बिहीबार , जेठ १८ गते २०८०

धान उत्पादनमा चार वर्षकै उच्च वृद्धिदर 

उत्पादन बढेपनि खेती हुने क्षेत्र घट्यो

images
images
विजनेस न्युज
धान उत्पादनमा चार वर्षकै उच्च वृद्धिदर 

समयमै मल नपाउने, सिँचाइको सुविधमा विस्तार नहुने तथा उत्पादन धेरै दिने बिउँको व्यवस्था नहुँदा किसानले धानबाट लाभ देख्न छाडेपछि खेती हुने क्षेत्र एकातिर घटिरहेको छ भने अर्कोतिर उत्पादकत्वमा सुधार नहुँदा समग्र उत्पादन नै खस्किने चिन्ता बढेको छ। 

images
images
images

काठमाडौं- यो  वर्ष (आव २०७९/८०) धान उत्पादन गत वर्षको तुलनामा बढेको कृषि तथा पशुपन्छी  विकास मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन हुने अनुमान गरेको छ। यो गत वर्षको तुलनामा ६.९४ प्रतिशतले धेरै हो। 

images
images
images

धान उत्पादनमा गत वर्षको तुलनामा भएको यो वृद्धिदर पछिल्लो चार वर्षकै उच्च हो। आर्थिक वर्ष २०७५/७६ मा धान उत्पादन ८.८९ प्रतिशतले बढेको थियो। त्यसपछिका तीन वर्षमा एक वर्षमात्र धान उत्पादन बढेको थियो भने बाँकी दुई वर्ष ऋणात्मक भएको थियो। 

आर्थिक वर्ष २०७७/७८ मा भने धान उत्पादन ८.७४ प्रतिशतले घटेको थियो। गत वर्ष धेरै घट्दा यो वर्षको उत्पादनमा उच्च वृद्धिदर देखिएको छ।  गत वर्ष धान उत्पादन भित्र्याउने समयमै परेको निरन्तरको वर्षाले गर्दा धान उत्पादन घटेको थियो। 

images

यो वर्ष धान उत्पादनमा  उच्च वृद्धि देखिएपनि २ वर्षअघिको जति पनि उत्पादन भएको छैन। २०७७/७८ मा धान ५६ लाख टन उत्पादन भएको थियो। 

सदाझै मधेस प्रदेशमा सबैभन्दा धेरै धान उत्पादन भएको छ। मधेस प्रदेशमा यो वर्ष १३ लाख ८८ हजार टन उत्पादन भएको छ। त्यस्तै दोस्रो नम्बरमा प्रदेश १ रहेको छ। प्रदेश १ मा पनि १३ लाख ३६ हजार टन धान उत्पादन भएको छ। 

धेरै धान उत्पादन हुनेमा तेस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ। यो वर्ष लुम्बिनीमा ११ लाख ५१ हजार टन उत्पादन हुने अनुमान गरिएको छ। चौथो नम्बरमा सुदूरपश्चिम प्रदेशमा ५ लाख ८९ हजार टन र पाँचौं नम्बरमा बागमती प्रदेशमा ५ लाख टन उत्पादन हुने अनुमान छ।  त्यसपछि गण्डकीमा ३ लाख ९१ हजार टन धान उत्पादन भएको छ भने सबैभन्दा न्यून धान उत्पादन कर्णाली प्रदेशमा १ लाख २९ हजार टन मात्र उत्पादन भएको छ। 

यो वर्ष धान उत्पादनमा उच्च वृद्धि सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशतले भएको छ भने बागमती र गण्डकी प्रदेशमा घटेको छ। मधेस प्रदेशमा पनि धान उत्पादनमा उल्लेख्य वृद्धि भएको छैन। लुम्बनीमा १५ प्रतिशतले धान उत्पादन बढ्दा १ नम्बर प्रदेशमा ५ प्रतिशतले बढेको छ। 

गत वर्षको मौसमी कारणले गर्दा धान उत्पादन खस्किँदा यो वर्ष थोरै सामान्यकरण हुँदा उत्पादनमा वृद्धि देखिएपनि धान खेती हुने क्षेत्रफल भने खुम्चिएको छ। एकातिर दुई वर्ष अघिकै तहमा धानको उत्पादन नपुग्नु र अर्कोतिर उत्पादन क्षेत्र पनि खुम्चिनुले उत्पादकत्वमा पनि खासै सुधार भएको देखिँदैन। 

यो वर्ष समग्रमा धान उत्पादन हुने क्षेत्र २ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै धान खेती गण्डकी प्रदेशमा विस्थापित भएको छ। गत वर्षको तुलनामा सुदूरपश्चिममामा यो वर्ष ५.९४ र गण्डकीमा ५.२१ प्रतिशतले धानखेती हुने क्षेत्र घटेको छ। त्यस्तै बागमतीमा ३ प्रतिशतले घटेको छ। सबै प्रदेशमा धान खेतीको क्षेत्र घटेको छ। 

समयमै मल नपाउने, सिँचाइको सुविधमा विस्तार नहुने तथा उत्पादन धेरै दिने बिउँको व्यवस्था नहुँदा किसानले धानबाट लाभ देख्न छाडेपछि खेती हुने क्षेत्र एकातिर घटिरहेको छ भने अर्कोतिर उत्पादकत्वमा सुधार नहुँदा समग्र उत्पादन नै खस्किने चिन्ता बढेको छ। 

images

प्रकाशित : बिहीबार , पुस २८ २०७९०९:५७
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ