बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

महाकाली सिँचाइ : अघि बढ्यो गोदावरीसम्म मूल नहर निर्माणको काम

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ११ २०७९
images
images
महाकाली सिँचाइ : अघि बढ्यो  गोदावरीसम्म मूल नहर निर्माणको काम

एक सय ५१ किलोमिटर मूल नहर निर्माण गरी कैलालीको मालाखेती र कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नर्वास नगरपालिकासम्म सिँचाइ पुग्नेगरी आयोजना अघि बढेको छ।

images
images

महेन्द्रनगर- कैलाली-कञ्चनपुरको ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित अघि बढेको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कामले गति लिएको छ।

images
images
images

महाकाली नदीको पानी कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित सरकारले राष्ट्रिय गौरवको आयोजनामा स्तरोन्नति गरेयता आयोजनाको कामले गति पाएको हो। एक सय ५१ किलोमिटर मूल नहर निर्माण गरी कैलालीको मालाखेती र कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नर्वास नगरपालिकासम्म सिँचाइ पुग्नेगरी आयोजना अघि बढेको छ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भू पण्डितले मूल नहर निर्माणको नयाँ ठेक्का आह्वान प्रक्रियामा रहेको बताए। ‘भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म साढे २८ किलोमिटर मूल नहर करिब-करिब निर्माण भइसक्यो’, इञ्जिनीयर पण्डितले भने, ‘अबको नयाँ ठेक्कामा २८ दशमलव आठ किलोमिटरदेखि ४८ दशमलव दुई किलोमिटर मूल नहर (गोदावरी खोलासम्म) लागत अनुमान स्वीकृत भएर बोलपत्र आह्वानको प्रक्रियामा छ।’  

images

उनले अब निर्माण हुने २० किलोमिटर मूल नहर निर्माण तीनदेखि पाँच प्याकेजमा टेन्डर आह्वान हुनसक्ने बताए। उक्त मूल नहर निर्माणका लागि साढे तीन अर्ब रूपैयाँ रकम खर्च हुनेछ। ‘मूल नहर निर्माणका क्रममा जग्गा अधिग्रहण गर्न नपर्ने भएकाले गुलरिया र मालाखेती सहरमाथि नै तेस्रो चरणको मूल नहर बनाउने गरी लागत अनुमान बनेको छ’, उनले भने।

images

उनले २८ किलोमिटर मूल नहर निर्माणको काम आगामी असारमा सम्पन्न भइसक्ने जानकारी दिए। ‘कोरोना कहर, मुआब्जा र वनका रुख कटानलगायतका विविध कारणले बीचको केही समय काम प्रभावित भयो’, उनले भने। अहिले दुई प्याकेजमा करिब ४८ किलोमिटर शाखा नहरको कामसमेत सुरु भइसकेको आयोजना कार्यालयले जनाएको छ।

आयोजनाले दिएको जानकारीअनुसार यहाँ सिँचाइ मूल नहरको एक किलोमिटरदेखि १४ किलोमिटरसम्म एउटा र १४ देखि २२ किलोमिटर मूल नहरको शाखा नहर निर्माणका लागि ठेक्का भएर काम सुरु हुँदैछ।

‘शाखा नहरको पहिलो प्याकेज ५४ करोड र दोस्रो प्याकेज ५३ करोड रूपैयाँमा ठेक्का सम्झौता भएर काम अघि बढिसकेको अवस्था छ’, इञ्जिनीयर पण्डितले भने, ‘४८ किलोमिटर शाखा नहर निर्माण दुई वर्षभित्र पूरा गर्ने समयसीमा दिइएको छ।’

गत असारको दोस्रो साता महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत बनेको मूल नहरमा पानी परीक्षण गरिए पनि नहरमा नियमित पाउने विषय टुंगोमा अझै अन्योल छ। गत असार १५ गतेको दिन धान दिवसका अवसरमा भारतीय पक्षले मूल नहरमा पानी छाडे पनि लगत्तै नहर उद्घाटनपछि मात्रै नियमित पानी दिने बताए पनि दुई देशबीचको विषय भएकाले टुंगोमा पुग्न नसकेको आयोजना कार्यालयको भनाइ छ।

‘विभिन्न भ्रमणका क्रममा र सिँचाइ विभागमा पानी नियमित पाउनुपर्ने विषय सम्झाइरहेका हुन्छौँ’, पण्डितले भने, ‘यो माथिल्लो तहबाटै समाधान खोजिनुपर्ने विषय पनि हो।’

विसं २०६४ देखि सुरु भएको आयोजना २०७५ सालमा आइपुग्दा १२ किमी मात्र मूल नहर बनाउन सकिएको थियो। पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा समेत स्तरोन्नति भएपछि आयोजनाको कामले गति लिएको इञ्जिनीयर पण्डितको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०८:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend