बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एकदिनको वृद्धिपछि सेयर बजार पुन: ओरालोतिर, ४५ वटा लघुवित्त कम्पनीको मूल्यमा नकारात्मक सर्किट

बिहीबार , फागुन ११ २०७९
एकदिनको वृद्धिपछि सेयर बजार पुन: ओरालोतिर, ४५ वटा लघुवित्त कम्पनीको मूल्यमा नकारात्मक सर्किट

काठमाडौं- गएको साता ११२.३३ अंकले घटेको सेयर बजार यो साताको तीन कारोबारमा पनि एकदिन मात्र वृद्धिमा जाँदै दुई दिन घटेको छ। समग्रमा सातामा ४७.७७ अंकले बजारमा गिरावट देखियो।

यो साता पहिलो कारोबारमा सोमबार २३.६० अंकले घटेको बजार दोस्रो कारोबारमा बुधबार सुधारतर्फ बढेको थियो। बुधबार ३३.५७ अंकले बढेको बजार बिहीबार पुन: घटेको हो। 

साताको अन्तिम कारोबारमा बिहीबार बजार ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा झरेको छ। २ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको बजारमा १४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। 

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको लाभांशसहित ऋण विस्तारमा कडाइ गर्ने निर्णय गरेसँगै सेयर बजारमा प्रत्यक्ष असर देखिएको छ। अधिकांश लघुवित्त कम्पनीको सेयर मूल्य नकारात्मक देखिएको छ। छिमेक लघुवित्त, डिप्रोक्स लघुवित्त, समिट लघुवित्त, नयाँ सारथी लघुवित्त, स्वरोजगार लघुवित्त, कालिका लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, सुर्योदय ओमी लघुवित्तलगायत ४५ वटा लघुवित्त कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

अर्थमन्त्रीबाट विष्णु पौडेल हट्ने हल्लाको प्रभावसमेत बजारमा देखिन्छ। पौडेल अर्थमन्त्री हुँदा पुँजी बजारलाई ध्यान दिने र नियमित छलफलमा रहँदै समस्या समाधानमा लाग्ने आश्वस्तताले सेयर बजार सकारात्मक हुँदै आएको पाइन्छ।

सरकार साझेदार दलहरूमा फेरबदल हुनेगरी देखिएको राजनीतिक उतारचढावले पनि बजारलाई असर गरिरहेको विश्लेषकहरू बताउँछन्। राजनीतिक स्थिरतासँगै नीतिगत परिवर्तनले साथ दिनसके मात्रै बजारले सुधारको स्थायी बाटो समात्ने उनीहरू बताउँछन्।   


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend