आइतबार, वैशाख ३० गते २०८१    
images
images

संकटमा रहेको टर्कीको अर्थतन्त्रमा भूकम्पका कारण १ सय ११ खर्ब रुपैयाँ बराबरको क्षति

images
बिजनेस न्युज
images
images
संकटमा रहेको टर्कीको अर्थतन्त्रमा भूकम्पका कारण १ सय ११ खर्ब रुपैयाँ बराबरको क्षति

भूकम्पका कारण टर्कीको १० प्रदेशका १ करोड ३४ लाख जनता प्रभावित भएका छन्। त्यो त्यहाँको कुल जनसंख्याको १५ प्रतिशत हो र त्यस क्षेत्रले जीडीपीको १० प्रतिशत उत्पादन गर्छ।

images
images

अंकारा- भूकम्पका कारण टर्कीको अर्थतन्त्रमा ८४ अर्ब अमेरिकी डलर अर्थात् १ सय ११ खर्ब रुपैयाँ बराबर क्षति भएको अनुमान गरिएको छ। टर्किस इन्टरप्राइज एन्ड बिजनेस कन्फेडेरेशनले गरेको एक अध्ययनले यस्तो देखाएको हो।

images
images
images

टर्की सरकारले भने ५० अर्ब डलर अर्थात् ६६ खर्ब रुपैयाँभन्दा बढी हुने अनुमान सार्वजनिक गरेको थियो।

images

टर्की र सिरियामा गत ६ फेब्रुअरीमा गएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पका कारण हालसम्म ४२ हजारको ज्यान गइसकेको छ। त्यसमध्ये ३६ हजार १ सय ८७ जनाको टर्कीमा निधन भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। त्यस्तै सिरियामा ५ हजार ८ सयको मृत्यु भइसकेको सिरियन सरकार तथा संयुक्त राष्ट्रसंघले जनाएका छन्। 

images

कन्फेडेरेशनले जनाएअनुसार भूकम्पका कारण क्षतिग्रस्त हजारौँ घरको पुनर्निर्माणमा ७० अर्ब ८० करोड डलर खर्च हुनेछ भने १० अर्ब ४० करोड डलर राष्ट्रिय आयमा क्षति पुग्नेछ। त्यस्तै २ अर्ब ९० करोड डलर कार्यदिनमा भएको क्षतिका कारण घाटा पर्नेछ। 

images
images

उता युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट (इबिआरडी) ले भूकम्पका कारण सन् २०२३ मा टर्कीको कुल गार्हस्थ उत्पादनको एक प्रतिशत क्षति हुने प्रतिवेदन सार्वजनिक गरेको रोयटर्सले जनाएको छ। यो भनेको करिब १० अर्ब अमेरिकी डलर बराबर हो। टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले मुलुकले एक वर्षभित्र पुनर्निर्माणको काम सक्ने र त्यसका लागि ‘देशलाई पुन उभ्याउने’ कार्यक्रमको तयारी भइरहेको बताएका छन्।

भूकम्पका कारण देशका १० प्रदेशका १ करोड ३४ लाख जनता प्रभावित भएका छन्। त्यो टर्कीको कुल जनसंख्याको १५ प्रतिशत हो र त्यस क्षेत्रले जीडीपीको १० प्रतिशत उत्पादन गर्छ।

यसअघि सन् १९९९ मा उत्तरपश्चिम क्षेत्रमा गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पले १७ हजारको ज्यान लिएको थियो भने ५१ अर्ब अमेरिकी डलर आर्थिक क्षति भएको थियो। त्यसबेलाको भूकम्पपछि टर्कीको अर्थतन्त्रमा यति ठूलो क्षति कहिल्यै नभएको अन्तर्राष्ट्रिय मुद्राकोषको कार्यकारी निर्देशक महमुद मोहिल्दिनले बताए। यो वर्ष टर्कीको आर्थिक वृद्धि २ प्रतिशत विन्दुसम्मले कम हुने अनुमान अर्थशास्त्री तथा अधिकारीहरुले गरेका छन्।

सरकारले यो वर्षको आर्थिक वृद्धि साढे ५ प्रतिशत हुने भूकम्पअघि नै प्रक्षेपण गरे पनि विनाशका कारण त्यो ३ प्रतिशतमा खुम्चने इबिआरडीले जनाएको छ। 

यो वर्षको बर्खामा टर्कीमा राष्ट्रपतीय तथा संसदीय निर्वाचन हुँदैछ। दुई दशकदेखि शक्तिमा रहेका एर्दोआनलाई यसपटकको सत्तायात्रा सबैभन्दा चुनौतीपूर्ण बन्ने देखिएको छ। सरकारले भूकम्पप्रभावित १० प्रदेशमा संकटकाल घोषणा गरेको छ भने त्यहाँको केन्द्रीय बैंकले केही ऋणको अशुलीलाई पछि सारेको छ। जुलाइसम्मका लागि कर अशुली पनि स्थगित गरिएको छ।

विश्वबैंकले पनि टर्की र सिरियाको पुनर्निर्माणमा अर्बौं डलर लाग्ने अनुमान विश्वबैंकका मध्यपूर्व र उत्तरी अफ्रिका उपाध्यक्ष फेरिद बेल्हाजले गरेका छन्। विश्व बैंकले टर्कीलाई १ अर्ब ८० करोड डलर सहयोगको घोषणा गरिसकेको छ।

टर्की अहिले पनि विदेशी मुद्राको समस्यामा छ। सन् २०२२ को मध्यसम्म यो मुलुक भुक्तानी सन्तुलनको संकटको सँघारमा थियो। त्यो भनेको टर्कीले विदेशी मुद्रामा लिएको ऋण तिर्न नसक्ने र आयातित वस्तुका लागि विदेशी मुद्रा खर्च गर्न नसक्ने अवस्था आउने सम्भावना थियो। टर्की लामो समयदेखि चरम मूल्यवृद्धिको समस्या सामना गरिरहेको छ। तर त्यो वर्षको अन्त्यमा आर्थिक अवस्थामा केही सुधार भएको थियो। तर फेब्रुअरी ६ मा आएको भूकम्पले अर्थतन्त्रलाई कता लैजाने हो टुंगो छैन।

सिरियामा राहत नै पुग्न कठिन

सिरियामा भने युद्धग्रस्त उत्तरी क्षेत्र भूकम्पबाट प्रभावित भएको छ। यो क्षेत्रमा मूलतः विद्रोही समूहको नियन्त्रण छ। नाकाबन्दी तथा बहिस्करणमा परेको सिरियामा भने नाटोको सदस्य टर्कीको तुलनामा अत्यन्तै कम मानवीय सहायता गएको छ।

सिरियाका राष्ट्रपति बसर अल असदले भूकम्पको दुई दिनपछि मात्रै युरोपेली संघसँग सहायता मागेका थिए। संयुक्त राष्ट्रसंघको पहिलो सहायता प्याकेज भूकम्पको तीन दिनपछि ९ फेब्रुअरीमा मात्रै सिरिया पुगेको थियो।

अमेरिकाले सिरियामाथि लगाउँदै आएको नाकाबन्दी १८० दिनका लागि फकुवा गरेको छ। हालसम्म पनि भूकम्पका कारण सिरियामा भएको आर्थिक क्षतिको मूल्यांकन भएको छैन। ‘सिरियाका नागरिक १०–१५ वर्षदेखि अत्यन्तै ठूलो त्रासदीमा बसिरहेका छन्। भूकम्पले अर्को त्रासदी ल्याएको छ। त्यसो हुँदा टर्की र सिरिया दुवैप्रति विश्वव्यापी ऐक्यबद्धता हुनु जरुरी छ’, उपाध्यक्ष फेरिद बेल्हाजले भने।

images

प्रकाशित : बिहीबार , फागुन ४ २०७९१२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend