सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

images
सोमबार, पुस २५ २०७९
images
images
चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

त्यस समयमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पनि आर्थिक तथा प्रविधिक सहयोग गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक चितेन चेम्जोङ बताए। 

images
images

फुङ्लिङ- ताप्लेजुङको सिरिजंगा गाउँपालिका-७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाए। चिराइतोबाट मनग्य आम्दानी पनि लिए। तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसके।  

images
images
images

राईले सात वर्षअघि एकै याममा ७५ मन(४० केजीको एक मन) सम्म चिराइतो उत्पादन गर्दैआएका थिए। राईले गरेको चिराइतो खेतीबाट प्रभावित भएर सोही गाउँका दावा शेर्पाले पनि अरु खेती गर्न छोडेर चिराइतो खेती गर्न थाले। जंगलमा मात्र पाइने घर आगनमै शेर्पाले चिराइतोको बेर्ना उमार्न थाले। बारीका कान्ला र डिलहरु कहिँकतै ठाउँ खाली नराखी चिराइतो बेर्ना लगाए। शेर्पाले पनि चिराइतोबाट राम्रो आम्दानी लिनुभएको थियो। 

images
images

त्यतिबेला सोही गाउँमा कमल राई वैदेशिक रोजगारीमा जनाका लागि सोच बनाउँदै थिए। तर चिराइतोको बजार मूल्यले राईको मन लोभ्यायो। अनि राईले वैदेशिक रोजगारी जाने सोच परिवर्तन भयो। उनले गाउँमा बाँझो जमिनमा चिराइतो खेती गर्न थाले।  एक/दुईजना गर्दागर्दै गाउँका प्रायः सबैले चिराइतो खेती गर्न थाले।

images
images
images

जंगलमा मात्र पाइने चिराइतो व्यावसायिक रुपमै हुन थाल्यो र मुख्य आम्दानीको स्रोत बन्न पग्यो। त्यस समयमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पनि आर्थिक तथा प्रविधिक सहयोग गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक चितेन चेम्जोङ बताए। 

जीविकोपार्जन गर्न तथा समुदायमा आम्दानीको स्रोत बढाउन परिषद्ले सहयोग गरेको चम्जोङको भनाइ रहेको छ। तर अहिले भने याम्फुदीनमा चिराइतो खेती गर्ने किसान भेट्न मुस्किल छ। विस्तारै चिराइतोको बजार मूल्य खस्कदै गएसँगै चिराइतो खेती गर्न छोडेर अन्य वैकल्पिक व्यवसाय गर्न थाल्नु भएको सिरिजंगा गाउँपालिका-७ सूर्यमान राईले बताए। 

राईले भने, 'विगतका वर्षमा २२ मनसम्म चिराइतो जम्मा गरियो तर अहिले भने खेती गर्न छाडियो।' फक्ताङलुङ गाउँपालिका-६ का राजकुमार राईले बजार मूल्य खस्कदै गएसँगै चिराइतो खेती गर्न छोडेर अलैँची खेती गर्न थालेका छन्। सिदिङवा गाउँपालिका-७ सुरुम्खिमका कृष्णकुमार तामाङले चार वर्षअघि चिराइतो बेच्न सेकनन्। पहिले प्रतिमन ३५ हजार रुपैयाँमा बिक्री गरेको चिराइतो कोरोना महामारीका कारण नाका बन्द हुनु र भाउसमेत आठदेखि १० हजार रुपैयाँमा झरेपछि बिक्री गर्न नसकेको तामाङ बताउँछन्। उनले करिब ५० रोपनीमा चिराइतो खेती गरेका थिए। 

व्यवसायी सविन बानियाँका अनुसार अहिले प्रतिमन चिराइतो झापामा २५ हजारदेखि ३० हजारमा कारोबार भइरहेको छ। यो गत वर्षको भन्दा करिब तीन गुणाले बढी हो। ‘‘केही वर्षअघि ३२ हजार प्रतिमन पनि तिब्बत् लगेर बेच्यौँ, त्यसपछि लगातार घटेको चिराइतोको मूल्य अहिले फेरि सुधार भएको छ,’’ व्यवसायी बानियाँले भने 'चीन तर्फको नाका बन्द भए पनि भारततर्फ कारोबार भइरहेको छ।' अलैँची उत्पादन नहुने क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत नै चिराइतो हो।

अन्तर्राष्ट्रियस्तरका ठूला व्यापारीले चिराइतोको मूल्य निर्धारण गर्छन्, किसानले पाउने भनेको थोरै मात्र हो। सस्तोमा खरिद गरेर भण्डारण गर्ने र अनि भाउ बढाउँछन्, फेरि किसानबाट खरिद गर्ने बेलामा भाउ घटाउने गरेको बानियाँ बताए। राज्यले नै यसलाई प्रशोधन गरेर बजारीकरणमा जोड दिनुपर्ने उनको भनाइ छ। 

फक्ताङलुङ गाउँपालिका-५ का चिराइतो व्यापारी सुसन लिम्बूका अनुसार किसानले चिराइतो खेती गर्न छाडेकाले चिराइतो संकलनमा कमी हुँदै गएको छ। उनले भने, 'चिराइतोका माग उच्च छ, तर उत्पादन छैन। दुई/चार वर्ष बजार मूल्य नहुँदा किसानले खेती गर्न छोडे।' विगतका वर्षको तुलनामा यसवर्ष एक तिहाई मात्र चिराइतो संकलन हुनसकेको उनको भनाइ छ।

कञ्चनजंघा संरक्षण क्षेत्रमा विगतका तुलनामा चिराइतो उत्पादन कमी हुँदै गएको परिषद्का कार्यालयका कार्यालय सचिव मनकुमार लिम्बूले बताए। पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो धेरैजसो भारततर्फ निकासी भइरहेको छ।

चार वर्षअघिसम्म जिल्लाको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बततर्फ पनि निकासी हुने गरेको थियो तर कोभिड-१९ का कारण चार वर्षदेखि टिपताला नाका बन्द हुँदा त्यसतर्फ चिराइतोलगायत सामानको निकासी पनि ठप्प बनेको छ। बिक्रीका लागि ओलाङ्चुङगोलासम्म पुर्‍याएका चिराइतो व्यापारीले फर्काएको फक्ताङलुङ गाउँपालिक-७ का वडाध्यक्ष छेतेन बालुङले बताए। अघिल्ला वर्षमा मूल्य उच्च हुँदा हेलिकप्टरबाटसमेत तिब्बत् लगिएको थियो। सात वर्षअघि एक लाख रुपैयाँ प्रतिक्विन्टल रहेको मूल्य दुई वर्षमा ३० हजार रुपैयाँमा झर्‍यो। त्यसयता क्रमशः बजार मूल्य ओरालो लाग्दै गयो। कुनै समयमा एक लाखमा बिक्री गरेर चिराइतो आठ हजारसम्ममा बिक्री गर्नुपरेको फक्तााङलुङ गाउँपालिका-६ लावचेका किसान बुद्धिराज राईले बताए। 

पाखाबारी र अन्य खेती गर्न नसकिने जंगल फाँडेर किसानले चिराइतो खेती गर्दै आएको छन्। प्रमुख नगदे बालीका रूपमा अलैँची र त्यसपछि चिराइतो खेती गर्ने क्रम बढे पनि भनेजस्तो मूल्य नपाउदा किसानमा उत्साह छैन। अलैँचीको समेत मूल्यमा एकरूपता नहुँदा समस्या हुने गरेको किसानको गुनासो छ। 

आर्थिक वर्ष २०७८/८९ मा  पाँच हजार आठ सय केजी चिराइतो संकलन भएको डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत बद्रीप्रसाद शाहले बताए। छुट पूर्जीका लागि प्रतिकेजी १५ रुपैयाँ राजस्व जम्मा गर्नुपर्दछ। पाँच हजार आठ सय केजी चिराइतो संकलन हुँदा ८७ हजार राजस्व जम्मा भएको कार्यालयले जनाएको छ। वन कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा आव २०७७/७८ मा १६ हजार तीन सय ३४.१० केजी चिराइतो संकलन भएको र यसबाट दुई लाख चौवालिस  हजार पाँच सय बढी राजस्व संकलन भएको थियो। जिल्लामा वार्षिक ३५ हजार केजीसम्म चिराइतो उत्पादन हुने गरेको शाहले बताए। 

नेपालमा कुल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ। यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ। बाँकी २० प्रतिशत चीन, स्वीडेन, हल्याण्ड, मलेशिया, सिंगापुर, जर्मनी, इटाली, फ्रान्स, स्वजरल्याण्ड, श्रीलंका, बंगलादेश, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ। 

यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ। परम्परागत चिकित्सा पद्दति जस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधिको रुपमा चिराइतोको प्रयोग हुने गर्दछ। मुख्यगरी यसको प्रयोग बलवद्र्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ। तिब्बती चिकित्सा पद्दतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ।

 महिलामा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छाला रोग, दाद निको पार्न/गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ। लामो समयदेखि नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायतका जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुनेगर्दछ। केही वर्षदेखि विभिन्न जिल्लामा चिराइतोको व्यावसायिकरूपमै खेती गर्न थालिएको छ। विश्वमा धेरै प्रकारका चिराइतो पाइने भए पनि नेपालमा १० प्रजातिका चिराइतो पाइन्छ। 

वनस्पति विभागका अनुसार विशेषगरी बारी वा झाडीको भित्तोमा प्राकृतिक रूपमै आफैंँ उम्रने र बढ्ने चिराइतोको वैज्ञानिक नाम ‘स्वेर्सिया चिराइतो’ हो भने यो ‘जेनसियानेसी’ परिवारमा पर्छ। यो वनस्पति खासमा ‘झार’ वर्गमा पर्ने बुट्यान हो। समुद्री सतहबाट करिब एक हजार पाँच सयदेखि चार हजार मिटर उचाइसम्म पाइने चिराइतो एक किसिमको जडीबुटी हो। औषधिका रूपमा प्रयोग गरिने यो वनस्पति शक्तिवद्र्धक र बियरमा तीतोपन ल्याउनसमेत प्रयोग गरिन्छ। कीटाणुनाशक यो जडीबुटी जनावरले नखाने र रोगकीरासमेत लाग्दैन। रासस


प्रकाशित : सोमबार, पुस २५ २०७९०८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend