक अनुदान रकमका लागि दातृ निकायसँग समन्वय गर्ने काम भइरहेको छ।’

उनका अनुसार गोबर ग्यास प्लान्ट जडानसँगै नगरपालिकाका-१ देखि १२ सम्मका बासिन्दालाई सुधारिएको र विद्युतीय चुल्हो वितरणको काम हुँदै आएको छ। चार वर्षको अवधिमा पाँच सय थान सुधारिएको फलामे चुल्हो, विद्युतीय इन्डक्सन एक सय २८ थान चुलो वितरणको गरिएको छ। नगरपालिकाका ४२ स्थानमा सौर्य बत्ती र सेन्सरयुक्त बत्ती जडानको काम गरिएको छ।

‘बायोग्यास खाना पकाउने स्वच्छ इन्धनका रुपमा रहेको छ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले भने, ‘गरिबी न्यूनीकरण गर्ने कामसँगै जलवायु परिवर्तनमा हुने प्रभाव कम गर्न यसले सघाउ हुन्छ, वनजङ्गल विनाश हुनबाट जोगाउँछ।’

परम्परागत ऊर्जाका स्रोतका रुपमा रहेका दाउरा, गुइँठाको प्रयोगले पर्यावरणीय प्रभाव मात्रै नभएर यसले गृहणीको स्वास्थ्य र समयलाई पनि नोक्सान पुर्‍याइरहेकाले परम्परागत ऊर्जालाई कम गर्दै लैजाने नीति नगरपालिकाले अघि सारेको उनले उल्लेख गरे। ‘समुदायमा नवीकरणीय ऊर्जासम्बन्धी जनचेतनाको कमीले गर्दा वैकल्पिक ऊर्जा प्रविधिको प्रयोगभन्दा परम्परागत तरिकाबाट ऊर्जाको प्रयोग गर्ने बढी छन्, त्यसलाई निरुत्साहित गर्न अनुदानका कार्यक्रमसँगै जनचेतनासम्बन्धी कार्यक्रममा जोड दिएका छौँ’, उनले भने। रासस


प्रकाशित : बिहीबार , फागुन ११ २०७९१०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend