बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सरकारी र सार्वजनिक कम्पनीको संस्थागत आयकर बढ्यो, निजी कम्पनीको ऋणात्मक

मंगलबार, फागुन २ २०७९
सरकारी र सार्वजनिक कम्पनीको संस्थागत आयकर बढ्यो, निजी कम्पनीको ऋणात्मक

बैंक तथा वित्तीय संस्थाहरूको आम्दानी तथा नाफामा नकारात्मक असर नपर्दा यो वर्गको आयकरमा वृद्धि कायमै रहेको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको छ महिनामा सरकारी राजस्व ऋणात्मक भएको छ। गत वर्षको छ महिनाको तुलनमा यो वर्षको छ महिनामा सरकारले १५ प्रतिशत न्यून राजस्व संकलन गरेको छ। 

प्राय सबै शीर्षकबाट न्यून राजस्व उठेपनि आयकर तर्फ भने न्यूनदरले ऋणात्मक भएको छ। गत वर्षको तुलनामा यो वर्ष जम्मा ४.४५ प्रतिशत न्यून आयकर संकलन भएको छ। 

चालु आर्थिक वर्ष २०७९/८० छ महिनामा १ खर्ब १६ अर्ब ७९ करोड आयकर संकलन भएको छ। गत  वर्षको यही अवधिमा १ खर्ब २२ अर्ब २३ करोड रुपैयाँ संकलन भएको थियो। 

आयकर अन्तर्गत संस्थागत आयकर ५.६१ प्रतिशतले बढेर ५४ अर्ब १३ करोड संकलन भएको छ।  व्यक्तिगत आयकरतर्फ ३९ अर्ब ८३ करोड र लगानीको आयकरतर्फ  १४ अर्ब ११ करोड संकलन भएको छ। लगानी तथा व्यक्तिगत आयकर भने घटेको छ। 

छ महिनामा सार्वजनिक र सरकारी कम्पनीले बुझाउने संस्थागत आयकर भने गत वर्षको तुलनामा बढेको छ। अर्थमन्त्रालयको तथ्यांक अनुसार यो सरकारी कम्पनीले तिर्ने आयकर गत वर्षको तुलनामा ५६ प्रतिशतले बढेको छ। सरकारी स्वामित्वका कम्पनीहरूले बुझाउने कर बढेको देखिन्छ। 

त्यस्तै यो बीचमा सार्वजनिक कम्पनीले बुझाउने आयकर पनि ११.६९ प्रतिशतले बढेको छ। सार्वजनिक कम्पनीले छ महिनामा २४ अर्ब ७२ करोड रुपैयाँ कर बुझाएका छन्। बैंक तथा वित्तीय संस्थाहरूको आम्दानी तथा नाफामा नकारात्मक असर नपर्दा यो वर्गको आयकरमा वृद्धि कायमै रहेको छ। 

तर निजी कम्पनीले बुझाउने संस्थागत आयकर भने घटेको छ। अर्थको तथ्यांक अनुसार निजी कम्पनीले यो बीचमा गत वर्षको तुलनामा १५ प्रतिशत न्यून अर्थात् १८ अर्ब ८२ करोड संस्थागत आयकर बुझाएका छन्। 

व्यक्तिगत आयकरतर्फ भने पारिश्रमिकका लाग्‍ने कर ०.०८ प्रतिशतले बढेको छ। पुँजीगत लाभकर ६६ प्रतिशतले घटेको छ। सरकारी कर्मचारीको तलब बढ्दा सामाजिक सुरक्षाकर भने ९ प्रतिशतले बढेको छ। सरकारले यो वर्षदेखि करछुटको सीमा बढाएपछि समग्रमा व्यक्तिगत आयकर भने २४ प्रतिशतले घटेको छ। 


प्रकाशित : मंगलबार, फागुन २ २०७९०५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend