काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक सुधारको काम अघि बढेको बताएका छन्। सरकारको पहिलो प्राथमिकता नै आर्थिक समस्या समाधान रहेको र सोही अनुसार अहिले सुधारका काम अघि बढेको बताएका छन्।
सरकारको प्राथमिकता र कामले गर्दा अहिले अर्थतन्त्रमा सकारात्मक संकेत देखिन सुरु भएको उनको भनाइ छ। ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर भएर एकीकृत कारोबार सुरु भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै दाहालले अर्थतन्त्रमा संरचनागत समस्या रहेपनि अहिलेलाई तत्कालीन समाधान खोजिएको उनको भनाइ छ।
नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको समन्वयले अर्थतन्त्रमा देखिएका समस्या समाधानको काम अघि बढेको र परिणामहरू देखिन सुरु भएको बताए।
रेमिट्यान्समा आधारित अर्थतन्त्र र घरजग्गामा अधिक लगानीले अर्थतन्त्रमा केही न केही समस्या देखिएको र यसको समाधानका लागि सकरारले ठोस योजना ल्याउने उनको भनाइ छ। सरकारको न्यूनतम साझा कार्यक्रमले पनि दीगो आर्थिक विकासलाई प्राथमिकता दिएको र सबैको साथ र सहयोग भए आफ्नो कार्यकालमा सबल अर्थतन्त्रको जग बसाउने उनको भनाइ छ।
मर्जरबाट देशकै ठूलो बैंक बनेको ग्लोबल आईएमई बैंकबाट देशलाई आवश्यक लगानी जुटाउन सहयोगी हुने उनको भनाइ छ। ठूला हुँदा साना र सर्वसाधारले वित्तीय पहुँचबाट टाढा हुनसक्ने जोखिमलाई ध्यान उनले आग्रह गरेका छन्।
बैंकिङ नयाँ प्रविधिको प्रवेशले धेरै कुरा सहज र उत्तिकै जोखिम पनि भित्र्याएकाले यसको लाभ लिनका लागि काम गर्न सबैलाई आग्रह गरेका छन्।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले ग्लोलबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र आफ्नो राजनीतिक जीवन उस्तै भएको बताए।