काठमाडौं- गुड कर्मा समूहले काठमाडौंको महाराजगञ्जमा लक्जरी अपार्टमेन्ट निर्माण गर्ने भएको छ।
होटलसँगै अपार्टमेन्ट निर्माण गर्ने योजना बनाएको यो समूहले ४ अर्ब ८० करोड लगानीमा लक्जसरी रेजिडेन्सी निर्माण गर्ने घोषणा गरेको हो।
अमेरिकी दूरताबास नजिकै रहेको जग्गामा यो समूहले अबको दुई वर्षभित्रै अपार्टमेन्ट निर्माण गरिसक्ने घोषणा गरेको छ।
रणनीतिक लोकेसनमा सुविधा सम्पन्न अपार्टमेन्टप्रति ग्राहकको चासो तथा रुची बढीरहेकाले परियोजना निर्माणलाई उत्प्रेरणा मिलेको कम्पनीले उल्लेख गरेको छ।
होटलसहितको परियोजनामा कुल ६ अर्ब खर्च गर्ने योजना बनाएको समूहले ६० प्रतिशत ऋण लिने छ। अपार्टमेन्टका लागि बुकिङ खुलाएको पहिलो महिनामै बुकिङबाट ४ करोड ७० लाख रकम संकलन भएको कम्पनीले जानकारी दिएको छ। यसमा कुल १२८ अपार्टमेन्ट हुनेछन्।
यो समूहले यही परियोजना अन्तर्गत ले मेरिडियन होटल पनि सञ्चालन गर्ने छ।