काठमाडौं- बजारका मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीको आम्दानीमा गिरावट आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले घटेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका शेखर गोल्छा अध्यक्ष रहेको गोल्छा समूह अन्तर्गतको यो कम्पनीको आम्दानीमा असर परेपनि मार्जिनमा भने खासै फरक नदेखिने प्रक्षेपन गरिएको छ।
क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले गरेको पछिल्लो रेटिङ प्रतिवेदन अनुसार कम्पनीले चालु वर्षको कूल आम्दानी पनि घट्ने प्रक्षेपण गरेको छ। गएको वर्ष २५ अर्ब ४२ करोडको आम्दानी गरेको यो कम्पनीको व्यापार यो वर्ष २२ अर्बमा सीमित हुने प्रक्षेपन गरिएको छ।
वित्तीय स्रोतमा देखिएको दबाबले बजारमा मागमै गिरावट आएको र यसको प्रत्यक्ष असर कम्पनीले बिक्री गर्ने मोटरसाइलमा पर्ने देखिएको छ। पहिलो त्रैमासमा देखिएको व्यापक गिरावट नै यसको मुख्य आधार हो। कम्पनीको कूल आम्दानी बजारका मोटरसाइकल बिक्रिबाट हुँदै आएको छ। यो कम्पनीले नेपालमा बजाजका मोटरसाइल आयातसँगै उत्पादन पनि गर्दै आएको छ।
बजाज बाहेक केटीएम मोटरसाइकल, टीभीएस टायर, सर्भो लुब्रिकेन्टको आधिकारिक डिलर हो। बजाजकै तीपांग्रे सवारी पनि बिक्री गर्दै आएको यो कम्पनीले एउटा बजाजको र दुईवटा केटीएमको शोरुम सञ्चालन गर्दै आएको छ।
आम्दानीमा आधाभन्दा बढीको गिरावट पहिलो त्रैमासमा देखिएता पनि यसको मार्जिनमा भने खासै फरक नदेखिने प्रक्षेपन इक्रा नेपालले गरेको छ। गत वर्ष कूल आम्दानीको ८.१४ प्रतिशत सञ्चालन मुनाफा आर्जन गरेको कम्पनीले यो वर्ष पनि ८.०७ प्रतिशत आर्जन गर्ने प्रक्षेपण गरिएको छ। यो कोरोना महामारी सुरु हुनुपहिलेको वर्षको भन्दा उच्च हो।
आम्दानीमा एकातिर गिरावट र अर्कोतिर ऋणको ब्याज बढ्दा ऋण भार बढ्ने देखिएको छ। विशेषगरी चालुपुँजी कर्जाको तह झन बढ्दै जाने देखिएको छ। राष्ट्र बैंकले चालु पुँजी कर्जाको सीमा कूल आम्दानीको २५ प्रतिशत मात्र लिन पाइने व्यवस्था ल्याएको छ। उच्च ब्याजदर लगायतका नीतिगत परिवर्तनले गर्दा यो कम्पनीको रेटिङलाई इक्राले नेगेटिभ वाचलिस्टमा समेत राखेको छ।