काठमाडौं- चन्द्रागिरि हिल्सा लिमिटेडको वित्तीय अवस्थामा सुधार देखिएको छ।
कोरोना महामारीका कारण २ वर्ष दबाबमा परेको वित्तीय अवस्था गत वर्षदेखि सुधार देखिएको छ।
आर्थिक वर्ष २०७८/७९ मा महामारीको प्रभाव न्यूनीकरण भएसँगै केबलकारका यात्रु महामारीअघिको तुलनामा ९० प्रतिशत पुगेका थिए। रिसोर्टको अकुपेन्सीमा पनि सुधार देखिँदा गत वर्ष कम्पनीको आम्दानी तथा नाफामा सुधार भएको थियो।
महामारीका दुई वर्ष नोक्सानीमा चलेको कम्पनीले गत वर्ष ३ करोडबढी नाफा आर्जन गरेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिसोर्टको अकुपेन्सी तथा केबलकारका यात्रु घटेपनि दर बढेकाले नाफामा असर न्यून देखिएको छ।
चालु वर्षको चार महिनामा ३२ प्रतिशत अकुपेन्सी रहेको छ जुन गत वर्षको यही अवधिमा ४६ प्रतिशत थियो। रिसोर्टमा औषत कोठाको दरमा वृद्धि हुँदा नाफामा असर न्यून परेको छ। गत वर्ष औषत मूल्य प्रतिकोठा ७ हजार ३४९ रुपैयाँमा रहेकोमा यो वर्ष बढैर १० हजार ४३८ रुपैयाँ पुगेको छ।
यो वर्षको पहिलो तीन महिनामा कम्पनी १८ करोडको आम्दानी गरेको छ। त्यस्तै करपछिको नाफा १ करोड ३० लाख रहेको छ। कम्पनीको सञ्चालन मुनाफामा पनि वृद्धि भएको छ। गत वर्ष कूल आम्दानीको ५७ प्रतिशत नाफा रहेकोमा यो वर्ष ६२ प्रतिशत पुगेको छ।
वित्तीय सूचक तथा तथ्य्यांकमा सुधार भएपछि इक्रा नेपालले कम्पनीको क्रेडिट रेटिङमा सुधार गरेको छ। इक्राले कम्पनीलाई डबर बी प्लस रेटिङ दिएको छ।
चन्द्रागिरीमा एक सय कोठाको बुटिक रिसोर्ट तथा केबलकार रहेको छ। आईएमई समूहको प्रबर्द्धनमा सञ्चालन भएको यो कम्पनीले सर्वसाधारणलाई सेयर पनि जारी गरेको छ।