शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

ब्याजदर र आयात प्रतिबन्धको प्रभावले डेढ खर्ब कर्जा प्रवाह गर्न सक्ने अवस्थामा बैंकहरू

मंगलबार, कात्तिक १ २०७९
ब्याजदर र आयात प्रतिबन्धको प्रभावले डेढ खर्ब कर्जा प्रवाह गर्न सक्ने अवस्थामा बैंकहरू

काठमाडौं- आयात प्रतिबन्ध र ब्याजदर वृद्धिले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम आउनेक्रम बढेको छ। बैंकमा पैसा अभाव भोग्दै आएको वित्तीय प्रणालीमा साउनदेखि नै सकारात्मक संकेत देखिन थालेको थियो।

असोज महिनामा बैंकिङ प्रणालीमा ३३ अर्ब ६४ करोड रुपैयाँ निक्षेप आएसँगै सुधारको संकेत देखिएको हो। गतवर्षको असारको तुलनामा बैंकमा सुधार देखिएको हो। साउन र भदौमा पनि सुधार देखिएकोमा असोजमा झनै राम्रो देखिएको हो। साउन र भदौको तुलनामा निक्षेपमा वृद्धि भएकाले बैंकहरू लगानी गर्न सक्ने सहज स्थितिमा पुग्ने संकेत मिलेको छ। असोजमा बैंकहरूले ब्याजदर बढाउँदाको प्रभावसमेत निक्षेपमा देखिएको हो। 

राष्ट्र बैंकले ताकेता गर्दै आएको कर्जा निक्षेपको अनुपात  (सीडी) रेसियोमा व्यापक सुधार असोजमा देखिएको छ। राष्ट्र बैंकले ९० प्रतिशतको सीमा तोकेपनि असोजमा सीडी रेसियो ८६.९८ प्रतिशतमा झरेको छ। जबकि यो अनुपात साउनमा ८८.०७ प्रतिशत रहेको थियो। यो सीडी रेसियोको सुधारले बैंकहरू डेढ खर्बभन्दा बढी कर्जा दिने अवस्थामा पुगेका छन्। गत असारमा तरलता अपुग २ खर्ब ५० अर्ब रहेकोमा तीन महिनामा सुधार हुँदै तरलता अपुग रकम १ खर्ब ७१ अर्बमा झरेको छ। 

नेपाल बैंकर्स संघका अनुसार ३१ भदौदेखि २८ असोजसम्म ३३ अर्ब ६४ करोड रुपैयाँ निक्षेप थपिएको छ। त्यस्तै, कर्जा प्रवाह दुई अर्ब ९६ करोड रुपैयाँ भएको छ। 

बैंकहरूले नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) ८३ अर्बमा सीमित भएको छ। असारमा त बैंकहरूले एसएलएफ र रिपो गरेर दुई खर्ब ४७ अर्ब रुपैयाँसम्म पुगेको थियो। सरकारले आयात नियन्त्रण जारी राख्नु र ब्याजदर वृद्धिले पैसा बैंकमा आएको हो। 

तिहार सुरु हुनै लाग्दा वाणिज्य बैंकहरूको निक्षेप बढेको छ। असोज अन्तिम साता वाणिज्य बैंकहरूमा ८ अर्ब १८ करोड निक्षेप बढेको छ।

संघका अनुसार असोज २१ गतेदेखि असोज २८ गतेसम्मको अवधिमा बैंकहरूको निक्षेप ४५ खर्ब ११ अर्बबाट ८ अर्बले बढेर ४५ खर्ब १९ अर्ब पुगेको छ। त्यस्तै कर्जा लगानी स्थिर रहँदै ४१ खर्ब ९३ अर्ब कायम रहेको छ। गत साता ६२ करोड रुपैयाँ ऋण प्रवाह भएको छ।

दसैँको समयमा बैंकिङ प्रणालीबाट बाहिरिएको रकम दसैँ सकिएपछि पुन: बैंकिङ प्रणालीमै फर्कन थालेसँगै निक्षेप बढ्न थालेको हो।


प्रकाशित : मंगलबार, कात्तिक १ २०७९०४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend