शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

निरस देखिएको सेयर बजार साताभर ओरालो, कारोबार रकम एक अर्बसम्म पनि पुगेन

बिहीबार , कात्तिक ३ २०७९
निरस देखिएको सेयर बजार साताभर ओरालो, कारोबार रकम एक अर्बसम्म पनि पुगेन

काठमाडौं- सेयर बजारमा यो साता कारोबार निरस देखिएको छ। गएको साता सामान्य वृद्धि देखिएको बजारमा यो साता कारोबार भएको चार दिन नै ओरालो देखियो। कुनै पनि दिन कारोबार रकम एक अर्ब रुपैयाँसम्म पनि पुग्न सकेन। 

यो साता आइतबार ९.६९ अंकले घटेको बजारमा सोमबार पनि झिनो गिरावट देखिएको थियो। सोमबार २.६१ अंकको गिरावटसँगै बजार १८५८.३३ बिन्दुमा झरेको थियो। मंगलबार बन्द रहेको बजारमा बुधबार पुन: १२.८१ अंकको गिरावट देखियो। 

सातामा कारोबारको अन्तिम दिन बिहीबार झिनो अंकको गिरावट देखिएको छ। बिहीबार १.३८ अंकले घटेर बजार १८४४.१४ बिन्दुमा झरेको छ। बिहीबार ५० करोड ७६ लाख रुपैयाँको मात्र कारोबार भएको छ। 

आइतबार ८० करोड ३५ लाख, सोमबार ५१ करोड ५८ लाख, बुधबार ६४ करोड ३६ लाख रुपैयाँको मात्र कारोबार भएको बजारमा लगानीकर्ताको खास उत्साह देखिँदैन।

चाडबाड र चुनावी माहोलले छोपिइरहँदा सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। बजारमा गएको साता समग्रमा १६.९१ अंकको सुधार देखिएको थियो। अहिलेको अवस्थाले वृद्धितर्फ संकेत गरेको छैन। बजार एकै बिन्दु वरपर घुमिरहने देखिएको छ।

सम्हालिने अपेक्षा देखिइरहेको सेयर बजार लगातार ओरालोमा लागिरहेको छ। चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षा विपरीत बजार निरन्तर उतारचढावपूर्ण यात्रामा रहेको देखिन्छ। प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। तर त्यसअनुरुप बजार देखिँदैन। 


प्रकाशित : बिहीबार , कात्तिक ३ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend