बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सर्वसाधारणका लागि सुपरमाई हाइड्रोपावरको आईपीओ आउँदै, कति दिने आवेदन?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १३ २०७९
सर्वसाधारणका लागि सुपरमाई हाइड्रोपावरको आईपीओ आउँदै, कति दिने आवेदन?

काठमाडौं- सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपश्चात् यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा चार लाख १५ हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ)का बिक्री खुला गर्ने भएको हो।

कम्पनीले आफ्नो जारी पुँजी ५० करोडको १० प्रतिशतले हुने पाँच करोड मूल्य बराबरको कुल पाँच लाख कित्ता साधारण सेयरमध्ये ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र १० हजार कित्ता कर्मचारीलाई छुट्याइ सकेको छ। साथै बाँकी चार लाख १५ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीले निष्कासन गरेको सेयरमा लगानीकर्ताले छिटोमा यही माघ २६ सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी फागुन ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ। 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी-आस्वा’ प्रणालीमार्फत् र ‘मेरो सेयर’बाट आवेदन दिने सकिने कम्पनीले जनाएको छ। कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ।

कम्पनीले इलामको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको सीमा नदी ‘माई खोला’मा सात दशमलव आठ मेगावाट क्षमताको सुपरमाई हाइड्रोपावरको निर्माण गरेको छ। रासस


प्रकाशित : शुक्रबार, माघ १३ २०७९०६:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend