भैरहवा- करिब चार दशकअघिदेखि सुरु भएको लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा पुगेको गरेको छ। गुरुयोजना अनुसार विकास योजनाले देखिने गरी आकार लिन थालेपछि लुम्बिनी विकास कोषका पदाधिकारी मात्रै होइन स्थानीय पनि सन्तुष्ट बनेका छन्।
कोभिडका कारण सुनसान बनेको लुम्बिनीमा पर्यटकको सङ्ख्या बढाउने चिन्ताबीच कोषका पदाधिकारहरु गुरुयोजनाले पूर्णताको पर्खाइमा छन्। जसमा अबको केही वर्षभित्रमा गुरुयोजनाले पूर्णता पाउनेमा उनीहरू ढुक्क देखिएका छन्।
के हो लुम्बिनी गुरुयोजना?
सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्त लुम्बिनी भ्रमण आएका थिए। उनको लुम्बिनी भ्रमणले लुम्बिनीमा नयाँ आयाम थपिदियो। उनी लुम्बिनी आउँदा लुम्बिनीको महत्व र भविष्य देखेको विषय उठान भएको थियो। बर्माका नागरिक संयुक्त राष्टसङ्घका महासचिव उ थान्तलाई त्यतिबेलाका पत्रकारले लुम्बिनी कस्तो पाउनुभयो भन्ने जिज्ञासा राखेपछि उनले लुम्बिनीको महत्व र विकास विश्वस्तरमा रहेको बताएका थिए।
उ थान्तले त्यसअघि लुम्बिनीबारे जे सोच्नुभएको थियो र मनमा जुन रेखाचित्र कोर्नु भएको थियो, त्यहाँ ती केही थिएनन्। मायादेवीको पुरानो मन्दिर, आडैमा अशोक स्तम्भबाहेक लुम्बिनी उराठ देखिन्थ्यो। पवित्र भूमिमा कुनै आकर्षक वस्तु थिएनन्। न बिजुली न खानेपानी। मन्दिर वरिपरी खेतीपाती। मानौँ, यो विश्वकै आस्थाको केन्द्रभन्दा पनि विकट गाउँ जस्तै थियो। मन्दिर क्षेत्रको अवस्था देखेर बौद्धपथिक थान्त विचलित मात्र बन्नुभएन, लुम्बिनीका लागि केही गर्ने अठोट लिएर फर्किए।
ऊ थान्तको यही आगमनलाई लुम्बिनीको योजनाबद्ध विकासको ‘कोसेढुङ्गा’ मानिन्छ। उनले तत्कालै नेपाल सरकारसमक्ष ‘लुम्बिनी गुरुयोजना’ बनाएर अघि बढ्न प्रस्ताव गरे। सरकारले स्वीकार गर्यो पनि। सन् १९७२ मा जापानी वास्तुविद् प्राध्यापक केन्जो टाङ्गेले लुम्बिनी गुरुयोजना बनाउने जिम्मा लिए। त्यतिबेला संसारमै टाङ्गे प्रख्यात वास्तुविद्को रुपमा रहेका थिए। टाङ्गेले सन् १९७८ मा सरकारलाई हस्तान्तरण गरेको गुरुयोजना स्वीकृत भएपछि योजनाबद्ध लुम्बिनी विकास आरम्भ भएको हो।
यो राष्ट्रिय गौरवका परियोजना पनि हो। सन् १९७८ मा सुरु लागत ५५ मिललियन अमेरिकी डलर रहेको यो परियोजना सन् १९९५ मा सम्पन्न हुने लक्ष्य राखिएको थियो। तर सुरु भएको ४४ वर्ष वितिसक्दा पनि आयोजना अहिलेसम्म अधुरै छ। लुम्बिनी गुरुयोजनामा उत्तर दक्षिण तीन वर्गमाइल र पूर्व-पश्चिममा १ वर्ग माइल (७ सय ७७ हेक्टर ) क्षेत्रमा फैलिएको छ। जसमा उत्तरबाट मध्यभागमा एक वर्ग माइलको तीन खण्डलाई क्रमसः पुरातात्विक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्टिय बौद्ध बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँसमेत गरी मुख्यतया ३ क्षेत्रमा विभाजन गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए। लुम्बिनी गुरुयोजना तयार भएपछि कार्यान्वयनका लागि सर्वप्रथम सन् १९७८ मा विकास समिति गठन ऐन २०१३ का आधारमा लुम्बिनी विकास समिति गठनभयो।
अधिकार सम्पन्न ऐन प्रदत्तस्वयत्त निकायको अवधारणामा विक्रम संवत् २०४२ (सन् १९८५) मा लुम्बिनी बिकास कोष ऐनद्वारा लुम्बिनी विकास कोषको गठन भई लुम्बिनी गुरुयोजनाको कार्यान्वयन र वृहत्तर लुम्बिनी क्षेत्र नवलपरासीका रामग्रामदेखि बुद्ध भगवानको जन्मस्थल लुम्बिनी र प्राचीन कपिलवस्तु शाक्यमुनी सिद्धार्थ गौतमबुद्धको गृहनगर तथा क्रकुछन्द, कनकमुनी लगायतका पूर्वबुद्धको भूमि समग्र बुद्धको भूमिको विकास, धार्मिक, ऐतिहासिक, पुरातात्विक अध्ययन, उत्खनन, संरक्षण, वैज्ञानिक विधिको अध्ययनका माध्यमबाट थप पुष्टि, प्रमाणीकरण आदि कार्य हुँदै आएको छ। लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजनाको मुख्य भागको ३ क्षेत्रमा काम गरिरहेको छ।
पवित्र उद्यान
यो लुम्बिनीको सबैभन्दा महत्वपूर्ण क्षेत्र हो। यो क्षेत्र गुरुयोजनाको सबैभन्दा दक्षिणतर्फ छ। यहाँ मायादेवीको मन्दिर, अशोक स्तम्भ, अशोककाल र पूर्व मौर्यकालका इट्टाको संरचना, बुद्धकालसम्मका इट्टाको बुट्टा, सांस्कृतिक अवयव, प्राचीन बौद्ध विहारको भग्नावशेष आदि रहेका सन् १९९७ देखि युनेस्कोको विश्व सांस्कृतिक सम्पदामा सूचीकृत सम्पदा रहेका छन्। यस पवित्र उद्यान क्षेत्रमा लुम्बिनी गुरुयोजना अनुसारको चार पोखरी, विश्व सम्पदास्थल वरिपरीका ८० वर्गमिटर तथा केही साना गरी ४१ चाक्लामा हरियाली सदावहार उद्यानको प्रारम्भिक चरणको निर्माणका कार्य सम्पन्न भएका छन्।
सन् २०१३-१४ सम्मका युनेस्को जेएफआइटी परियोजनाले पुरातात्विक उत्खनन्, अध्ययनले वैज्ञानिक रुपमा नै शाक्यमुनीबुद्धको जन्मस्थल लुम्बिनीको प्रमाणीकरण भइसकेको छ।
अन्तर्राष्ट्रिय बौद्ध बिहार क्षेत्र
यो क्षेत्रमा सानो बौद्ध विश्व जगत छ। बीचमा केन्द्रीय नहर र दुईतर्फ नहरको पूर्वपट्टी स्थविरवादी १३ देशका विहार निर्माणार्थ छुट्याइएका चाक्लामा नेपाललगायत सात विहार निर्माण भएका छन्। पश्चिमपट्टी महायानी २९ चाक्लामध्ये विदेशी १२ देशसहित देशका बिहार बन्ने गरी २१ वटा चाक्लामा गोन्पा निर्माण भइसकेका तथा निर्माणधीन छ।
लुम्बिनी गुरुयोजनाको पूर्वतर्फ श्रीलङ्का, बर्मा, थाइल्यान्ड, कम्बोडिया, क्यानडासहितका १३ देश र पश्चिमतर्फ चीन, सिङ्गापुर, जापान, कोरिया, फ्रान्स, जर्मनी, भियतनाम, क्यानडालगायत मुलुकका बुद्धविहार निर्माण भएको छ। सहायक सडक तथा सेवा सडक निर्माण भइसकेको छ।
प्रत्येक बिहारको बीचमा आर्कषक बगैँचासहितको प्रवेश आगन तथा गाडी पार्किङ बनाइने स्थान छ। यो लुम्बिनी गुरुयोजनाको मुख्य भागको बीचम छ। बगैँचा, गाडी पार्किङ बनाउन भने बाँकी छ।
नयाँ लुम्बिनी गाउँ
लुम्बिनी गुरुयोजना मुख्य एक वर्ग माइल चौडाइ तथा तीन वर्गमाइल लम्बाइ क्षेत्रको यो क्षेत्रमा आवासीय क्षेत्रलाई केन्द्रित गरिएको छ। उत्तरतर्फ सर्वसाधारणदेखि पर्यटक बस्ने उच्च, मध्यम तथा सरल प्रकारका होटल छन्। हाल उच्च, मध्यम दुई जापानी होटल तथा सरल श्रीलङ्काली तीर्थयात्री आवास निर्माण सम्पन्न भई कार्यान्वयनमा छ।
गुरुयोजनाको यस क्षेत्रमा कोषको प्रशासनिक भवन, तीर्थयात्री सूचना केन्द्र, सङ्ग्राहलय, पुस्तकालय, सभा बैठककक्ष, क्याफे रेष्टुराँ उपहार पसल, बैंक, प्रहरी सुरक्षा, स्वास्थ्यचौकी आदि रहेको लुम्बिनी सांस्कृतिक केन्द्र क्षेत्रमा लुम्बिनी गुरुयोजना अनुसारका निर्माण करिब आधा पूरा भएका छन्। सुरु नभएका संरचनाको काम यसैवर्षदेखि सुरु गरिनेछ।
लुम्बिनी गुरुयोजनाका सम्पन्न भइसकेको मुख्य संरचना
योजना प्रमुख सरोजकुमार भट्टराईका अनुसार गुरुयोजना बमोजिमको पवित्र उद्यान क्षेत्रमा पोखरीको निर्माण सम्पन्न भइसकेको छ। लुम्बिनी गुरुयोजना वरिपरी १६ किलोमिटर सुरक्षा पर्खाल निर्माण सकिएको छ।
लुम्बिनीको मेरुदण्डको रुपमा रहेको गुरुयोजना अनुसारको केन्द्रीय नहर पूरा भई गुरुयोजना अनुसार नै तीर्थयात्री एवं पर्यटकलाई उत्तरतर्फबाट बुद्ध जन्मस्थलसम्म जान र आउन व्यवस्था गरिएको। केन्द्रीय नहरमा डुङ्गा सञ्चालन गरिएको छ। प्रो केञ्जो टाँगेले तयार गरेको शैलीमा प्रशासकीय भवन तथा पर्यटक सूचना केन्द्र निर्माणकार्य सम्पन्न भएको छ। गुरुयोजना क्षेत्रभित्र चार सय वटा बिजुलीका पोल करिब २८ किलोमिटर एबिसीको तारसहित पाँच सय ८० वटा सोलार लाइटसहित बिजुली व्यवस्थापन भएको छ।
गुरुयोजना अनुसार हालसम्म करिब ८६ प्रतिशत काम सम्पन्न भइसकेको र निर्माण तीव्र गतिमा सञ्चालन भइरहेको लुम्बिनी विकास कोषको दाबी छ। गुरुयोजना क्षेत्रभित्र शुद्ध पानी वितरणको निम्ति ११ लाख लिटर क्षमताको भूमिगत तथा तीन लाख लिटर क्षमताको दुई वटा विशेष डिजाइन भएको पानी ट्याङ्की तथा करिब २५ किलोमिटर क्षेत्रमा डिआई पाइपसहितको पानी वितरण प्रणाली सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलबाट लुम्बिनीलगायत भगवान बुद्धसँग सम्बन्धित क्षेत्रमा आवतजावत गर्नका निमित्त पाँच वटा विद्युतीय बस, १४ वटा विद्युतीय ट्याक्सी तथा तीन सय ५० किलोवाट क्षमताको सोलार पावरप्लान्ट जडान भएको छ।
यस्तै पाँच हजारजना अटाउने अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन तथा ध्यान केन्द्र पनि निर्माण भएको छ। कुनै अवरोध तथा बाधा नपरे २०८१ सालभित्र समग्र लुम्बिनी गुरुयोजना पूरा हुने कार्यायोजनाका साथ अगाडि बढेको कोषको सदस्य सचिव सानुराजा शाक्यले बताए।
सम्पन्न हुन बाँकी मुख्य संरचना
गुरुयोजना अनुसारका विद्युतीकरणको कार्य, गुरुयोजना अनुसार टेलिकम्युनिकेशनको कार्य, विभिन्न सडक, ढल निकास तथा स्युरेज व्यवस्थापन, विभिन्न पोखरी निर्माण तथा सौन्दर्यको काम बाँकी रहेको भट्टराईले बताए।
आगामी दुई वर्षभित्र गुरूयोजनाको काम पूरा हुने लुम्बिनी विकास कोषले दाबी गर्दै आएको छ। गुरूयोजनाअनुसार बाँकी २५ प्रतिशत काम पूरा गर्न सात अर्ब ५० करोड लाग्नेछ। अर्थ मन्त्रालयले रकमको स्रोत सुनिश्चतता गरेको चालु आर्थिक वर्षमा डेढ अर्ब प्राप्त भइसकेको छ। रासस