शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

अर्धवार्षिक समीक्षा : व्यापार घाटा ८ खर्ब २५ अर्ब

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १० २०७९
images
images
अर्धवार्षिक समीक्षा : व्यापार घाटा ८ खर्ब २५ अर्ब

यो अवधिमा नेपालले गरेको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा ९ दशमलव २३ प्रतिशत छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कुल व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कुल १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ।

images
images
images

यसमध्ये ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा ९३ अर्ब ४३ करोड २३ लाख बराबरको मात्रै निर्यात भएको देखिएको हो। यो अवधिमा नेपालले गरेको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा ९ दशमलव २३ प्रतिशत छ।

images

गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख बराबर भन्सार राजस्व उठेको विभागको तथ्याङ्कबाट देखिन्छ। गत आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले गरेको कुल वैदेशिक व्यापारको तुलनामा यसवर्षको सोही अवधिमा गरेको व्यापार २० दशमलव ८४ प्रतिशतले घटेको छ।

images

त्यस्तै गतवर्षको तुलनामा आयात १९ दशमलव ९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ। नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो।

माघ मसान्तसम्ममा नेपालले भारतबाट पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाख बराबरको सामान आयात गरेको छ। यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने ६६ अर्ब २२ करोड ६५ लाख बराबर मात्रै छ। छ महिना अवधिमा चीनबाट एक खर्ब २५ अर्ब पाँच करोड २४ लाख बराबरको आयात गरेको छ भने ४२ करोड २६ लाख बराबरको मात्रै निर्यात गरेको छ।

यो अवधिमा नेपालले वैदेशिक व्यापार गरेको तेस्रो ठूलो मुलुक इन्डोनेसिया हो। इन्डोनेसियाबाट ५७ अर्ब ९ करोड ६९ लाख बराबरको आयात हुँदा १० करोड ३६ लाख बराबर मात्रै निर्यात भएको छ।

त्यस्तै, संयुक्त अरब इमिरेट्सबाट २० अर्ब २६ करोड २५ लाख बराबरको सामान आयात हुँदा २५ करोड ८९ लाख बराबरको निर्यात भएको छ। 

अर्जेन्टिनासँग १८ अर्ब ५६ करोड ६० बराबरको आयात र १० लाख २० हजार बराबरक निर्यात कारोबार भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ। विभागका अनुसार छ महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख बराबरको डिजेल, ३८ अर्ब ७३ करोड ३३ लाख बराबरको पेट्रोल र ३३ अर्ब ३४ करोड बराबरको एलपी ग्यास आयात भएको छ। यही अवधिमा नेपालले २६ अर्ब ४२ करोड ४२ लाख बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ।

त्यसैगरी, २३ अर्ब ६६ करोड बराबरको फलाम, १८ अर्ब ४५ करोड ३५ लाख बराबरका सुनजन्य वस्तु, १७ अर्ब ७६ करोड बराबरको अप्रशोधित पाम आयल र १४ अर्ब ७६ करोड ८३ लाख बराबरको स्मार्टफोन आयात भएको देखिन्छ।
     
छ महिना अवधिमा नेपालबाट सबैभन्दा धेरै पाम आयल निर्यात भएको छ। यो अवधिमा १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको देखिएको हो। त्यस्तै, सोयाबिन तेल आठ अर्ब २७ करोड ७५ लाख बराबरको निर्यात भएको छ। विभागका अनुसार चार अर्ब ८९ करोड ७३ बराबरको अलैँची र दुई अर्ब ५८ करोड ३४ लाख बराबरको चिया निर्यात भएको छ।

वैदेशिक व्यापार गर्ने सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सार हो। वीरगञ्ज भन्सारबाट छ महिना अवधिमा तीन अर्ब ४३ करोड ६३ लाख ४३ हजार बराबरको सामान आयात भएको छ भने २३ अर्ब २८ करोड ४० लाख बराबरको निर्यात भएको छ। नेपालले यो अवधिमा गरेको कुल वैदेशिक व्यापारमा वीरगञ्जबाट मात्र ३७ दशमलव ३९ प्रतिशत आयात भएको छ भने कुल निर्यातको २४ दशमलव ९२ प्रतिशत हिस्सा रहेको छ।

त्यस्तै, भैरहवा भन्सारबाट एक खर्ब ३० अर्ब ५३ करोड ९३ लाख बराबरको आयात र पाँच अर्ब ४२ करोड ७० लाख बराबर निर्यात भएको छ। विराटनगर भन्सारबाट एक अर्ब ६ करोड ९० लाख १९ हजार बराबरको आयात हुँदा २५ अर्ब ५३ करोड ८० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ। रासस


प्रकाशित : बुधबार, फागुन १० २०७९०८:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend