बिहीबार , असोज ३ गते २०८१    
images
images

निर्माण व्यवसायमा उदाहरणीय सुमन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ११ २०७९
images
images
निर्माण व्यवसायमा उदाहरणीय सुमन

सुरुमा ढुङ्गा, इँटा, छड, सिमेन्ट बोक्ने, तारजाली भर्ने, गारो लगाउने, प्लाष्टर गर्ने काम गरेकी उनले यतिबेला समाजमा अब्बल र साहसी महिला निर्माण व्यवसायीका नामले आफ्नो पहिचान बनाएकी छिन्।

images
images

पाल्पा- भवन निर्माणमा पुरुषकै नेतृत्व प्रायःजसो भेटिन्छ। संलग्न महिलाहरू तल्लो तहमा मजदूरमै सीमित रहन्छन्। संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन्। तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै उदाहरणीय महिला निर्माण व्यवसायी हुन्। अहिले उनलाई यस क्षेत्रमा भवन निर्माणको काममा भ्याइनभ्याइ छ। 

images
images
images

पाल्पाको रामपुर नगरपालिका-४ स्थित बाङ्गेपसलकी सुमन करिब दुई दशकदेखि यस क्षेत्रमा आबद्ध छिन्। एक दशकदेखि भने आफ्नै नेतृत्वमा घर भवन निर्माण गरिरहेकी छिन्। सुरुमा ढुङ्गा, इँटा, छड, सिमेन्ट बोक्ने, तारजाली भर्ने, गारो लगाउने, प्लाष्टर गर्ने काम गरेकी उनले यतिबेला समाजमा अब्बल र साहसी महिला निर्माण व्यवसायीका नामले आफ्नो पहिचान बनाएकी छिन्। आफूले पढ्ने रहर भएर पनि परिवारको अर्थावस्थाले पढ्ने वातावरण नबनेपछि श्रीमान्सँगै सुमन यस क्षेत्रमा लागेकी हुन्। 

उनी भन्छिन्, 'मैले पढ्न नपाए पनि दुःख गरेर छोरीलाई काठमाडौँमा राखेर उचित शिक्षामा लगानी गरिदिएको छु, छोरीले पनि चारवर्षे कम्प्युटर इञ्जीनियरिङ उत्तिर्ण गरिन्, मैले भोगेको दुःख छोरीले भोग्न नपरोस्।'

पूर्वी पाल्पा मजदूर व्यवसायी समितिको उपाध्यक्षसमेत रहेकी सुमन घरमा बेरोजगार बसेका महिलालाई आर्थिक उपार्जनका निम्ति आफूले सीप सिकाएर काम दिने गर्छिन्। समय र कामअनुसार मजदूरलाई पारिश्रमिक उपलब्ध गराउँदै आएको उनी बताउँछिन्। सुमनको  नेतृत्वमा काम गर्ने मजदूरले दैनिक आठ घण्टा काम गरेवापत छ सयदेखि एक हजार रुपैयाँसम्म ज्याला बुझ्छन्। उनले दैनिक न्यूनतम १० देखि बढीमा २० कामदार परिचालन गर्दै आएकी छिन्। 

images

'हातमा सीप भएपछि पुरुषसरह नै काम गर्न सकिन्छ, अरुको भरमा रहँदा महिला हेपिनुपरेको छ', उनले भनिन्, 'यस कामबाट समाजमा दाम र नाम मिलेको छ, यसमा म एकदमै सन्तुष्ट छु। तर कतिपय सन्दर्भमा भने मजदूर वर्ग भनेपछि गाउँ समाजमा कामको सम्मान छैन।' 

आफूले सकुञ्जेलसम्म यसै व्यवसायमा रहने सुमनको भनाइ छ। विभिन्न स्थानबाट माग आए पनि कामको चापले रामपुर नगरपालिकाभित्रै व्यस्त छिन्। हाल उनी दुईवटा घरको ठेक्का लिएर काम गरिरहेकी छिन्। उनले आवासीय घरमात्र नभइ विद्यालय तथा मस्जिद, विभिन्न सङ्घसंस्थाको भवन निर्माण गर्दै आएकी छिन्। 

सम्बन्धित घरधनी तथा सङ्घसंस्थाले दिएको आकारअनुसार नै जस्ताको तस्तै निर्माण गर्ने उनको कला छ। त्यसकारण पनि सुमन यस क्षेत्रकै निर्माण व्यवसायीमा साहसी, सफल व्यवसायीका रूपमा कहलिएकी छिन्। यस क्षेत्रमा काम सुरु गरेपछि साढे चार आनाको जग्गा किनेर घर बनाएकी छिन् भने दुई घडेरीसमेत जोड्न सफल भएकी छिन्। अहिले श्रीमान् र श्रीमती नै यसै क्षेत्रमा सक्रिय भएर काम गरिरहेका छन्। हातमा सीप भएका कारण कोभिड-१९ को समयमा पनि उनलाई एक दिन खाली बस्नु परेन। 

यस व्यवसायमा खर्च कटाएर वार्षिक न्यूनतम दुई लाख बराबरको कमाइ गर्दै आएकी छिन्। घर भवन निर्माणमा आवश्यक पर्ने करिब सात लाख बराबरको विभिन्न सामग्री आफैँ बन्दोबस्त गरेकी छिन्। बर्सेनि १ लाख ५० हजारभन्दा बढी सामग्री खरिदमा नै लगानी गर्छिन्। हालसम्म तीन सय बढी घर भवन निर्माण सम्पन्न गरिसकेकी छिन्। 

निर्माण व्यवसायसम्बन्धी व्यावसायिक तालिम परिषद्बाट छ महिने तालिम लिएकी छिन्। रामपुर क्षेत्रमा मात्रै करिब ६० भन्दा बढी निर्माण व्यवसायी आबद्ध छन्। पूर्वी पाल्पामै यस क्षेत्रमा उनी एक्लो महिला व्यवसायीका रुपमा चिनिन्छिन्। महिलाको नेतृत्वमा आफू ज्यालादारीमा काम गर्ने अवसर पाउँदा धेरै सहज भएको बताउँछिन्, २९ वर्षीया सपना परियार। सुमनकै प्रेरणा र साथ पाएपछि घर बनाउने मिस्त्री काम सिकेकी सपनालाई यतिबेला यस क्षेत्रमा काममा भ्याइनभ्याई नै छ। 
  
'महिलाका समस्या बुझ्ने महिलाले नै हो रहेछ, कतिपय समस्या आइपरे पनि झट्ट पुरुषलाई भन्न अप्ठ्यारो लाग्ने, सुरक्षाका हिसाबले महिला निर्माण व्यवसायी भएपछि ढुक्कसँग काम गर्न पाइयो, आफ्नै सन्तानसरह व्यवहार पाएकी छु, त्यसैले एक दिन पनि घरमा आराम गरेर बस्नै मन लाग्दैन', उनले भनिन्।

कक्षा ७ सम्मको औपचारिक शिक्षा लिएकी सपनाका १० र १२ वर्षका दुई छोरा छन्। हाल दैनिक मजदूरीबाट छ सय ज्याला बुझ्छिन्। यसैबाट परिवारको जीविका र दुई छोराको पढाइ खर्च चलेको छ। सात वर्ष अगाडि भारतमा रोजगारी गर्न गएका उहाँका श्रीमानको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएपश्चात् उनी मजदूरीकै भरमा गुजारा चलाइरहेकी छिन्। उनले सिमेन्ट घोल्ने, घरको गारो लगाउने, प्लाष्टर गर्नेजस्ता घर भवन निर्माणका सबैजसो सीप सिकेकी छिन्।

निर्माण व्यवसायमा महिला भए पनि पुरुषसरह नै हिम्मत र साहस, व्यवसायमा सफल र सबैका लागि प्रेरणादायी, उदाहरणीय महिलाका रूपमा रहेको कपिलवस्तुको गोरुसिङ्गेका ६० वर्षीय टीकाराम थारू बताउँछन‍्। उनी पनि सुमनकै नेतृत्वमा अहिले भवन निर्माणमा संलग्न छन्। रासस 


प्रकाशित : शुक्रबार, कात्तिक ११ २०७९०६:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend