बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

समस्याग्रस्त सुपर लघुवित्तकाे व्यवस्थापन राष्ट्र बैंकले सम्हाल्याे 

आइतबार, माघ २२ २०७९
समस्याग्रस्त सुपर लघुवित्तकाे व्यवस्थापन राष्ट्र बैंकले सम्हाल्याे 

काठमाडाैं- सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे व्यवस्थापन नेपाल राष्ट बैंकले लिएकाे छ। दाङकाे तुलसीपुरमा रहेकाे लघुवित्त समस्याग्रस्त घाेषणा गर्दै व्यवस्थापन सम्हालेकाे हाे। दाङको विद्यमान सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन नियन्त्रणमा लिई संस्थाको व्यवस्थापन सञ्चालनका लागि बैंकबाट व्यवस्थापन समूह नियुक्त गरिएको हाे।

नेपाल राष्ट्र बैंकबाट विभिन्न चरणमा गरिएका स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर, दाङका संस्थापक तथा सञ्चालकहरूले लामो समयदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने र सो ऋणको साँवा तथा ब्याज चुक्ता गर्न पुनः थप कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गम्भीर त्रुटि भेटिएपछि व्यावस्थापन सम्हालेकाे हाे।  

नेपाल राष्ट्र बैंकले गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको पाइएकोले संस्थाका जिम्मेवार पदाधिकारीहरुबाट भए गरेका कार्यहरूबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख को खण्ड (क), (ख), (घ), (च) तथा (ञ) मा भएका अवस्थाहरु संस्थामा विद्यमान रहेको देखिएको तथा निजहरुबाट संस्था सञ्चालन हुनसक्ने स्पष्ट आधार समेत नदेखिएको जनाएकाे छ।

साथै, २०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४.३० प्रतिशत र पुँजीकोष ३२.६५ प्रतिशतले ऋणात्मक रहेको, संस्थाको बचतसमेत क्रमिक रुपमा घट्दै गइरहेको तथा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनसमेत कमजोर देखिएको वस्तुस्थितिका आधारमा संस्थाकाे व्यावस्थापन लिएकाे जनाएकाे छ।  

यथास्थितिमा राख्दा बचतकर्ता, सापटी प्रदान गर्ने संस्थाहरु तथा लगानीकर्ताको समेत हित प्रतिकूल हुने देखिएकोले नेपाल राष्ट्र बैंक ऐनको दफा ८६ग को उपदफा १ को खण्ड (ण) मा भएको प्रावधानबमोजिम संस्थाको विद्यमान सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन मिति २०७९/१०/२३ बाट यस बैंकको नियन्त्रणमा लिई बैंकबाट "नियुक्त अधिकारी" (व्यवस्थापन समूह ) नियुक्त गरी सोही समूहमार्फत संस्थाको व्यवस्थापन सञ्चालन गर्ने व्यवस्था गरिएको समेत राष्ट बैंकले जनाएकाे छ।


प्रकाशित : आइतबार, माघ २२ २०७९०२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend