शुक्रबार, साउन ४ गते २०८१    
images
images
images

बाह्रसिङ्गा हेर्न शुक्लाफाँटा, यसरी सकिन्छ पुग्न

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १ २०७९
images
images
बाह्रसिङ्गा हेर्न शुक्लाफाँटा, यसरी सकिन्छ पुग्न
images

दोधारा चाँदनी-  सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो। बाह्रसिङ्गाका लागि प्रख्यात रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमिको दूरीमा छ।

images
images

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा रहेको शुक्लाफाँटामा विश्वको सबैभन्दा ठूलो घाँसे मैदान(फाँट)छ। घाँसे फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको बथान देख्न सकिन्छ। यहाँ घुम्न आउने पर्यटकलाई फाँटमा बाह्रसिङ्गाले स्वागत गर्छन्। बाह्रसिङ्गाको टाउकामा सिङका छ-छ वटा हाँगा हुन्छन्। आखै अगाडि देखिने बाह्रसिङ्गाको बथानले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छ। बाह्रसिङ्गाको बथान हेर्नकै लागि यहाँ पर्यटक पुग्ने गर्दछ।

images

स्थानीय पर्यटन व्यवसायी परमानन्द भण्डारीले शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडा र चराचुरुरङ्गीका लागि प्रख्यात ठाउँ भएको बताए। उनले यहाँको घाँसे मैदानमा देखिने विभिन्न जीवजन्तु पर्यटकको रोजाइँमा पर्ने गरेको बताए। 'पर्यटनका लागि शुक्लाफाँटा सम्भावनाको खानी नै हो यसको प्रचारप्रसार हुनसकेको छैन', उनले भने, 'बिभिन्न प्रजातिका लोपोन्मुख चरा र बाघ र गैँडा पनि यहाँ देख्न सकिन्छ।'

images

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष जङ्गबहादुर मल्लले बाह्रसिङ्गाको बथान हेर्नकै लागि पर्यटक शुक्लाफाँटा पुग्ने गरेको बताउनु हुन्छ। 'शुक्लाफाँटाको घाँसे मैदानमा देखिने बाह्रसिङ्गाको बथानले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छ', उनले भने,'यसको प्रचारप्रसार हुनसके यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुन्छ।' शुक्लफाँटाको सुन्दरताबारे राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरे मात्रै यहाँको पर्यटन व्यवसाय फस्टाउने उनले भनाइ छ। यहाँको भीमदत्त नगरपालिकाले बाह्रसिङ्गाको प्रचारप्रसार गर्न बाह्रसिङगको नगर भनेर घोषणा समेत गरेको छ।

barhasingha.jpg
 
बाह्रसिङ्गाको बथान देखिने फाँटमा राजा महेन्द्रले २०२४ सालमा सिकार खेलेको थिए भने एक रात बास समेत बसेका थिए। शुक्लाफाँटामा रहेको घाँसे मैदान विश्वको सबै भन्दा ठूलो मैदान रहेको मानिन्छ। घाँसे मैदानमा बाह्रसिङ्गाको बथान चरिरहेका हुन्छन्, घाँसे मैदानमा मयुर नाचेको दृष्यले त पर्यटकको मनै लोभ्याउने गरेको छ। शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बर्काैला र घाासे फाँटमा पाटेबाघ देखिने महत्वपुर्ण ठाउँ हुन्। होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदीशप्रसाद भट्टले यहाँ पर्यटनको ठूलो सम्भावना रहे पनि प्रचारप्रसारको अभावले पर्यटक यहाँ आउन नसकेको बताए। 

'समृद्धिको प्रमुख आधार भनेकै पर्यटन हो यसको प्रचारप्रसारमा सबैले लाग्नुपर्छ',उनले भने, 'शुक्लाफाँटामा रहेका तालतलैया र यहाँ देखिने जीवजन्तुले यहाँ आउने पर्यटकको मनै लोभ्याउने गरेको छ। शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि असासम्म हो। वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीविरङ्गी फुलले आगन्तुकलाई स्वर्गको आभास दिलाउँछ।

निकुञ्जभित्र ठुलो घाँसे मैदान संगै ठाउ-ठाउमा अन्य थुप्रै साना-ठूला धेरै फाँटामा विभिन्न प्रजातीका चराचुरुङ्गी देख्न पाइन्छ। निकुञ्जको पूर्वी सेक्टरमा रहेको हीरापुर फाँटमा कृष्णसार संरक्षण गरिएको छ। 

फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन्। पर्यटकका लागि मचानबाट शुक्लाफाँटाको दृश्यावलोकन गराउने व्यवस्था गरिएको छ। शुक्लाफाँटाभित्र रहेको रानी ताल र अन्य स-साना तालमा प्रशस्त रुपमा गोही र चराचुरङ्गी देख्न पाइन्छ। 

barhasingha.jpg

निकुञ्जको महाकाली नदी छेउ पिपरियामा हात्तीसार बाट हात्ती चढ्ने व्यवस्था छ। आगन्तुकको समय अनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ। पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन्। राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार २०७५ सालमा दुई सय ६६ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । बि.स. २०७८ मा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ।  एक हजार ६ सय ५१ जना विदेशीले निकुञ्जको भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन्। 

त्यसैगरी २६ हजार तीन सय ८२ जना नेपालीले शुक्लाफाँट भ्रमण गरेका छन्। शुक्लाफाँट राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताए। 'पर्यटकको सहजताका लागि निकुञ्ज कार्यालयले बाटो मर्मत मचान निमार्ण र सरसफाइ जस्ता कार्यक्रम गरिरहेको छ', उनले भने, 'यहाँको फाँटमा देखिने बाह्रसिङ्गाको बथाननै पर्यटकको मुख्य आकर्षण हो।'

उनले शुक्लाफाँटाको प्रचारप्रसारका लागि विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर काम गरिरहेको बताए। शुक्लाफाँटा छेउमै रहेको रानाथारु समुदायले पनि सुविधा सम्पन्न होमस्टे सञ्चालनमा ल्याएका छन्। होमस्टेमा आउने आगन्तुकका लागि परम्परागत पहिरनमा राना थारु नृत्य र खानाका परिकारले स्वागत गर्ने गरेका छन्।  योबाहेक महेन्द्रनगर सदरमुकाममा एक दर्जन बढी सुविधा सम्पन्न होटेल सञ्चालनमा छन्।

विसं २०१३ को गणना अनुसार वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन्।  यस्तै २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातीका पुतली, ८०-९० वटा निलगाई र चार सय २४ प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भूडिफोर जस्ता पछी पनि छन्। स्तनधारी वन्यजन्तुमा ५३ भन्दा बढी प्रजाती रहेका छन्। जसमा पाटेबाघ, एकसिङ्घे गँैडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल छन्। जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तल, जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन्। रानी ताल तथा अन्य स-साना तालमा मगर गोही प्रशस्त पाइन्छन्। रैथाने र बसाइँ सरी आउने गरी चार सय २४ भन्दा बढी चराचुरुङ्गी पाइन्छन्।

barhasingha.jpg

कसरी पुग्ने शुक्लाफाँटा?

काठमाडौँदेखि महेन्द्रनगर छ सय ९७ किमिको दुरीमा रहेको शुक्लाफाँटा सडक यातायातबाट करिब १६ घण्टाको यात्रपछि महेन्द्रनगर सदरमुकाम पुगिन्छ। महेन्द्रनगर सदरमुकामबाट सात किमिको दूरीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेको छ। काठमाडौँबाट धनगढीका लागि करिब एक घण्टाको हवाइ यात्रामा धनगढी विमानस्थल पुगेर शुक्लाफाँटा पुग्न सकिन्छ। 
 
त्यसैगरी विदेशी पर्यटकका लागि पश्चिमी सिमानाका गड्डाचौकीबाटसमेत सहज रुपमा महेन्द्रनगर पुग्न सकिन्छ। पश्चिमी सिमानाका गड्डाचौकीबाट आठ किलोमिटर यात्रा गरेपनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगिन्छ। 

शुक्लाफाँटा निकुञ्ज भ्रमणको लागि सार्कमुलुकका नागरिकका लागि सात सय प्रवेश शुल्क लिने गरिएको छ भने विदेशीका लागि एक हजार ५ पाँच सय र नेपालीका लागि एक सय प्रवेश शुल्क राखिएको छ। २०७३ साल फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको हो। रासस


प्रकाशित : मंगलबार, कात्तिक १ २०७९१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend