बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

राष्ट्रिय वाणिज्य बैंक अग्रणी स्थानमा छ : सीईओ किरणकुमार श्रेष्ठ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १० २०७९
राष्ट्रिय वाणिज्य बैंक अग्रणी स्थानमा छ : सीईओ किरणकुमार श्रेष्ठ

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५८औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत सुरु गरेको छ।

मंगलबार वार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले अहिले नेपाली बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक सबल, सुदृढ र अग्रणी स्थानमा रहन सफल भएको बताए।

त्यस्तै, बैंकले अधिकतम स्रोत परिचालन तथा व्यवसाय विस्तार, निष्क्रिय कर्जा व्यवस्थापन, रि-ब्रान्डिङ तथा प्रविधिमा सुधारलगायतमा काम गरेको उनले भनाइ छ। 

बैंकले विगतमा विभिन्न उतारचढाव भोगे पनि पछिल्ला वर्षमा वित्तीय सूचकाङ्क र व्यवस्थापनमा उल्लेख्य सुधार गर्न सफल भएको सीईओ श्रेष्ठले दाबी गरे। बैंकको वित्तीय अवस्था सुधारका लागि पाँच वर्षे रणनीतिक योजना तर्जुमा गरी व्यवस्थापन र मानव संशाधन अडिटलगायतका काम गरेको पनि उनले जानकारी दिए। 
 
एनआईडिसी डेभलपमेन्ट बैंकसँगको मर्जर, सहायक कम्पनीका रुपमा आरबीबी मर्चेन्ट सञ्चालन, नेपाल टेलिकमसँगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना र सञ्चालन बैंकको उपलब्धी रहेको श्रेष्ठको भनाइ छ। 

बैंकिङ गत आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ। बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी दुई सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ। 

कुल ३८ लाख ६१ हजार ग्राहक सङ्ख्या भएको बैंकका एटीएम प्रयोगकर्ता सात लाख पाँच हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ता २० हजार पाँच सय र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या २५ हजार पाँच सय रहेको कार्यक्रममा जानकारी दिइयो। 

चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप सङ्कलन दुई खर्ब ७२ अर्ब, कर्जा प्रवाह दुई खर्ब ३४ अर्ब र नेटवर्थ ३४ अर्ब ३४ करोड पुगेको छ। बैंकको निष्क्रिय कर्जा दुई दशमलव ७९ प्रतिशत, आधारदर नौ दशमलव २९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१ दशमलव ६५ प्रतिशत छ। 

चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप तीन खर्ब, कुल कर्जा दुई खर्ब ५८ अर्ब,  मुनाफा चार अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ। त्यस्तै शाखा संख्या तीन सय, ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्‍याउने पनि बैंकको लक्ष्य छ। 


प्रकाशित : मंगलबार, माघ १० २०७९१०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend