काठमाडौं- काठमाडौं महानगरपालिकाले सात महिनादेखि स्रोतमा फोहर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। फोहर व्यवस्थापन कार्य प्रभावकारी बनाउन कामपाले गत साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने फोहर वर्गीकरणको काम थाल्यो।
कामपाको ३२ वटै वडामा अझै उक्त किसिमले फोहरको वर्गीकरण हुन सकेको छैन। सुरुमा केही दिन नगरवासीले घरबाट नै वर्गीकरण गरी ल्याउने गरेपनि अहिले सबै किसिमको फोहर एउटै भाँडोमा राखेर व्यवस्थापनको काम भइरहेको छ।
कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार अहिले पनि केही वडाबाट फोहर वर्गीकरण गरी ल्याइन्छ। केही वडाबाट सबै फोहर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ।
प्रमुख श्रेष्ठले भने, 'कुहिने फोहर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ, त्यसबारे कामपाले केन्द्र सरकासँग छलफल गरिरहेको छ । स्थान प्राप्त हुनेबित्तिकै स्रोतमा नै फोहरको वर्गीकरण गरी प्रभावकारी रुपमा कार्यान्वयन हुन्छ।'
परीक्षणका रुपमा यसै हप्तादेखि टेकु ट्रान्सफर स्टेसनमा नै कुहिने फोरलाई मल बनाउने काम सुरु हुन्छ। 'यो सँगै उपत्यकाको अन्य केही स्थान र काठमाडौं उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थान बञ्चरेडाँडामा पनि कुहिने फोहर अलग राखेर मल बनाउने काम सुरु गर्ने तयारी कामपाको छ', प्रमुख श्रेष्ठले भने।
तत्कालका लागि स्थान अभावकै कारणले यो काम प्रभावकारी हुन नसकेको बताइएको छ।
अन्तिम फोहर व्यवस्थापन स्थानमा फरक किसिमले व्यवस्थापनको प्रबन्ध गरेसँगै पुनः साउन पहिलो साताझैँ स्रोतमा नै फोहर छुट्टयाएर काम हुने विश्वास कामपाको छ।
कामपाको कूल ३२ मध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। वर्गीकरण योजना सबै वडामा लागु गरिएको छ।
हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ। निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर ओसार्छन्।
अन्तिम फोहर व्यवस्थापन स्थान बञ्चरेडाँडामा दैनिक एक हजारदेखि एक हजार दुई सय मेट्रिक टनसम्म फोहर जाने गरेको छ। उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा उक्त स्थानमा पुग्छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिँदै आएको हो।
विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ।
ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ। यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ। रासस