शुक्रबार, चैत १६ गते २०८०    
images
images

जलवायु अनुकूलन कार्यक्रमले फेरिएको कृषकको जीवन

images
images
जलवायु अनुकूलन कार्यक्रमले फेरिएको कृषकको जीवन

गण्डकी प्रदेशमा कृषि तथा खाद्य सुरक्षा, पानीको स्रोत, संस्कृति तथा पर्यटन क्षेत्र अन्य क्षेत्रको तुलनामा जलवायु परिवर्तनका कारण बढी सङ्कटमा रहेका छन् ।

images
images

पोखरा- पोखरा महानगरपालिका–२१ का लक्ष्मी थापाको दैनिकी दशक अहिले निकै फेरिएको छ । कार्यबोझ उही र उस्तै भए पनि काम गर्ने तरिका आयआर्जनसँग जोडिएर दैनिकीलाई व्यस्त बनाउन पाउँदा उनीमा बेग्लै खुसी छाएको छ । थापा उमेरले ४० पुगिन्। तीन सन्तानकी आमा, ग्रामीण परिवेश त्यसमाथि श्रीमान साथ नपाएको १५ वर्ष भयो । एक्लै परिश्रम गरेर तीन सन्तान हुर्काउनु र घरधन्दाको सकस सम्झन पनि सहज छैन तर यो सब बिर्सन पनि सक्दिनन्। जीवनमा धेरै उतारचढाव आए तर सम्हालिँदै गइन्।

images
images
images

'जसरी अहिले पृथ्वीमा जलवायु परिवर्तनले प्रभाव पारको छ, भइरहेका खेतीपाती हुन छाडेका छन् । चारैतिर देखिने मूलहरू सुक्न थालेका छन् । न धान रोप्ने समयको टुङ्गो छ न त कोदो रोप्ने नै' लक्ष्मी घर अगाडिको हरियालीतिर आँखा दौडाउँदै विगतका केही दु:ख सम्झँदै अहिले फेरिएको दैनिकी सम्झिन्छिन् 'ओहो, त्यो समय एक गाग्री पानी लिन दुब्बे पीपल एक घण्टाको बाटो जानुपर्थ्यो, अनि फर्केपछि घरधन्दा चटारो सघाउने हात थिएन । घरभित्रको काम खेतबारीको काम, कार्यबोझ थामिसक्नु थिएन, अहिले त धेरै सुविस्ता भयो नि, घरआँगनमै खानेपानीको धारा छ आधा समय बचेको छ।'

images

सन् २०१२ बाट विभिन्न सङ्घसंस्थाको सहयोगमा जलवायु परिवर्तन अनुकूलन कार्यक्रमको सुरुआत भएसँगै यहाँका विभिन्न वडाका मानिसहरूले ठूलो राहतको महसुस गरेका छन् । ती कार्यक्रमहरूले परम्परागत रुपमा गरिँदै आएको खेती किसानीलाई जलवायु अनुकूल हुने गरी परिमार्जित रुपमा खेती गर्न सिकाए, घण्टौँ टाढाबाट पानी भरेर बिहान– बेलुकाको छाकको जोहो गर्ने परिवारको घरआँगन नजिक पानीको धारा जडान गरी पानीको सुविधा पुगेको, आयआर्जन र जीविकोपार्जनमा मद्दत पुग्ने सीप तथा ज्ञान हस्तान्तरण गर्नाका साथै महिला सशक्तिकरणको कार्यमार्फत समाजलाई रूपान्तरण गर्न सहयोग गरेका छन् । 

images
images

'पहिला हरियो वन कार्यक्रम नआउँदा परम्परागत खेती गर्नुपर्थ्यो, विकल्प के हुन्छ भन्ने थाहा थिएन, मौसम राम्रो भए उत्पादन हुन्थ्यो नभए हुँदैनथ्यो । आम्दानीको स्रोत कम थियो' उनीले कार्यक्रम आइसकेपछि महिला कार्यक्रममा सहभागी हुन विभिन्न समितिहरुमा बस्न थालेको, आफ्नो परिचय दिन थालेको, घुम्ती कोषमा आबद्ध भएर आयआर्जनमा जोडिन थालेको निकै सकारात्मक परिवर्तन हुँदै गएको बताइन्। 

महिलालाई समाजमा हिँड्दा पनि कता गई भनेर औँला ठड्याउने  समाजले अहिले महिलाको उपस्थिति खोज्न थालेको उनको भनाइ छ । उनले एक घण्टा दुब्लेपीपलबाट ठूलो खोलामा गएर पानी लिएर आउनु पर्दाको त्यो थकान,  घरायसी काम बोझ सम्झँदै भनिन् 'अहिले जलवायु अनुकूलन जीविकोपार्जन कार्यक्रमपछि धेरै कुरामा परिवर्तन आएको छ, योसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट रु पाँच लाखको अनुदानमा सुन्तलाको बिरुवा उत्पादनसँगै आयआर्जनमा जोडिन सफल भएकी छु।'

पोखरा महानगरपालिका–२१ को  बाउन्न लेक वन उपभोक्ता समितिले हरियो वन कार्यक्रमको सहयोगमा विभिन्न जलवायु परिवर्तन अनुकूलन कार्यक्रम सञ्चालन गरेको थियो । 

नेपालमा जलवायु परिवर्तनको नकारात्मक प्रभावको जोखिम उच्च रहेका राष्ट्रहरुमध्ये एक हो । नेपालमा विगत केही दशकयता बाढी पहिरो, डढेलो तथा खडेरी जलवायुजन्य प्रकोपहरुका कारण ठूलो मात्रामा जनधनको क्षति भइरहको छ । कृषि जलस्रोत  वन तथा जैविक विविधता मानव स्थास्थ्य पर्यटन ऊर्जा तथा पूर्वाधार क्षेत्रहरुमा समेत जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरु देखिएका छन् । 

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले हालै सार्वजनिक गरेको सङ्कटासन्न र जोखिम विश्लेषण तथा अनुकूलनका उपायको पहिचानसम्बन्धी प्रतिवेदनअनुसार नेपालका ५० जिल्ला जलवायु परिवर्तनको समग्र असरबाट उच्च र अति उच्च सङ्कटमा रहेका छन् । यसमध्ये गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, मनाङ र गोरखा जिल्ला अति उच्च सङ्कटमा रहेका छन् भने कास्की, पर्वत र नवलपुर जिल्ला उच्च सङ्कटमा रहेका छन् । 

त्यसैगरी, गण्डकी प्रदेशमा कृषि तथा खाद्य सुरक्षा, पानीको स्रोत, संस्कृति तथा पर्यटन क्षेत्र अन्य क्षेत्रको तुलनामा जलवायु परिवर्तनका कारण बढी सङ्कटमा रहेका छन् ।

सहयोगी संस्थाले विशेष गरी जैविक विविधता संरक्षणसँगै जलवायु परिवर्तन र यसले पार्ने प्रभावसँग जुध्न जलवायु अनुकूलनका कार्यक्रमलाई जोड दिएको थियो । जैविक विविधता संरक्षणका चुनौतीलाई कम गर्न र जलवायु परिवर्तनले पारेको असर कम गर्न सङ्कटासन्न क्षेत्रहरुमा जलवायु अनुकूलनका कार्यहरु सञ्चालन भएका थिए । तत्कालीन कृषि गाउँ विकास समिति हाल (पोखरा महानगर– २१) का सामुदायिक वन उपभोक्ता समितिलगायत स्थानीय सरोकारवालाहरुले गरिबी र जोखिमका अन्तर्निहित कारणहरुको खोजीको अभ्याससँगै स्रोतको अवस्था, शक्ति अवस्था नक्साङ्कन, सामाजिक प्रकोपको जोखिम नक्साङ्कन, जैविक विविधताको खतराको विश्लेषण गरिएको थियो । यसै क्रममा बाउन्ने लेक सामुदायिक उपभोक्ता समूह रहेको वडामा स्थानीय जलवायु परिवर्तन अनुकूलन कार्ययोजना’ मार्फत जलवायु परिबर्तन र यसको अनुकूलनसम्बन्धी सचेतना, सामुदायिक सिकाइ तथा कार्य केन्द्रमार्फत महिला सशक्तिकरण, सामुदायिक वन उपभोक्ता समूहको संस्थागत क्षमता विकास, थोपा सिँचाइ, टनेल, सुधारिएको चुल्हो, मकै सेलर, गोबर सोहर्ने रेक, प्लाष्टिक पोखरी, भकारो सुधार, बाख्रापालन, तरकारी खेती आयआर्जनलगायत पानीका स्रोतहरु संरक्षण, भूसंरक्षण आदि कार्यक्रमहरु सञ्चालन गरिएको थियो । यसका सन्दर्भमा हरियो वन कार्यक्रमले चितवन अन्नपूर्ण भूपरिधि र तराई भूपरिधिअन्तर्गत एक हजार ५०० भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहलगायत अन्य प्राकृतिक स्रोत व्यवस्थापन समूहमा कार्यक्रम सञ्चालन गरेको थियो ।

अर्का स्थानीय कृषक एवम् समूहका उपाध्यक्ष विष्णुमाया थापाले सुन्तला राम्रो हुने स्थानमा अहिले सुन्तला उत्पादन घट्दै गएको बताइन्। उनले पहिला टनेल बाहिर लगाएका काँक्रो र गोलभेँडा कुहिएर लगानी खेर गएको र पछिल्लो समय टनेलमा लगाउँदा राम्रो उत्पादन भएर बिक्री वितरण गर्न सफल भएको सुनाइन्। उनले अहिले यस क्षेत्रका सबै किसानलाई थप टनेल आवश्यक भएकाले स्थानीय सरकारले उपलब्ध गराउन आग्रहसमेत गरिन्। 

पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष खगराज आचार्य अहिले वडाको उक्त उपभोक्ता समूह नमूना समूह भएको बताए। 

'ग्रामीण विकासका लागि मानिसभित्र चेतना अनुभव ज्ञान सीप जागरणको आवश्यकता हुन्छ, उक्त गाउँमा जलवायु परिवर्तन अनुकूलन कार्यक्रमले समूहका सदस्यहरुको जीवनमा सकारात्मक परिवर्तन आएको छ' उनले भने। रासस

images

प्रकाशित : बिहीबार , असोज २८ २०७८०८:३०
  • सम्बन्धित विषय:

  • # मौसम
  • # climate
  • # agriculuture


  • प्रतिक्रिया दिनुहोस
    images
    ट्रेन्डिङ