बिहीबार , चैत १५ गते २०८०    
images
images

एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती

images
images
एयरलाइन्स कम्पनी वित्तीय संकटतर्फ, उडान सुरक्षामा थपिँदै चुनौती

 प्राधिकरणले  खासै काम गरेको छैन। एयरलाइन्सको आर्थिक अवस्था उडान सुरक्षासँग जोडिने भएपनि अहिलेसम्म अनुगमन गर्ने गरिएको छैन। 

images
images

काठमाडौं- पछिल्लो एक सातादेखि गुण एयरलाइको उडान ठप्प भएको छ। आर्थिक भार थेग्न नसकेर पर्याप्त पाइलट नियुक्त गर्न नसक्दा गुणको उडान कहिले खुल्ने यकिन छैन। 

images
images
images

एयरलाइन्सले तालिमका कारणले गर्दा उडान बन्द गर्नुपरेको बताए पनि यो विषय आर्थिक संकटसँग जोडिएको छ। कुनै पनि एयरलाइन्सले तालिमकै कारणले नियमित उडान बन्द गर्ने भनेकै आवश्यक र पर्याप्त आम्दानी नहुनु हो। 

images

नेपाली आकाशमा उडानमा रहेका एयरलाइन्सहरू आर्थिक संकटमा पर्ने सामान्यजस्तै भइसकेको छ। सरकारलाई मात्र होइन, कर्मचारीलाई समेत तलब भुक्तान नगरी बन्द भएका कतिपय एयरलाइन्सका सञ्‍चालकहरू अहिले सम्पर्कमा छैनन्। कतिपय भने अन्य पेसा-व्यवसायमा अहिले पनि सक्रीय छन्। विमानस्थल तथा सरकारलाई पैसा नदिएका यस्ता एयरलाइन्स आर्थिक संकटको घोषणा गरेर बन्द भएका होइनन्। उनीहरू आर्थिक रूपमा कंगाल भएर सेवा सञ्चालन गर्नै नसक्ने अवस्था आएपछि गुपचुप बाहिरिएका थिए। 

images
images

सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुग्दासम्म आर्थिक रूपमा धेरै कमजोर भइसकेका हुन्छन् कम्पनी। तर पनि कतिपय एयरलाइन्सले जसोतसो उडान गरिरहेकै हुन्छन्। अन्तिममा दायित्व बढ्दै तथा आम्दानी घट्दै गएपछि कम्पनी बन्द हुन्छन्।

आन्तरिक उडानमा रहेका अधिकांश एयरलाइन्स अहिले आर्थिक संटकमा परेका छन्। एयरलाइन्स कम्पनीहरूले यस्तो कुरा बाहिर नभनेपनि उनीहरूले गर्ने उडान तथा गतिविधिले संकट प्रष्ट पारेको छ। 

श्री एयरलाइन्ससँग सातवटा जहाज छन्। श्रीसँग सीआरजे (जेट इन्जिन) चारवटा र बम्बार्डियरकै क्वू ४०० जहाज तीनवटा छ। सातवटा जहाज रहेको श्रीले लामो समयदेखि चारवटा मात्रै जहाज उडाइरहेको छ। श्रीले ३ बम्बार्डियरकै क्वू ४०० जहाज र एउटा ५० सिट क्षमताको जेट इन्जिन जहाज मात्रै उडान गरिरहेको छ। तीनवटा जेट इन्जिन जहाज लामो समयदेखि उडान गरेको छैन। 

आम्दानीको तुलनामा खर्च धेरै भएका कारणले जेट इन्जिन जहाज अहिले तीनवटा थन्किएको एयरलाइन्सले जानकारी दिएको छ। एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जेट इन्जिन जहाजको खर्च बढी भएको कारण उडान नभएको बताए। '५० सिट क्षमताको सीआरजे एउटा जहाज उडान भइरहेको छ,' उलने भने, ' ७० सिट क्षमताको एउटा सीआरजे जहाज अबको केही दिनमा उडान हुन्छ।'

दुईवर्षसम्म कोभिडका कारण र अहिले इन्धनको मूल्य महँगो हुँदा जेट इन्जिन जहाज उडानमा समस्या रहेको उनको भनाइ छ। विश्वमा नै उड्डयन व्यवसायमा मन्दी आएको र यसको असर नेपालमा समेत परेको उनको भनाइ छ। तर वित्तीय संकटकै कारण जहाज उडान नरोकिएको उनको दाबी छ। एयरलाइन्सको व्यवसायमा केही असहजता भएपनि कर्मचारीलाई तलब दिनै नसक्ने अवस्था भने नआएको उनको भनाइ छ। 

सौर्य एयरलाइन्ससँग पनि तीनवटा जेट इन्जिन जहाज छ। तर एयरलाइन्सले दुईवटा मात्रै जहाज उडान गरिरहेको छ। एउटा जहाज लामो समयदेखि ग्राउन्डेड नै छ। ग्राउन्डेड जहाजको कतिपय पार्टपुर्जासमेत झिकेर अन्य उडान भएको जहाजमा प्रयोग गरेको छ।  

जेट इन्जिन जहाजको खर्च बढी भएपनि सौर्यले जहाज उडान गरिरहेको र कुनै पनि आर्थिक संकट नभएको एयरलाइन्सका प्रवक्ता मुकेश खनाल बताउँछन्। तर सौर्य एयरलाइन्सले विमानस्थल बक्यौता भुक्तानी नगरेकै कारण २०७५ सालमा उडान नै बन्द भएको थियो। त्यसपछि लामो समय उडान बन्द भएको एयरलाइन्सले विदेशी लगानी कर्ता भित्र्याएर कोभिड महामारी केही मत्थर भएपछि २०७७ असोजतिरबाट मात्रै उडान गरेको थियो। 

समग्र आर्थिक अवस्थाको असर एयरलाइन्सको व्यापारमा पर्नसक्ने सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यको भनाइ छ। एयरलाइन्सको आर्थिक अवस्थामा कोभिडले पारेको असर अझै सामान्यीकरण नभएको उनको भनाइ छ। 

तर जहाजको उपयोगिताका सन्दर्भमा भने रुटअनुसार फरक हुने उनको भनाइ छ। 

'जहाजको उपयोगिता योजना आफ्नै हुन्छन्। सिजन बिजनेस हुने स्टल रुटका जहाजको योजना फरक हुन्छ। हामीले सिजनमा अधिकतम उपयोगिता गर्छौं अफसिजनमा न्यून हुन्छ' उनले भने,'ट्रंक रुटको बिजनेस प्लान मेरो अनुभव छैन।'

पछिल्लो समय उडान बन्द गरेको गुणसँग सातवटा जहाज छन्। सातवटा जहाज भएपनि गुणले एकै पटकमा तीनवटाभन्दा बढी जहाज उडान गर्न सकेको छैन। एयरलाइन्सले अहिले पाइलटको तालिम एकै पटकमा पर्दा र जहाजको मर्मतका लागि पार्टपुर्जा आउन ढिला हुँदा उडानसमेत रोकिएको एयरलाइन्सका प्रवक्ता प्रज्ज्वल थापा बताउँछन्।

अहिले धेरै एयरलाइन्सले जहाज थन्क्याएर राखेका छन्। बजारमा माग नै नभएका कारणले जहाज थन्किएका भने पक्कै पनि होइनन्। अहिले बजारमा माग पर्याप्त रहेपनि केही एयरलाइन्सले भएकै जहाजको उपयोगिता बढाउन नसकेको नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका अधिकारीहरू बताउँछन्। 

'केही एयरलाइन्सले भएका जहाजमात्र होइन थप विस्तार पनि गरिरहेका छन्। तर केही एयरलाइन्स अझै मन्दी(मागमा कमी)का कारणले उडान घटाइएको बताउँछन्। यो कुरा त कतै पनि मिल्दैन' विमानस्थल कार्यालयका एक अधिकारीले भने। 

अर्बौं रुपैयाँ लगानी गरेर खरिद गरिएका जहाज नउडाउँदा एयरलाइन्स कम्पनी नाफामा जान नसक्ने एक एयरलाइन्स कम्पनीमा सञ्चालक बताउँछन्। बजार नै नभएका एयरलाइन्स कम्पनीले पनि प्रतिस्पर्धामा जहाज खरिद गर्दा पनि समस्या आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले बताए।

अहिले नेपालको टंकरुटमा उडान एकाधबाहके सबै एयरलाइन्सको उडान क्षमतालाई हेर्दा एयरलाइन्स कम्पनी आर्थिक रुपमा सहजता नभएको प्राधिकरणका कर्मचारीको भनाइ छ। एयरलाइन्स कम्पनीहरू कुनै न कुनै रुपले आर्थिक दबाबमा छन्। कतिपय कम्पनीहरू कर्मचारीको नियमित वृत्तिविकास गर्नसक्ने अवस्थामा अझै पुगेका छैनन्। 

कुनै पनि एयरलाइन्सको आर्थिक स्वास्थ्य उडान सुरक्षासँग जोडिन्छ। कुनै पनि एयरलाइन्सको आर्थिक अवस्था खस्किँदै गयो भने पहिलो असर नै उडान सुरक्षामा पर्नसक्ने एयरलाइन्स सञ्चालकहरू बताउँछन्। 

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत आर्थिक अवस्था राम्रोसँग व्यवस्थापन र सञ्चालन हुनुपर्ने बताउँछन्। 

'एयरलाइन्स कम्पनीसँग पर्याप्त कोष नहुनेवित्तिकै मर्मतसम्भारमा असर गर्छ। आवश्यक र खुलेर गर्नुपर्ने मर्मतमा सम्झौता हुनसक्छ। पाटपुर्जा र मर्मतसम्भार भनेको ठूलो लागत लाग्ने क्षेत्र हो। यसमा कुनै पनि असर पर्न हुँदैन। त्यसपछि अर्को असर भनेको तालिम हो। पाइलट तथा प्राविधिकहरूलाई एकवर्षमै दुईपटक तालिम दिनुपर्छ। लगानी नहुँदा पनि यो प्रभावित हुनसक्छ। अर्को कुरा भनेको प्रोत्साहन हो। जुन तलबको माध्यमबाट दिइन्छ। उत्प्रेरित मान्छेहरूबाट मात्र नियमअनुसार काम हुनसक्छ। यी सबै काम लगानी अभावमा प्रभावित हुने विषय हुन्' बस्नेतले भने। 

हवाई सुरक्षासँग जोडिएको एयरलाइन्स कम्पनीको आर्थिक अवस्था नियामकले निगरानी गर्नुपर्ने भए पनि कानूनी व्यवस्था तथा प्रचलन अभावमा अहिलेसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले खासै काम गरेको छैन। एयरलाइन्सको आर्थिक अवस्था उडान सुरक्षासँग जोडिने भएपनि अहिलेसम्म अनुगमन गर्ने गरिएको छैन। 

आर्थिक अवस्था सुरक्षासँग जोडिने भए पनि हालसम्म प्राधिकरणले कमजोर आर्थिक अवस्था भएको एयरलाइन्सलाई देखिनेगरी सचेत गराएको छैन। सञ्चालनमै भएका एयरलाइन्सले गएको सेवा बन्द गर्छन् र फेरि खोल्छन् किन बन्द भयो र कसरी खोलियो भन्ने प्रश्न नै प्राधिकरणले सोध्दैन।

पाइलट र कर्मचारीलाई तलब नदिएपछि गुण एयरलाइन्सका सबै जहाज ग्राउन्डेड पाइलट र कर्मचारीलाई तलब नदिएपछि गुण एयरलाइन्सका सबै जहाज ग्राउन्डेड

images

प्रकाशित : सोमबार, फागुन ८ २०७९०६:३६

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ