काठमाडौं- यती एयरलाइन्सको नाइन एन-एएनसी एटीआर-७२ जहाज गएको माघ १ गते बिहान १० बजेर ५१ मिनेटमा पोखरा सेती खोचमा दुर्टघनाग्रस्त भयो। जसमा चालक दलका चारसहित ७२ जनाकै मृत्यु भयो। जहाज दुर्घटनाको अनुसन्धानका लागि सरकारले दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो।
नेपालको उड्डयन इतिहासमा पहिलोपटक एटीआर-७२ जहाज दुर्घटनामा परेको हो। जसमा नेपालमात्रै होइन एटीआर कम्पनीकै इन्जिनियरहरू पनि अचम्मित छन्। पोखरामा यती एयरलाइन्सको एटीआर जहाज दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आएको थियो। आयोगका सदस्यहरूका अनुसार यतिको जहाज दुर्घटनामा जहाज निर्माता कम्पनीका इन्जिनियरहरू नै अचम्मित छन्। नेपालको इतिहासमै सबैभन्दा पहिलो दुर्घटना भएको एटीआर जहाज दुर्घटना विश्वमै फरक खालको भएको बुझाइ एटीआरका इन्जिनियरहरूको छ।
विगतमा नेकन एयरले पनि एटीआर जहाज सञ्चालन गर्दै आएको थियो। हाल आन्तरिक उडानका लागि बुद्ध र यति एयरलाइन्ससँग मात्रै नेपालमा एटीआर-७२ जहाज छन्। जहाजमा ७२ सिट क्षमता रहेको छ। बुद्ध एयरसँग ११ वटा एटीआर-७२ जहाज रहेको छ भने यति एयरलाइन्ससँग ६ वटा जहाज रहेका छन्। यती एयरलाइन्सको २५ वर्षे इतिहासमा यो सबैभन्दा ठूलो दुर्घटना भएको छ।
दुर्घटना भएको ३० दिनपछि जाँचबुझ आयोगले बुधबार प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको छ। जसमा तीन विषयमा केन्द्रित रहेर अध्ययन गर्ने आयोगले उल्लेख गरेको छ। दुर्घटनाको सम्भावित कारणका रुपमा लिइएका तिनै तीन विषयमा रहेर अध्ययन हुने जनाइएको छ। सोही तीन विषयमा अब थप अनुसन्धानसहित पूर्ण रिपोर्ट आउने आयोगको भनाइ छ।
बेस लेगमा दुवै इन्जिनका प्रोपेलर फेदरमा समस्या देखिएकाले यसमै केन्द्रित रहेर थप अध्ययन हुने आयोगका सदस्यसचिव वुद्धिसागर लामिछानेले बताएका छन्। दोस्रोमा मानवीय कारणको खोजी हुने उनले बताए। यस्तै रनवे १२ मा भिजियुल एप्रोचका बारेमा पनि अध्ययन हुने प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ।
आयोगले आशंका गरेको मुख्य विषय प्रोपेलर फेदर अवस्थाको बारेमा अध्ययन गर्ने उल्लेख गरेको छ। एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपालका आएका थिए। उनीहरूले निर्माता कम्पनीलाई नै उक्त प्रतिवेदन बुझाउने छन्।
के हो प्रोपेलर फेदर?
यती एयरको जहाज दुर्घटनामा जाँचबुच आयोगले प्रारम्भिक रिपोर्टमा उल्लेख गरेका तीनवटा विषयमध्ये पहिलो अध्ययन हुने विषयमा दुवै प्रोपेलर फेदरको अवस्था समावेश गरिएको छ।
दोस्रोमा मानवीय त्रुटीको विषय र तेस्रोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भिजुअल एप्रोचको विषय रहेको छ। तर जहाज दुर्घटनाको मुख्य विषय प्रोपेलर फेदर रहेको आयोगको बुझाइ छ। प्रोपेलर फेदर भनेको जहाजको ब्लेडको एंगल (कोण) हो।
दुईवटा इन्जिनले पावर नदिने अवस्थामा जहाज कसरी पुग्यो? यो नै रहस्यमय देखिएको छ। यती एयरको एटीआर जहाज डबल इन्जिन जहाज हो। फेदर जाँदा पंखाले आफ्नो एंगल परिवर्तन गरेर एकै पटकमा यस्तो अवस्थामा पुग्छ कि इन्जिन चले पनि कुनै पावर लिन सक्दैन।
कसरी यो अवस्था आउँछ?
पहिले जहाजको इन्जिनमा कुनै समस्या आएको अवस्थामा स्वचालित र म्यान्युअल रुपमै फेदर अवस्थामा लगिन्छ। तर एउटा इन्जिनमा समस्या आएको अवस्थामा यस्तो हुने हो। दुईवटैमा इन्जिनमा समस्या आउँदा त्यो गरिँदैन।
अर्को विषय, इन्जिन आयल लिकेच भएको अवस्थामा प्रोपेलर फेदरमा समस्या हुन्छ। यतीको जहाज दुर्घटनामा देखिएको प्रोपेलर फेदरको अवस्था कि त जहाजको दुईवटै इन्जिनकोआयल लिकेच भएकोले हुनु पर्छ, कि त जटिल मेकानिकल समस्या आएको हुनुपर्छ, कि त पाइलटले आफै दुईवटा प्रोपेलर (लिभर) काट्नु हो। यस्तो अवस्थामा जहाज अगाडि बढ्न सक्दैन र जमिनमा झर्छ।
यती एयरको जहाज दुर्घटनामा जाँचबुच आयोगले देखेका तीन विषय, थप अध्ययनपछि विस्तृत रिपोर्ट आउने विस्तृत अध्ययन गरेर पोखरा विमानस्थलमा उपयुक्त उडान मार्ग तय गर्न सुझाव