काठमाडौं- चिनियाँ नागरिक तथा सेलिब्रेटी अर्बपति ज्याक मा पछिल्लो १ वर्षदेखि पश्चिमा मिडियाको शीर्षक बनिरहेका छन्। उद्योग व्यवसायको विस्तार तथा नयाँ उचाइका कारणले होइन कि चिनियाँ सरकारको निसानालाई लिएर उनी शीर्षक बनिरहेका छन्।
कोरोना महामारीकालमा कल्याणकारी कामले चर्चित भएका अलिबाबाका संस्थापक ज्याकमा पछिल्लो समय अलिबाबाकै सहायक कम्पनी एन्ट ग्रुपको शिलशिलामा चर्चित भएका छन्।
एन्ट ग्रुपले ज्याकमाको स्वामित्व अब नरहेको शनिबार उल्लेख गरेको रोयटर्सले समाचार लेखेको छ। ज्याकमा आफैले स्थापना गरेर सफलताको शिखरमा पुर्याएको कम्पनीको नियन्त्रण अब उनको रहने छैन।
कम्पनीमाथिको नियन्त्रणमात्र होइन ज्याकमाले भोटिङ राइट पनि गुमाएका छन्। समाचारहरूमा उल्लेख गरिए अनुसार पछिल्लो विवरण अनुसार एन्ट ग्रुपमा ज्याकमाको भोटिङ राइट अब ६.२ प्रतिशतमात्र रहेछ। कुनै समय ५०.५ प्रतिशत सेयर भएका माको घटेर १० प्रतिशत भएको छ।
सन् २०२० पछि ज्याकमाको निरन्तर ओरालो यात्रा सुरु भएको थियो। कुनै समय एसियाकै सबैभन्दा धनी र संसारकै ८ औँ धनी बनेका ज्याकमाको सम्पत्ति घटेर अहिले संसारकै ३४ औँ धनीमा धकेलिएका छन्।
चिनिया अर्बपति ज्याकमा संसारभर उत्तिकै प्रतिष्ठित बनेका थिए। राज्य नियन्त्रित अर्थव्यवस्था रहेको चीनमा सरकार प्रमुखभन्दा चीन बाहिर धेरै लोकप्रिय भएपछि उनी सरकारको तारो बनिरहेका थिए।
सन् २०२० को अक्टुबरमा ज्याकमाले एउटा सार्वजनिक कार्यक्रममा गरेको भाषण निकै महंगो पर्यो। सरकार र चिनियाँ व्यवस्थाप्रति आलोचना गरिएको उक्त भाषणलाई लिएर चिनियाँ राष्ट्रप्रति सिजिनपिङ नै आक्रोशित बनेको कतिपय मिडिया रिपोर्टमा उल्लेख छ।
सन् २०२० को अक्टुबर २४ को एउटा कार्यक्रममा चिनियाँ उच्च पदस्थ अधिकारीहरू सहभागी थिए। उनले त्यही कार्यक्रममा चीनको बैंकिङ प्रणालीलाई लिएरआलोचना गरेका थिए। उनले चीनका बैंकहरू नयाँ जमिनदारजस्ता भएको उनले बताएका थिए। चिनियाँ बैंकहरूको यस्तो रबैयाले गर्दा उद्दमशीलता विकास नहुने उनको भनाइ थियो।
बैंकमात्र होइन नियामकहरूप्रति पनि उनले तिखो आलोचना गरेका थिए। नियाकहरू सहजीकरण होइन अड्काउनका लागि खुलेका संस्थाजस्तो भएको उल्लेख गरेका थिए। जब उनले बोलेको कुरा चीनभर फैलियो त्यसले शासनसत्तामा रहेका सबैलाई एकसाथ आक्रोशित बनायो।
चिनियाँ राज्य संयन्त्र ज्याकमाको पछाडि लागिपर्यो। उनका हरेक व्यवसायमा अवरोध गर्नका लागि नियामकहरू लागिपरे। अवस्था यतिसम्म आयो कि उक्त घटनाको छ महिनासम्म ज्याकमाको अत्तोपत्तो भएन। उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएनन्।
छ महिनापछि पश्चिमा मिडियाहरूले ज्याकमा जापानमा रहेको उल्लेख गरेका थिए। अहिले भने ज्याकमा थाइल्यान्डमा भेटिएको समाचारहरू प्रकाशित भएका छन्। तर पछिल्लो समय ज्याकमा सार्वजनिक कार्यक्रममा निकै कम देखिएका छन्।
चीनको सरकारी निकाय उनका पछि लाग्यो तब उनका सबै योजना तुहिए। सुरुमा एन्ट समूहले ३७ अर्ब डलरको आईपीओ जारी गर्न खोजेको थियो। तर चिनियाँ नियमकले अन्तिममा आएर यसलाई रोकिदिएको थियो।
चीनको संघाइ स्टक एक्सचेन्ज र हङकङ स्टक एक्सचेन्जमा सूचीकरणका लागि प्रक्रिया अघि बढेपनि अन्तिममा रोकिएको थियो।
ज्याकमा माथि चिनियाँ नियामकको कडाइ एन्ट समूहमै रोकिएन। उनकै अर्को कम्पनी अलिबाबालाई २ अर्ब ८० करोड डलरको जरिबाना तिराइएको थियो।