बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एक महिनामै थपियो ४८ करोड डलर सञ्चिति, शोधनान्तर झन्डै १ खर्ब बचतमा

सोमबार, माघ २३ २०७९
एक महिनामै थपियो ४८ करोड डलर सञ्चिति, शोधनान्तर झन्डै १ खर्ब बचतमा

काठमाडौं- एक महिनामै विदेशी विनिमय सञ्चिति ४८ करोड डलरले बढेको छ। पाँच महिनामा ९ अर्ब ८२ करोड डलर रहेकोमा ६ महिनामा ४८ करोड थपिएर १० अर्ब ३० करोड डलर पुगेको छ।

योसँगै कुल विदेशी सञ्चिति १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा देखिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४१ अर्ब २३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमयसञ्चिति १० प्रतिशतले वृद्धि भइ २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८ प्रतिशतले वृद्धि भइ १० अर्ब ३० करोड कायम भएको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२ प्रतिशतले वृद्धि भइ ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ। २०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ।


प्रकाशित : सोमबार, माघ २३ २०७९१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend