काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलसँगको वार्तापछि उद्योगीहरूको आन्दोलन स्थगित भएको छ। कात्तिकदेखि लागु भएको चालु पुँजी कर्जा मार्गदर्शन २०७९ स्थगन, ब्याजदर वृद्धि, सीडी रेसियो घटाउनुपर्नेलगायत माग राख्दै व्यवसायी आन्दोलनरत थिए।
उद्योग वाणिज्य महासंघ अन्तर्गतका जिल्ला संघ तथा वस्तुगत संघहरूले लामो समयदेखि आन्दोलन गरिरहेका थिए। अर्थमन्त्री पौडेलसँग बुधबार भएको वार्तासँगै आन्दोलन स्थगित भएको महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले जानकारी दिइन्।
राणाकै नेतृत्वमा बुधबार अर्थमन्त्री पौडेल, राष्ट्र बैंकका गभर्नर महासप्रसाद अधिकारीसहित उद्योगी व्यवसायीहरूको वार्ता भएको थियो। ‘मन्त्रीज्यूले पुस महिनाभरिमा सबै माग सम्बोधन गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाएपछि अन्दोलन स्थगित गरियो,’ राणाले भनिन्।
उद्योगी व्यवसायीहरूका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अर्थमन्त्री पौडेलसँग मंगलबार पनि भेटेर आफ्ना माग तथा सुझाव राखेका थिए।
चुनावअघिदेखि नै नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गदर्शन २०७९ को विरोधमा रहेका उद्योगी व्यवसायीले पछिल्लो समय आन्दोलन गरिरहेका थिए।
व्यवसायीहरूको आन्दोलन तथा पछिल्लो समय निरन्तर देखिएको वित्तीय स्रोतको अभावकै बीचमा मन्त्रिपरिषदको बैठकले अर्थतन्त्रलाई सामान्य बनाउनका लागि काम गर्ने निर्णय पनि गरिसकेको छ।