शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

न चाडबाड न त चुनाव, ओरालो लागेको सेयर बजारमा देखिएन कुनै प्रभाव

कारोबार रकम ५५ करोडमा खुम्चियो

मंगलबार, असोज २५ २०७९
न चाडबाड न त चुनाव, ओरालो लागेको सेयर बजारमा देखिएन कुनै प्रभाव

काठमाडौं- चाडबाडको समयमा सेयर बजारमा सुधार हुने अपेक्षा विपरीत बजार निरन्तर ओरालोमा देखिन थालेको छ। यसअघि चुनावी माहोलले पनि सेयर बजारमा प्रभाव पार्ने गरेको भए पनि अहिलेको बजारमा कुनै प्रभाव देखिएको छैन। 

दसैँअघिको केही दिन र बिदापछि आइतबारको पहिलो कारोबारमा वृद्धि देखिएको सेयर बजार पुन: ओरालो गतिमा देखिएको हो। उतारचढावपूर्ण यात्राकै निरन्तरता देखिँदा बजारमा सुधारको स्थायी आधार स्पष्ट हुन सकेको छैन।

मंगलबार १६.०६ अंकले घटेर बजार १८५५.१६ बिन्दुमा झरेको छ। जहाँ ५५ करोड २८ लाख ९ हजार रुपैयाँको मात्र कारोबार भएको छ। 

यो साता आइतबारको पहिलो कारोबारमा बजार ४४.६२ अंकले बढेर १८९८.३८ बिन्दुमा पुगेको थियो। सोमबार २७.१६ अंकले घटेर बजार १८७१.२२ बिन्दुमा झरेको थियो।

अहिलेको अवस्‍थामा चुनावी माहोल र चाडबाडको समयमा सकारात्मक हुने अनुमान भइरहँदा त्यसअनुरुप बजार बढ्न सकेको छैन। बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको समयमा पनि पुँजी बजार भने उतारचढावपूर्ण अवस्थाबाट ओरालोतिरै छ। 

प्रतिनिधिसभाको चुनाव पनि नजिकिँदै गर्दा लुकेर रहेको रकम पनि पुनः बैंकमा बढ्ने अनुमानले आगामी दिन बजार सकारात्मक हुनसक्ने आधारहरू तय भएको विश्लेषण भइरहेका छन्। तर यसअघि पनि चुनावकै कारण सेयर बजार बढ्ने गरेको भने देखिएको छैन। बजारका अन्य तत्वहरू नै प्रमुख रहेका छन्। 


प्रकाशित : मंगलबार, असोज २५ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend