बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

२२ वर्षदेखि बगरको कर तिर्दै बगरफाँटवासी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ४ २०७९
images
images
२२ वर्षदेखि बगरको कर तिर्दै बगरफाँटवासी

विसं २०५७ मा म्याग्दी नदीमा आएको भीषण बाढीले जो जग्गा बगाएको थियो। त्यसयताका २१ वर्षसम्म जग्गाधनीले नियमितरुपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ।

images
images

गलेश्वर- म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटका स्थानीयले २२ वर्षदेखि म्याग्दी नदी बगरको कर जिल्ला मालपोत कार्यालयलाई तिर्दै आएका छन्।

images
images
images

विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आएका छन्। म्याग्दी नदीको कटानका कारण बगरफाँटको ३६ रोपनी जग्गा बगरमा परिणत भएको हो। बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ। 

नदी बगेको ठाउँभन्दा पारपिट्टी बेनी नगरपालिका–६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान नभए पनि जग्गाधनी पुर्जा कामयमै रहेकाले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँकोसमेत कर तिर्न बाध्य हुनु परेको बेनी नगरपालिका–२ का ओमबहादुर थापाले बताए।

images

थापाका अनुसार स्थानीय हीराबहादुर घिमिरे, भक्तबहादुर घिमिरे, ओमबहादुर थापा, कृष्णबहादुर थापालगागत आठ जना व्यक्तिले मालपोत कर तिर्दै आएका छन्। पहिला जग्गा (खेत, बारी र घर) भएको ठाउँमा अहिले म्याग्दी नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी नगरपालिका–६ डम्मरामा नदीको बगरमा परिणत भएको थापाले बताए। 

images

‘हाम्रो जग्गा अहिले डम्मरामा पर्छ, नदीको बगरमा परिणत भएको छ’, थापाले भने, ‘जग्गाधनी प्रमाणपूर्जामा हाम्रो नाममा छ, बर्सेनि मालपोत कर तिर्दै आएका छौंँ, तर हाम्रै जग्गाको नदीजन्य पदार्थ हामीले प्रयोग गर्न पाउँदैनौंँ, हामीमाथि अन्याय भएको छ।’

विसं २०५७ मा म्याग्दी नदीमा आएको भीषण बाढीले जो जग्गा बगाएको थियो। त्यसयताका २१ वर्षसम्म जग्गाधनीले नियमितरुपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ। जिल्ला मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीले जग्गा नभए पनि जग्गाधनी प्रमाणपत्रमा जग्गा कायमै रहेको देखिएकाले जग्गाधनीले कर तिर्दै आएको बताए।

स्थानीयवासीले सो जग्गालाई सार्वजनिक जग्गामा दर्तागरी मालपोत कर कट्टा गर्न आग्रह गरेका छन्।

पूरै गाउँ जोखिममा

बगरफाँट गाउँ पहिरो र नदी कटानको जोखिममा पर्दै गएको छ। २०५७ सालदेखि म्याग्दी नदीले कटान गर्न सुरू गरेको बगरफाँटमा रहेका दुई सय  घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा म्याग्दी नदीको कटानबाट बर्सोनि त्रसित हुने गरेका छन्। म्याग्दी नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन्। 

‘गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास रहिरहन्छ,’ नदी कटानबाट गाउँलाई जोगाउन बर्सेनि तटबन्धको पहल गर्दै आएका स्थानीय समाजसेवी नारायण कार्कीले बताए। 

म्याग्दी नदीको कटानका कारण बगरफाँटको एकसय ५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन क्षय भइसकेको र नदी कटानको समस्या अझै बढ्दै गएको स्थानीय बुद्धिजीवी तथा म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्षसमेत रहेका कार्कीले जानकारी दिए।

बेनी नगरपालिका–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्न सके केही मात्रामा गाउँ सुरक्षित रहने उनको भनाइ छ। गाउँको शिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश वा संघबाटै ठूलो योजना आवश्यक पर्ने देखिएको छ। तर, समस्याको समाधान नभएकाले यसले सदरमुकाम बेनी बजारसमेत प्रभावित हुने अनुमान गरिएको छ।

पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट साँघुरिँदै गएको छ। आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिरोका कारण गाउँको शिरानमा रहेको जंगल र बस्ती मासिने खतरा बढेको छ। पहिरोले गाउँ कुरूप बन्दै गएको र पाँच घरपरिवार बसाइँ सरिसकेको स्थानीयवासी टेकबहादुर कार्कीले बताए। रासस


प्रकाशित : बिहीबार , फागुन ४ २०७९१०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend