काठमाडौं- सरकारमा सहभागी दलहरूले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन्। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै यो वर्ष सरकारले गाडी नकिन्ने बताएका छन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भइरहेको कार्यक्रममा अर्थमन्त्री पौडेलले ६ महिनाभित्र नागरिकताको सबै समस्या समाधान गरिने पनि उल्लेख गरेका छन्। साथै नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउनेसमेत उनले बताएका छन्।
न्यनूतम साझा कार्यक्रममा एकवर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने उल्लेख गरिएको छ।
यस्तै सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको अनुसन्धान अघि बढाउने नीति लिएको उल्लेख गरिएको छ।
यस्तै सरकारले आगामी ५ वर्ष आर्थिक वृद्धिदर दुई अंक नजिक पुर्याउने लक्ष्य लिएको छ।
साथै सरकारी काम छिटो र सहज बनाउन टाइम कार्ड लागु गरिने र सरल, सहज सरकारी सेवाको व्यवस्था गर्न र लाइन बस्नु नपर्ने बनाउन टाइम कार्ड लागु गर्ने उल्लेख गरिएको छ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन्।