शनिबार, असोज ५ गते २०८१    
images
images

हतारमा जोखिम मोलेर डुङ्‍गाको यात्रा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ११ २०७९
images
images
हतारमा जोखिम मोलेर डुङ्‍गाको यात्रा

हुलाकी राजमार्गअन्तर्गत सत्तीमा पुल निर्माण भएको भए पनि त्यहाँको भन्दा बढी आवागमन सन्कट्टी र दौलतपुरबाट हुने गरेको छ।

images
images

कैलाली- कैलालीको टीकापुर नगरपालिका-२ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा थिए। हतारमा घरबाट निस्किएका उनले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा एक घण्टा कुरे। डुङ्‍गा (स्टिमर)को भरमा नदी तर्नुपर्ने बाध्यताका कारण वीरबहादुरजस्ता कयौँ व्यक्ति समयमै आफ्नो गन्तव्यमा पुग्न सकेनन्।

images
images
images

'भाइटीका दिन साइतमै पुगेर टीका लगाउने मनस्थितिले घरबाट निस्किएको थिएँ। एक घण्टाभन्दा बढी समयसम्म डुङ्‍गाको पालो पर्खिन लाग्यो' उनी भन्छन्, 'नदीमा पुल भइदिएको भए कसैले कसैका लागि पर्खनुपर्ने अवस्था आउने थिएन होला।' एउटै डुङ्‍गामा सयौँलाई वारपार गराउनुपर्दा र यात्रुले  पालो नपाउँदा समयमै गन्तव्यमा पुग्न पाएनन्। डुङ्‍गालाई एकपटक वारपार गर्न आधा घण्टा लाग्ने भएका कारणले पनि वीरबहादुरलाई गन्तव्यमा पुग्न समय लागेको हो। 

बर्दियाको पाताभारबाट टीकापुर आउनुभएका अनिश थारू पनि डुङ्‍गाको पालो पर्खेर बसेका थिए। निकै छट्पटी देखिएका उनी निकै हतारमा थिए भन्ने कुराको भाव बाहिरै छल्किन्थ्यो। 'तिहारको अघिल्लो दिन नै टीकापुर आएको थिएँ, दिदीले बर्दिया आउन नसक्ने भनेपछि टीका थाप्न आएको थिएँ', अनिश भन्छन्, 'निकै ढिलो भयो। डेढ घण्टादेखि पालो पर्खेको अझै पालो आएको छैन। घरमा दिदीबहिनी टीका लगाउन मलाई पर्खेर बसेका छन्। कतिबेला पुगिन्छ थाहा छैन।'

कैलालीको लम्कीचुहा नगरपालिकाका मीनबहादुर धामीलाई पनि निकै हतार थियो। हतारमा सन्कट्टी पुगेका उनलाई कर्णाली नदी पार गर्न एक घण्टाभन्दा बढी लाग्यो। घरमा भएका दिदीबहिनीसँग टीका लगाएर बर्दियामा रहेकी दिदीको हातबाट टीका लगाउनका लागि शान्तिबजार जान लागेका उनी डुङ्‍गामा सवार गर्ने नागरिकको भीडले समयमै गन्तव्यमा पुग्न पाएनन्।

images

'राजापुरबाट जाँदा एक घण्टा ढिलो हुने भएकाले यताबाट आएको हुँ। सन्कट्टीमा पनि अवस्था उस्तै रहेछ', धामी भन्छन्, 'मानिसको निकै चाप छ, त्यसैमा पनि सवारीसाधनले भरिएको डुङ्‍गामा यात्रा गर्दा पारि पुग्न पाइन्छ कि पाइँदैन भन्ने ठूलो डर।' चाडपर्वको समयमा नदी वारपार गर्ने नागरिकको निकै भीड लाग्ने गरेको छ। एकपटकमा १५ देखि २० जनासम्मलाई नदी तार्न सक्ने डुङ्‍गामा त्यहीँ मात्रामा सवारीसाधन पनि भरिएका हुन्छन्।

नदी वारपार गर्ने अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्। एउटा व्यक्तिले नदी तर्दा २५ र मोटरसाइकलको ५० रुपैयाँ तिर्नुपर्छ। नदीसम्म सवारीसाधन नभएकालाई पुग्न अझ कठिन छ। टीकापुरबाट नदीसम्म पुग्नका लागि एकमात्र विकल्प बनेको छ अटोरिक्सा। नदीसम्म पुगेको एक यात्रुको रु पाँच सयसम्म रिक्सा चालकले लिने गरेका छन्।

टीकापुरका मनोज चौधरी विगत तीन वर्षदेखि त्यहीँ मार्गमा अटोरिक्सा चलाउँछन्। टीकापुरदेखि सन्कट्टीसम्म पुर्‍याएको पाँच सय रुपैयाँ लाग्ने गरेको छ। नदी तरेर पारि बर्दिया क्षेत्रमा पुगेपछि पनि अटोरिक्साभन्दा अर्को सवारीसाधनको विकल्प छैन। त्यहाँबाट शान्तिबजार पुगेको पनि पाँच सय तिर्नुपर्ने बाध्यता छ। अस्तव्यस्त सडकका कारण रिक्साको भाडा महँगो हुन गएको उनी बताउँछन्। 'बाटो निकै अप्ठ्यारो छ, पेट्रोल महँगो छ' मनोज भन्छन्, 'बाटो राम्रो भए समयमै यात्रुलाई पुर्‍याउन सकिन्छ। बाटोकै कारण यात्रु मारमा परेका छन् तर हाम्रो पनि बाध्यता छ।'

बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकासँग टीकापुरको सम्बन्ध पारिवारिक र व्यापारिकरूपमा नजिक छ। हुलाकी राजमार्गअन्तर्गत सत्तीमा पुल निर्माण भएको भए पनि त्यहाँको भन्दा बढी आवागमन सन्कट्टी र दौलतपुरबाट हुने गरेको छ। त्यहाँ दुवै क्षेत्रमा वर्षौँदेखि डुङ्‍गा सञ्चालन हुँदै आएको छ। स्थानीय सरकारले डुङ्‍गा सञ्चालन गरेवापत राजस्व सङ्कलन गर्दै आएको छ।

सनकट्टीमा पुल निर्माणका लागि गत आर्थिक वर्षमा नै बोलपत्र आह्वान भएर ठेक्कासमेत भएको छ। ठेक्का भएको पुल निर्माणको कुनै प्रक्रिया अहिलेसम्म नभएको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन्। पुल निर्माण भएपछि सहजरुपमा आवागमन गर्न सक्ने भन्दै पुल निर्माणको काम समयमै सम्पन्न गर्न स्थानीयवासीको माग छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ११ २०७९०७:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend