बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

बर्दिबासमा बन्यो चार्जिङ स्टेसन, एकपटकमा ६ वटा सवारीसाधन चार्ज गर्न मिल्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २६ २०७९
images
images
बर्दिबासमा बन्यो चार्जिङ स्टेसन, एकपटकमा ६ वटा सवारीसाधन चार्ज गर्न मिल्ने

चिनियाँ कम्पनी ‘वाङ् वान डिजिटल इनर्जी कम्पनी’ ले निर्माण गरेको चार्जिङ स्टेसन अब चाँडै नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी रहेको छ।

images
images

महोत्तरी- बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका-३ गौरीडाँडास्थित इलाका प्रहरी कार्यालय बर्दिबास परिसरमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय चार्जका सवारीसाधन (ईभी) का चालक खुसी छन्। यो स्टेसन सञ्चालनमा आएपछि सवारीसाधन चार्ज गर्न सहज भएको छ।

images
images
images

पूर्वपश्चिम राजमार्गसँगको बर्दिबास-सिन्धुली-काठमाडौं, बर्दिबास-गाईघाट-चतरा, बर्दिबास-मन्थली-दोलखा र बर्दिबास-घुर्मी-ओखलढुङ्गासँगै खोटाङ र सोलुखुम्बुसम्मको रुटको मुख्य सङ्गमस्थल (बर्दिबास)मै सञ्चालनमा आएको विद्युतीय चार्जिङ स्टेसनले अहिले निकै राहत दिएको हो। अहिले परीक्षणकै क्रममा रहेको चार्जिङ स्टेसनमा सवारी साधनका लाम देखिन्छन्।

चार्ज गर्न पाइएको सहजताले अब ईभी साधन नै चलाउने मनस्थितिमा सवारी व्यवसायी देखिन थालेका छन्। यस भेगमा ईभी (विद्युतीय चार्जका सवारी साधन) को ‘क्रेज’ बढ्दै छ। दिनहुँ यस्ता नयाँ साधन सडकमा थपिएका छन्। 

images

'कता होला चार्जिङ स्टेसन भनेर सोधखोज गर्नुपर्ने र रुमलिने स्थिति अन्त्य भएछ', सानो कारका चालक प्रशान्त झाले भने, 'यहाँ त सडकको छेउमै परैबाट देखिने ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा आएछ, धेरै सजिलो भयो।' यो स्टेसनको सञ्चालनले ईभी साधनको प्रचार र प्रवर्द्धनमा बल पुर्‍याएको झाको ठम्याइ छ।

images

पहाड, मधेसका विभिन्न सडक सञ्जालको मुख्य सङ्गमस्थल रहेको बर्दिबासमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि ईभी सवारीसाधनको प्रयोग र यिनको प्रवर्द्धनमा बल पुगेको यस्ता साधनका धनी र चालकको भनाइ छ। बर्दिबास-३ गौरीडाँडास्थित यो चार्जिङ स्टेसन अत्याधुनिक प्रविधि जडित र एकपटकमा ६ वटा सवारीसाधनको चार्ज गर्न मिल्ने भएको हुँदा साधनवालाले लामो समय पर्खन पर्ने अवस्था नरहेको ईभी सवारी चालक बताउँछन्। 

अहिले परीक्षणका क्रममा रहेको यो स्टेसनमा दैनिक १५/१६ सङ्ख्याका सवारीसाधनले चार्ज गर्दै आएका स्टेसन प्राविधिक सागरमान ताम्राकार बताउँछन्। 'यो स्टेसनमा ‘जिविटी’ र ‘सिसिएस’  प्रणालीका अत्याधुनिक मेसिन जडित छन्, ‘जिविटी’बाट ठूला र ‘सिसिएस’बाट साना सवारी साधन चार्ज गरिन्छन्', स्टेसनको सेवाबारे स्पष्ट पार्दै ताम्राकार भन्छन्, 'दुवै प्रणालीतर्फ एकपटकमा तीन/तीन सवारीसाधन चार्ज हुन सक्छन्।' इलाका प्रहरी कार्यालय बर्दिवासले उपलब्ध गराएको जग्गामा स्टेसन निर्माण भई सञ्चालनमा आएको हो। प्रहरी कार्यालय परिसरमै हुँदा स्टेसन सुरक्षा पनि सहज भएको छ।

चिनियाँ कम्पनी ‘वाङ् वान डिजिटल इनर्जी कम्पनी’ ले निर्माण गरेको चार्जिङ स्टेसन अब चाँडै नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी रहेको निर्माण कम्पनीको नेपालस्थित प्रतिनिधि दिगो कार्यक्रमका शिव अधिकारी बताउँछन्। 'हामीले नेपाल विद्युत् प्राधिकरण र वाङ् वान डिजिटल इनर्जी कम्पनीबीच भएको सम्झौताअनुरुप स्टेसन निर्माण गरेका हौँ, यो अहिले परीक्षण सञ्चालनका क्रममै छ', अधिकारी भन्नुहुन्छ, 'अब केही हप्ताभित्रै प्राधिकरणलाई हस्तान्तरण गर्दैछौँ।' 

अहिले परीक्षण अवधिमा समय तालिकाका आधारमा चार्ज शुल्क निर्धारित छ। साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रतियुनिट १० रुपैयाँ ४४ पैसा, राति ११ बजेदेखि बिहान ५ बजेसम्म छ रुपैयाँ ६० पैसा र यसबाहेका अन्य समयमा प्रतियुनिट आठ रुपैयाँ २८ पैसा शुल्क लिने गरिएको स्टेसन प्राविधिक ताम्राकार बताउँछन्।   

प्राधिकरण र चिनियाँ कम्पनीबीच मुलुकभरिका ५१ ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्ने सम्झौता भएअनुरुप बर्दिबासमा यो स्टेसन निर्माण भएर अहिले परीक्षण सञ्चालनमा आएको हो। योसहित जम्मा ३० स्टेसन निर्माण सम्पन्न भइसकेका, १२ वटा कार्यसम्पन्नको अन्तिम चरणमा रहेका र नौ ठाउँको जग्गा प्राप्तिमा विलम्ब हुँदा काम सम्पन्न हुन अलि पछि परेको वाङ् वान डिजिटल इनर्जी कम्पनीका नेपालस्थित प्रतिनिधि अधिकारीको भनाइ छ।

पछिल्लो समय ईभी सवारी साधनको ‘क्रेज’ बढ्दै गएकाबेला मधेस प्रदेशको मध्य भागमा पर्ने बर्दिबासमा चार्जिङ स्टेसन सञ्चालनमा आउनुले यस्ता साधनको प्रवर्द्धनमा सहयोग पुगेको सवारी व्यवसायीको भनाइ छ। सरकारले ईभी सवारीसाधनको खरिदमा सुलभ ऋण प्रवाह गरे अब चर्को मूल्यको इन्धन (पेट्रोलियम पदार्थ) माथिको निर्भरता घट्दै गएर आम सवारी व्यवसायी र साधन धनीले यस्तो साधन किन्ने सोच बन्दै गएको बताएका छन्। रासस


प्रकाशित : बिहीबार , माघ २६ २०७९१३:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend