गलेश्वर- सिरानमा ऐतिहासिक ज्यामरुककोट, पुधारमा सात्लेपानीको भिर। भिरको बीच हुँदै भकुण्डे उक्लने र बगरफाँट, खबरा झर्ने पुरानो बाटा छ। बाटोको दायाँतर्फ करिब पाँच सय वर्ष पुरानो एउटा कुवा छ। त्यो कुवालाई स्थानीयले सात्लेपानीको राजकुवा भन्दछन्।
म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको भकुण्डे नजिकै सात्लेपानीको जंगलमा देखिने यो कुवा पाँच सय वर्ष पुरानो ऐतिहासिक पर्वत राज्यको अमूल्य सम्पदा हो। यही कुवाको पानी खाएर तत्कालीन पर्वतका राजा मलेवम मल्लका भाइ भर्तिवम मल्लले ज्यामरुकोटमा राज्य चलाएका थिए।
जनतालाई यही कुवाको पानी खुवाएर बचाएका इतिहासमा उल्लेख छ। तर, पछिल्लो समय राजकुवा मात्रै होइन ग्रामीण क्षेत्रका यस्ता प्राचीन सम्पदा धमाधम नासिँदै गएका छन्। कुवा र पँधेरा सुकेका छन् भने पुराना बाटा पुरिएका छन्।
सोह्रौँ शताब्दीको अन्त्यतिर तत्कालीन पर्वत राज्यअन्तर्गतको ज्यामरुककोट राज्यका राजा भर्तिवम मल्लले पानी खाने गरेको सो राजकुवा अहिले जीर्ण अवस्थामा छ।
ऐतिहासिक, सामरिक, पुरातात्विक, जैविक, धार्मिक र प्राकृतिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएका राजकुवालगायत तत्कालीन समयका ऐतिहासिक सम्पदा नष्ट हुँदै गएका छन्।
यहाँ तत्कालीन समयमा युद्धका लागि प्रयोग गरिएका खुँडा, खुकुरी, तरबार, भाला, ढाल, छेलोलगायत हातहतियारका साथै पुरातात्विक महत्वका इँटा, इनार, मौलो, दियोलगायत सामग्री राखिएका छन्। पत्थरबाट निस्किएका चिसापानीका थोपा संकलन हुने कुवा देखिन छोडेका भकुण्डैचौरस्थित अर्जुन मावि व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताए।
'थोपा-थोपा चुहिएको चिसो पानीले उकालो चढ्दै गरेका, खेल्दै विद्यालय जाने विद्यार्थीको प्यास मेटाउँथ्यो। तर अहिले आधुनिकतासँगै खानेपानी विस्तारमा आएका नयाँ-नयाँ प्रविधिले कुवालाई विस्थापन गरिदिएका छन्', उनले भने ।
त्यो बेला यातायातको सुविधा थिएन। कहीँकतै जानुपर्दा सर्वसाधारण घण्टौँ उकालीओराली यात्रा गर्दथे। गाउँमा फाटफुट हुने पसलका लागि सामग्री भरियाले बोकेर लैजान्थे। जङ्गलदेखि साँघुरा बाटामा जोखिम मोलेर यात्रा हुन्थ्यो। पानीको प्यास मेटाउन अहिले जस्तो ‘तुमलेट’ बोकेर हिँड्ने चलन थिएन। घण्टौँको यात्रा, पिठ्यूँमा गह्रौँ भारी अनि गर्मी । त्यो कष्टलाई कम गराउने एउटा उपाय थियो ‘कुवाको पानी’।
'अहिलेका जस्ता धारा त्यो बेलामा कहाँको हुनु ? धर्मकर्म गर्नेले, गाउँलेले बाटा बाटामा चौतारा बनाइदिएका हुन्थे। चौताराका छेउमा कुवा पनि हुन्थे। बाटो हिँड्दा थकाइ लाग्थ्यो, तिर्खा लाग्थ्यो। त्यही कुवाको पानीले शीतल बनाउँथ्यो', बेनीनगरपालिका-२ का ८४ वर्षीय रणबहादुर कार्कीले भने, 'अहिले त घरघरमा सिमेन्टले बनाएका धारा आए। हामी हिँडेका बाटामा अहिलेका कोही हिँड्दैनन्। जहाँ जान परे नि साधनमा हिँड्छन्। न पुराना कुवा छन्, न त पुराना बाटा नै।'
आधुनिकतासँगै पुराना कला, संस्कृति, परम्परा र सामग्री लोप हुँदै गएको पाका पुस्ताको भनाइ छ। आधुनिकताका नाममा परम्परागत वस्तुलाई चटक्कै छाड्दा मौलिकता लोप भएर जाने उनीहरूको चिन्ता छ। पुराना कुवा, इनारलगायतलाई संरक्षण गरेर तिनै कुवाबाट धारामा पानीको आपूर्ति गनुपर्ने उनीहरु बताउँछन्। कुवा भत्काएर पानीका स्रोतलाई आधुनिक बनाउँदा प्राकृतिक मूल नै सुक्ने जोखिम छ।
भू तथा जलाधार व्यवस्थापन विज्ञ दिवाकार पौडेलका अनुसार पानीका कुवा, पोखरी, इनारलगायत स्रोत नाश हुँदै जाँदा विकासभन्दा विनाश बढेकाले भविष्यमा पानीको ठूलो संकट आउन सक्ने देखिएको छ।
'विकासका नाममा पानीका मुहान नजिकै डोजर लगाउँदा पानी आउने ट्र्याक नै बिथोलिएका छन्, पानीको सञ्चिति बढाउन सकिएन भने भविष्यमा गम्भीर संकट निम्तिन सक्छ', उनले भने।
मानिसलाई सुविधा दिने नाममा वनजङ्गलमा रहेका पानीका स्रोत पूरै ढाक्ने र मुहानमा नै पाइप जोडेर बस्तीमा पानी झार्दा जङ्गली जनावर र चराचुरुंगीनै लोप हुने अवस्था आएको उनको भनाइ छ । जंगलमा तिर्खा मेटाउन नपाउँदा जंगली जनावर बस्तीमा आउने र मानवलाई आक्रमण गर्ने गरेको पौडेलले बताए।
सरंक्षणको अभावमा लोप हुदैँ गएका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणका लागि सरकारी तहबाट कुनै पहल नभएपछि स्थानीयवासी नै सक्रिय हुनुपर्ने वन डिभिजन कार्यालय म्याग्दीका निमित्त प्रमुख चन्द्रमणि सापकोटाले बताए।
ज्यामरुककोटको डाँडामा रहेको आफ्नो दरबार नजिकैको कुवापहिराले पुरेपछि सात्लेपानीमा कुवा बनाएका स्थानीय बूढापाकाको भनाइ छ। तत्कालीन समयमा ज्यामरुकोट राज्यमा पानीको मुहान सुक्दै गएपछि राज्यमा पानीको अभावले मान्छे र पशुचौपाया मरणासन्न अवस्थामा पुगेकाले राजा भर्तिवम मल्लले आफ्ना दरबारियालाई पानी खोज्न लगाउने सात्लेपानीमा पानीको मुहान भेटाएपछि कुवा खन्न लगाएको भन्ने इतिहास छ। रासस