बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
यो र अर्को वर्ष विश्वका एक तिहाइ अर्थतन्त्र माइनसमा जानेछन् : आईएमएफ

अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण : नेपालको आर्थिक वृद्धि ४ दशमलव २ प्रतिशत मात्रै

बुधबार, असोज २६ २०७९
अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण : नेपालको आर्थिक वृद्धि ४ दशमलव २ प्रतिशत मात्रै

यो वर्ष विश्वको आर्थिक वृद्धि ३ दशमलव २ प्रतिशत हुने प्रक्षेपण आइएमएफको छ। त्यस्तै आगामी वर्ष २०२३ मा यसभन्दा पनि कम २ दशमलव ७ प्रतिशत आर्थिक वृद्धि प्रक्षेपण उसको छ।

काठमाडौं- अन्तर्राष्ट्रय मुद्राकोष (आईएमएफ) ले चालू आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर (आर्थिक वृद्धि) ४ दशमलव २ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ। आईएमएफको वार्षिक सम्मेलनका अवसरमा मंगलवार वासिङ्टन डिसीमा सार्वजनिक प्रतिवेदन 'वर्ल्ड इकोनोमिक आउटलुक २०२२' ले आर्थिक वृद्धिसम्बन्धी यस्तो प्रक्षेपण गरेको हो। यसअघि हालै विश्वबैंकले मुलुकको आर्थिक वृद्धि ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको थियो।

नेपाल सरकारले बजेटमार्फत आर्थिक वृद्धि ८ प्रतिशत गर्ने लक्ष्य राखेको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशत हुने अनुमान पनि आईएमएफले गरेको छ।  त्यसपछिका पाँच वर्ष पनि मुलुकको आर्थिक वृद्धिको स्तर यही स्तरमा रहने प्रक्षेपण पनि आईएमएफको छ।

त्यस्तै चालू आर्थिक वर्षमा नेपालमा मूल्यवृद्धि ६ दशमलव ३ प्रतिशत हुने प्रक्षेपण पनि आईएमएफको छ। आगामी वर्ष भने मूल्यवृद्धि ७ दशमलव ७ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

आउने वर्ष आर्थिक मन्दीजस्तै अनुभव हुनेछ

यो वर्ष विश्वको आर्थिक वृद्धि ३ दशमलव २ प्रतिशत हुने प्रक्षेपण आईएमएफको छ। त्यस्तै आगामी वर्ष २०२३ मा यसभन्दा पनि कम २ दशमलव ७ प्रतिशत आर्थिक वृद्धि प्रक्षेपण उसको छ।

सन् २०२३ मा विश्वअर्थतन्त्रहरु स्लोडाउनमा जाने पनि आईएमएफले जनाएको छ। विश्वका अर्थतन्त्रको एक तिहाइ हिस्सा ओगट्ने मुलुकहरु यो वर्ष वा अर्को वर्ष आर्थिक संकुचन (माइनस आर्थिक वृद्धि) मा जाने पनि आईएमएफले जनाएको छ।

२०२३ मा धेरै मानिसहरुले आर्थिक मन्दी भएको अनुभव गर्ने पनि आईएमएफले जनाएको छ। 'विश्वका तीन ठूला अर्थतन्त्रहरु अमेरिका, चीन तथा युरोपेली क्षेत्र स्थिर हुनेछन्,' आईएमएफका अनुसन्धान विभागका नर्देशक पिएरे ओलिभिएर जौरिन्साले भने, 'अमेरिकामा २०२३ मा जम्मा १ प्रतिशत मात्रै आर्थिक वृद्धि हुनेछ, चीनमा पनि हामीले वृद्धिको लक्ष्य घटाएर ४ दशमलव ४ प्रतिशतमा झारेका छौँ, उर्जासंकटका कारण युरोपको आर्थिक वृद्धि ० दशमलव ५ प्रतिशतमात्रै हुनेछ।'

विश्वको अर्थतन्त्रले तीन कारणले चुनौतीहरु सामना गरिरहेको उनले बताए। 'पहिलो युक्रेनमा रसियाको हमला हो। त्यस्तै दोस्रो दैनन्दिन जीवनयापनको मूल्य बढ्नु हो र तेस्रो चीनको मन्दी हो,' उनले भने । अहिले खाना तथा उर्जाको मूल्यवृद्धिले खासगरी जोखिममा परेका परिवारहरु गम्भीर संकटमा परेको पनि आईएमएफले जनाएको छ। एकातिर स्लोडाउन छ अर्कातिर मूल्यवृद्धिको अपेक्षा गरेभन्दा धेरै छ । २०२२ को तेस्रो त्रैमासमा विश्वको मूल्यवृद्धि ९ दशमलव ५ प्रतिशत पुग्ने अनुमान पनि आईएमएफको छ ।


प्रकाशित : बुधबार, असोज २६ २०७९०२:५७
  • सम्बन्धित विषय:

  • # imf
  • # economic growth
  • # nepal


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend